राष्ट्रिय जनमोर्चाले पार्टीकी सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन सत्तारुढ नेकपाले गरेको प्रस्ताव अस्वीकार गरेको खुलेको छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पौडेललाई उपसभामुख बनाउन नेकपाले गरेको प्रस्ताव अस्वीकार गरेको जनाएका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले नेकपालाई धन्यवाद दिँदै पार्टीकी एकमात्र सांसदलाई उपसभामुख बनाउँदा संसदमा पार्टीको भूमिका नरहने भएकाले प्रस्ताव अस्वीकार गरिएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उपसभामुखको पद स्वीकार गर्न नीतिगत रूपमा हामीलाई कुनै अप्ठेरो पर्ने कुरा थिएन। तर संसदमा हाम्रो पार्टीकोतर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौँ ।’
अहिले उपसभामुख पद खाली छ । सभामुख र उपसभामुख पद फरक फरक दलको हुनुपर्ने प्रावधान अनुसार उपसभामुख नेकपाबाट बन्न सक्ने अवस्था नभएपछि नेकपाले चुनावी मोर्चा बनाएको जनमोर्चालाई प्रस्ताव गरेको हो ।
अध्यक्ष केसीले नेपालको सबै भूमि समेटिएको नक्सा जारी गर्न र वार्ताबाट समस्या समाधान गर्न पनि माग गरेका छन् ।






