जेठ ६ गते २०७७

ताजा समाचार

जेठ ६ गते २०७७

सरकार अभिभावक बनोस्, विदेशमा कोही रुँदै नमरोस्



२०७६ जेठ ६ गते, आज लकडाउनको ५६ औं दिन । नेपालीहरु घर, डेराभित्र थन्किएको पनि यतिका दिन बित्यो । लकडाउनको सुरुमा सङ्क्रमण बढेको थिएन । अहिले आएर कोरोनाका कारण नेपालमै मान्छे मर्न थालिसके । तीन सयभन्दा बढी सङ्क्रमित भइसके ।

विस्तारै हाम्रो देशमा कोरोना महामारीका रूपमा फैलने सङ्केतहरू देखिएका छन् । अब केही महिना हामी सबैका लागि निकै चुनौतीको समय हुनेछ । हामी र हाम्रो सरकार कहाँनेर चुक्यौं ? कसरी यो अवस्था आयो ? अब हामीले कति क्षति बेहोर्नुपर्छ ? यी कुराका बारेमा छलफल गरी बलियो रणनीति तयार गर्नुपर्ने बेला आएको छ ।

विश्वका शक्तिशाली देशहरूमा कोरोना फैलिँदै गर्दा हाम्रो देश निकै सुरक्षित थियो । मित्र राष्ट्र भारत पनि सुरक्षित थियो । चीनको वुहानमा सङ्क्रमण बढिरहेको बेला डोनाल्ड ट्रम्प खुसीले ताली पिट्दै थिए । उनको अनुहारमा अनौठो खुसी देखिएको थियो । आजसम्म आइपुग्दा त्यो खुसी चरम छटपटी र चिन्तामा परिणत भएको स्पष्ट देख्न सकिन्छ । अचेल हतोत्साहित र आक्रोशयुक्त ट्वीट देख्न पाइन्छ उनका । आज कोरोनाबाट सबैभन्दा बढी पीडित अमेरिका नै छ ।

विस्तारै महामारी भारतमा बढ्दै छ । भारतमा सङ्क्रमित झण्डै १ लाख पुग्न लागे भने मर्नेहरू ३ हजार कटिसकेको तथ्याङ्कले देखाउँछ । भारतमा बढिरहेको महामारीले हामीलाई प्रत्यक्ष असर परेको छ । धेरैको रोजीरोटी खोसिएको छ । उद्योग, व्यवसाय धरासायी भएका छन् । पठनपाठन अवरुद्ध छ । प्रायः मान्छेको दिनचर्या सामाजिक सञ्जालमा भुलेर बितेको छ । सरकारी र निजामती कर्मचारी ढुक्क छन् । उनीहरूको तलब पाकिरहेको छ ।

हामी र हाम्रो सरकार कहाँनेर चुक्यौं ? कसरी यो अवस्था आयो ? अब हामीले कति क्षति बेहोर्नुपर्छ ? यी कुराका बारेमा छलफल गरी बलियो रणनीति तयार गर्नुपर्ने बेला आएको छ ।

असङ्गठित र सङ्गठित मजदुरको पीडा बेग्लै छ । उनीहरूको रोजगार धरापमा छ । जिन्दगीको टुङ्गो छैन । अलिअलि भएको बचत पनि सकिएको छ । यसरी नै लकडाउन थपिँदै गयो भने स्थिति झन् विकराल बन्ने निश्चित छ । देश संघीय व्यवस्थामा प्रवेश गरेको पनि केही वर्ष बितिसक्यो । तीन तहका सरकार छन् हामीकहाँ । तीनै तहका सरकारहरू यति बेला निकम्मा भएका छन् । धन्न नेपाली जनताहरू सचेत छन् र अझैसम्म महामारी फैलिएको छैन । यस अर्थमा नेपाली जनताहरू धन्यवादका पात्र बनेका छन् ।

