सुस्ता अतिक्रमणको पोखरामा विरोध

सुस्तामा भारतीय सशस्त्र सीमा बल -एसएसबी) प्रवेशको विरोधमा कास्कीमा प्रदर्शन भएको छ । नेकपा -माओवादी) कास्की, राष्ट्रिय जनमोर्चा कास्की र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीले संयुक्त रुपमा आइतबार महेन्द्रपुलमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीहरुले भारतीय विस्तारवाद मुर्दावाद, प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौँ, देशद्रोही बालेन सरकार मुर्दावाद, कठपुतली सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा नेकपा -माओवादी)का कास्की सेक्रेटरी उमेश सीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाविना देशको समृद्धि सम्भव नहुने बताए । उनले भने, æप्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति आउनु र सुस्तामा भारतीय हस्तक्षेप हुनु संयोगमात्र होइन, यो राष्ट्रघाती हस्तक्षेपको शृंखला हो ।Æ सुस्ताका जनताले एसएसबीलाई लखेटेर उदाहरणीय काम गरेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कास्की अध्यक्ष रविमोहन ढकालले सर्वाेच्च संसदमा उभिएर गलत र देशविरोधी कुरा बोल्ने प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने दाबी गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कास्की सचिव विक्रम थापाले राष्ट्रवादीहरुको एकीकृत प्रयासले मात्र नेपालको विकास र समृद्धि सम्भव हुने विचार राखे ।