चीनको बुहान क्षेत्रबाट सुरुवात भएको यो भाइरस आजका दिनसम्म बिश्वका २ सय १५ वटा देशमा देखापरेको छ । कुनै जातजाति, पेशा, धर्म, धनी, गरिब, ठूलो, सानो कोहीलाई पनि काखापाखा नगर्ने यो भाइरसबाट बच्ने उपाय मानिस भिडभाडबाट टाढा रहनु नै हो । नेपालले सम्भावित संक्रमणको जोखिमबाट जोगिन चीन र भारतका सबै नाका बन्द गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक उडान र सवारी साधनसमेत ठप्प छन् ।
यसरी देश ठप्प पारेरमात्र यो भाइरसबाट विजय प्राप्त गर्न सकिँदैन । ठूलो संख्यामा जाँच गर्नु, संक्रमित मानिसलाई तुरुन्तै आइसोलेसनमा राख्नु र मानिसलाई भिडभाडमा जान नदिनु नै कोरोना नियन्त्रणको उपाय हो । व्यापक संक्रमणलाई रोक्ने हो भने त्यसका लागि सामाजिक दुरी राख्नु नै उत्तम तरिका हो ।
कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई तहसनहस बनाइदिएको छ । उद्योग, कलकारखाना, पर्यटन, उद्यम, रोजगारी, व्यपार, व्यवसाय, कृषि, हवाई यातायात, होटल, रेस्टुरेन्ट, आदि क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ ।
लाखौं मानिस रोजगार विहीन भएका छन् । विकासे आयोजनाहरु सरकारले सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने भनेको छ । प्राविधिक कर्मचारीविना विकास, निर्माणका काम प्रभावकारी र दिगो हुन सक्तैनन्। ्रविभिन्न जिल्लाबाट एक्लै आउने सर्वसाधारणलाई प्रादेश, जिल्ला र पालिकाहरुले परीक्षण गर्ने तर दैनिक सयौसँग प्रत्यक्ष सम्पर्कमा हुने निर्माण क्षेत्रका ठेकेदार, मजदुर, उपभोक्ता समितिको सम्पर्कमा आउने प्राबिधिक कर्मचारीलाई बन्दाबन्दिको समयमा घर बाहिर निस्की फिल्ड निरीक्षणमा जानका लागि सम्बन्धित कार्यालयले जारी गरेका पास र कर्मचारी परिचयपत्रको आधारमा मात्र बिना सुरक्षा र परीक्षण बिना हिड्न विवश छन् ।
अब हामीले सबै गतिबिधि शून्य बनाउनुपर्छ । हाम्रा राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकाहरुको सीमा पूर्णरुपमा सिल गर्नुपर्छ । हप्ता, दश दिन भए पनि देशब्यापी कर्फ्यु आदेश जरुरी छ ।
निर्माण कार्य भइरहेको फिल्डमा प्राविधिक कर्मचारी नजाँदा गुणस्तरमा ह्रास आउने, काम बिग्रिने डर हुन्छ । काम बिग्रेपछि जवाफदेहिता र अहिले रोग सर्ने डरले फिल्डमा जाउँ कि नजाउँ दुबिधामा छन् कर्मचारी । सम्बन्धित कार्यालयले बेलैमा बुद्धिमता पूर्ण निर्णय नगर्ने हो भने भोलि निर्माण कार्य सञ्चालन गर्न दिइएको पास र परिचय पत्र कोरना ओसारपसारको लाइसेन्स नहोला भन्न सकिन्न ।
३ महिना अगाडि हामीले नेपाललाई कोरोरा मुक्त क्षेत्र भन्दै गर्दा खुला सीमालाई कडाइ गर्न सकेनौं । सीमा सुरक्षाको जिम्मा पाएका शसस्त्र प्रहरी नेताको अगुवा र पछुवा र देशको राष्ट्रिय सेना विकास निर्माण कार्यमा ठेकेदारी र शान्ति मिसनमा मात्र सिमित हुनाले हाम्रो खुल्ला सिमा सधै खतरा र असुरक्षाको कडी बनेको छ । कोरोना संक्रमितको संख्या दिन दुई गुणा, रात चौ गुणा वृद्धि भएको छ । अहिलेकै अवस्थामा लकडाउनलाई खुकुलो बनाउने हो भने वा यस्तै अवस्थामा छोडिदिने हो भने कोरोनाले अझै विकराल रुप लिन सक्छ । अब हामीले सबै गतिबिधि शून्य बनाउनुपर्छ । हाम्रा राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकाहरुको सीमा पूर्णरुपमा सिल गर्नुपर्छ । हप्ता, दश दिन भए पनि देशब्यापी कर्फ्यु आदेश जरुरी छ ।
अहिलेको मुख्य उद्देश्य भनेको आफू बाच्नु हो । जिउ ज्यान रहे न मानवीय गतिबिधि सञ्चालन गर्न सकिन्छ । हामीलाई भोकसँग जुध्न त्यति गाह्रो नहोला जति विकसित देशहरुले समेत हार मानेको कोरोनासँग जुध्न गाह्रो हुने निश्चित प्रायः छ । हामीले कर्फ्यु लगाएर गतिबिधि शून्य गराउदा देशको आर्थिक, सामाजिक, भौगोलिक, परिवर्तनमा प्रत्यक्ष असर पार्ने विकास, निर्माणका आयोजना पनि ठप्प हुने छन ।
निर्माण व्यवसायी र प्राबिधिकमा चेतना स्तर हुँदाहुँदै पनि कोरोना भाइरस विरुद्ध लड्न सुरक्षाका न्यूनतम स्रोत, साधन र सहजता नहुँदा विकास निर्माण कार्य अगाडि बढाउदा झन् ठुलो जोखिम निम्तने अवस्था छ ।
एकातर्फ संविधान निर्माणपछि राजनीतिक संक्रमणको अन्त भएर मुलुक आर्थिक क्रान्तिको दिशातर्फ उन्मुख हुँदै गर्दा जसरी पनि विकास, निर्माणका आयोजनालाई सञ्चालन गर्नुपर्ने अवस्था छ भने अर्कातर्फ निर्माण कार्य सञ्चालन गर्न खटिने मजदुरमा भएको चेतना स्तरको कमी र आयोजनामा प्रत्यक्ष जोडिने निर्माण व्यवसायी र प्राबिधिकमा चेतना स्तर हुँदाहुँदै पनि कोरोना भाइरस विरुद्ध लड्न सुरक्षाका न्यूनतम स्रोत, साधन र सहजता नहुँदा विकास निर्माण कार्य अगाडि बढाउदा झन् ठुलो जोखिम निम्तने अवस्था छ ।
यसर्थ सम्बन्धित निकायबाट सचेतना र सुरक्षाका न्यूनतम स्रोत, साधनको पूर्ण रुपमा सहजता हुन असहज हुने यो संक्रमणकालीन अवस्थामा विकास, निर्माणका कार्यलाई पनि केहि समय थाती राख्दै घरमै बसौं । कोरोनाबाट आफूसँगै अरुलाई पनि बचाऔं ।
तिमिल्सिना पोखरा महानगरपालिकामा कार्यरत छन् ।