रुखोसुखो खाएर घरमै बसेका छन् । हुनेहरूले नहुनेहरूलाई सहयोग गरेका छन् । सरकारले ठूलै रकमको राहत वितरण गरेको घोषणा ग¥यो । त्यो वितरण राहतले भन्दा समुदायको सद्भावले कोही भोको हुनु परेको छैन । नेपाली ऐँचोपैँचो, सरसापट, बाँडीचुँडी गरेर नै चलेका छन् । विश्वको जुनसुकै कुनामा बसे पनि नेपाली मन सधैँ सहयोगी छ । आज आफ्नै देशमा समस्या पर्दा हाम्रै सहयोगी भावनाले करिब दुई महिना लामो लकडाउन पार गर्दै छौँ ।

भारतमा लकडाउन भएपछि थुप्रै श्रमिकको रोजीरोटी खोसियो । खाडी मुलुक पनि जान नसक्ने अति विपन्न नेपाली मजदुर भारतमा छन् । ती मजदुर सङ्कटमा परेका छन् । तिनीहरूको संरक्षणमा नेपाल सरकारले कुनै चासो देखाएन । तिनीहरूलाई आफ्नै देश आउनसमेत रोक लगाइयो । उल्टो प्रधानमन्त्रीको ठाडो आदेशमा आउन दिइएन । सामाजिक सञ्जालमा समेत उनीहरूको हुर्मत लिइयो । सरकारले नाकामा झन् कडाइ ग¥यो । उनीहरू जसरी पनि घर फर्कन चाहन्थे ।

सङ्कटमा परेका र नेपाल फर्कन चाहने नेपालीलाई स्वदेश ल्याउनुपर्छ । तेस्रो मुलुकमा भएका नेपालीको वास्तविकता अध्ययन गरेर उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया सुरु गर्नुपर्छ ।

घर फर्कनकै लागि उनीहरूले चोरबाटो प्रयोग गरे । कोही महाकाली पौडिएर समेत आए । थुप्रै दिन पैदल हिँडेर उनीहरू आफ्नो देश आए । आफ्नै गाउँसमेत लुकीलुकी आउनुप¥यो । राज्यले लुक्न बाध्य बनायो । अव्यवस्थित तरिकाले देश भित्रिँदा आज देशमा सङ्क्रमण भयावह बन्ने अवस्था आयो । परिस्थिति थप खराब बन्दै गएको छ । सरकार लकडाउनमात्रै गरेर उम्किने कोसिस गर्दै छ ।

अब लकडाउन मात्रै समस्याको समाधान होइन । सम्पूर्ण हवाई मार्ग बन्द छन् । हवाई मार्गहरू बन्द भएको अवस्थामा हामीलाई डर भनेकै भारतबाट सङ्क्रमित नेपाल छिर्ने क्रम बढ्नु हो । भएको पनि यही छ । भारतबाट फर्किएका नेपाली नागरिकलाई तीनै तहका सरकार मिलेर सुरक्षित र सुविधासम्पन्न क्वारेन्टाइनमा लगेर राख्नुपर्छ । राज्यले आफ्नो ध्यान नै सिमानामा दिनुपर्छ । वैधानिक नाका, बाटाहरू सिल गर्दैमा महामारी रोकिँदैन किनकि नेपाल–भारत सिमाना खुला छ ।

यसले झन् उग्र रूप लिन्छ । नियन्त्रणभन्दा धेरै टाढा जान्छ । सरकारले फेरि १५ दिन लकडाउन थपेको छ । यो अवधिमा सरकारले गर्नुपर्ने थुप्रै काम छन् । सङ्कटमा परेका र नेपाल फर्कन चाहने नेपालीलाई स्वदेश ल्याउनुपर्छ । तेस्रो मुलुकमा भएका नेपालीको वास्तविकता अध्ययन गरेर उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया सुरु गर्नुपर्छ । त्यस सँगसँगै सुविधासम्पन्न र सुरक्षित क्वारेन्टाइनको व्यवस्था गरिहाल्नुपर्छ । परीक्षणको गति तीव्र बनाउनुपर्छ । सरकारले चालु आवमा खर्च हुन नसकेको विकास बजेटलाई कृषि लगायतका उत्पादनमा खर्च गर्ने गरी विशेष प्याकेज ल्याएर भोकमरीतिरको यात्राबाट देशलाई रोक्नुपर्छ ।

देश सबै नेपाली मिलेर बनाउने हो । यसका लागि सरकार असल र जिम्मेवार अभिभावक बन्न सक्नुपर्छ ।