विकास, निर्माण पछि गरौंला, अहिले बाच्न र बचाउन लागौं

चीनको बुहान प्रान्तबाट सुरुवात भएको कोरोना भाइरस आजका दिनसम्म विश्वका सबैजसो देशमा देखा परिसकेको छ। कुनै धर्म, लिङ्ग, वर्ण, पेसा, जातजाति, धनी, गरिब, ठूलो, सानो कोहिलाई पनि काखा पाखा नगर्ने यो भाइरसले मानिसको भीडलाई नरुचाउने कुरामा कुनै मत रहेन। त्यसैले सिङ्गो बिश्व समुदाय नै अत्यन्त कारुणिक चित्कारका साथ एकान्त बासको हार्दिक अपिल गरिरहेको छ।

हालसम्म विश्वमा यसबाट साढे ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये करिब १७ लाखलाई कोरोना निको भइसकेको छ । करिब ३ लाखले यसबाट ज्यान गुमाउन परेको कुरा हामीसामु छर्लङ्ग छ। नेपालमा पनि बिहीबार साँझसम्म २ सय ४६ जना संक्रमणको सिकार भएका छन् । ३५ जनालाई निको भएको छ । भगवान भरोसाले होस् या सरकारको बन्दाबन्दीले होस्, हालसम्म यसले गर्दा कुनै नेपालीले नेपालमा ज्यान गुमाउन परेको छैन । विशेषत २०७६ चैतको पहिलो साता आसपासमा भारत लगायत अन्य कैयौं मुलुकबाट स्वदेश आएकाहरुबाट संक्रमण फैलियता पनि बन्दाबन्दी र अन्तर्राष्ट्रिय उडान ठप्प भएका कारणले हाल भारतबाहेक अन्य मुलुकबाट नेपाली स्वदेश फिर्ता हुन सकिरहेका छैनन् ।

यद्यपि भारतसँगको खुला सिमानाका कारण तथा बन्दाबन्दीमा पनि लुकिछिपी भए पनि आफ्नै घर आउन चाहने मानवीय स्वभावका कारण पछिल्ला दिनमा एकै पटक सयौं ब्यक्तिहरु कोरोना संक्रमित हुन पुगेको सहज अनुमान लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले अबको केही महिनाभित्र भारत कोरोनाको ईपिसेन्टर बन्न सक्ने चेतावनी दिईरहेको परिप्रेक्ष्यमा भारतले बैशाख ३० गतेदेखि रेल्वे स्टेसन खुल्ला गर्नुले पनि नेपालको तराई भुभाग र समग्रमा पूरै नेपाल नै प्रभावित हुन सक्ने खतरा जीवित नै छ भने अन्य मुलुकबाट पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता लग्न आग्रह गरिरहेको अवस्था छ।

नेपाल भारत खुला सिमानालाई व्यवस्थित गर्न दक्षिण सिमानामा तुरुन्त तारबार गरिनु जरुरी छ । त्यसैले नेपाल सरकारले तिनै तहको घनिभूत समन्वय गरी क्वारेन्टाइन, आइसोलेसन वार्ड, प्रत्येक स्थानीय तहका वडा वडाका माध्यमबाट न्यूनतम भए पनि सुविधा सम्पन्न स्वास्थ्य प्राबिधिक पठाउन सक्ने व्यवस्था मिलाउनु पर्दछ।

सबभन्दा ठूलो मानिसको जीवन हो । जीवन रहे न रंगिन दुनियाँ अनि पूर्वाधारदेखि व्यवसाय र रोजगारसँग जोडिन सकिन्छ।

पिसिआर परीक्षणको दायरा निसंकोच बढाउनुपर्ने देखिन्छ । एकान्तवास रहनैपर्ने भाईरसको बाध्यतामा पनि र्फ्रन्टलाईनमा देखिनुपर्ने स्वास्थ्य प्राबिधिकहरु, सुरक्षाकर्मी मित्रहरू एवं सहि सूचना सञ्चार गर्ने पत्रकार साथीहरूको भूमिका अतुलनीय छ। एकान्तवासमा रहनुपर्ने बाध्यता, भौतिक पुर्बाधार निर्माण कार्य ठप्प प्राय, ठूला उद्योग, कलकारखाना चल्न नसक्नु, पिपिई लगायत अन्य सुरक्षा सामग्री तथा उपकरणमा ठूलो धनराशि लगानी गर्नैपर्ने आवश्यकताले बिश्वकै शक्ति सम्पन्न रास्ट्रहरु पनि कुहिरोको कागजस्तै रुमल्लिइरहेका छन् । बिश्व अर्थतन्त्र मरुभूमिमा पानीको मृततृष्णा जस्तै बनिरहेको छ । यस्तो परिवेशमा विभिन्न राजनीतिक घटनाक्रमदेखि नाकाबन्दी र भूईचालोको चपेटाबाट जुर्मुराउदै आर्थिक समृद्धितिर उन्मुख मेरो नेपाल फेरि एक पटक छियाछिया भएको छ। धेरै जसो स्थानीय तहका कार्यालय एवं प्राबिधिक कार्यालयको दैनिक कार्य सञ्चालन खर्च नै विकास निर्माणका कामहरु जस्तै सडक निर्माण, पुल निर्माण, भवन निर्माण, खानेपानी योजना कार्य एवं राजस्व र करमा निर्भर रहनुपर्ने देखिन्छ ।

विकास निर्माणका कार्यहरु बिशेषगरी बाटो निर्माण र पुल निर्माण कार्यमा तराई केन्द्रित र भारत बाट आयातित जनशक्ति बिना गुणस्तरीय काम प्राय असम्भव जस्तै छ। जतिसुकै सामाजिक दुरि कायम गरी भौतिक पूर्वाधारका काम अगाडि बढाउने प्रयत्न गरियता पनि ब्यबहारत त्यो पनि सम्भव देखिएको छैन। यसरी दक्ष जनशक्ति संक्रमित क्षेत्रका जनतातर्फ भर पर्नुपर्ने अवस्था एकातिर भने अर्कोतिर सामाजिक दूरी व्यवहारत कायम हुन नसक्ने अवस्था बन्नुले निर्माण कार्यमा अग्रसर हुने प्राविधिकहरु पनि जोखिममा पर्दैछन कि भन्ने आवाज बुलन्द हुँदै छ ।

अतः बाटो अर्को साल बनाए पनि हुन्छ । पिच केही समयपछि गरे पनि हुन्छ । सबभन्दा ठूलो मानिसको जीवन हो । जीवन रहे न रंगिन दुनियाँ अनि पूर्वाधारदेखि व्यवसाय र रोजगारसँग जोडिन सकिन्छ। त्यसैले गाउँ गाउँका बाँझा जग्गामा अन्न बाली उब्जाएर आत्मनिर्भरताको बाटो रोजौ । भोकमरिबाट कोही पनि मर्नुपर्ने आवस्था नआओस् । बन्दाबन्दीको पूर्ण पालना गरौं । आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं ।

लेखक नेपाल ईन्जिनियर्स एशाेसियसन गण्डकी प्रदेशका कार्यकारिणी सदस्य तथा प्रगतिशील ईन्जिनियरिङ एशाेसियसन नेपाल (PEAN) बागलुङका अध्यक्ष हुन

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।