नेपाली जमिन हुँदै भारतले चीन सिमानामा सडक पुर्याउने र चीनले पनि भारत सिमाना पुर्याउने सहमति सि र मोदीको सपना थियो । उनीहरुले परार साल सहीछाप ठोके, अहिले छिचोले ।लिपुलेक लिंपुआधारा माथिको हाम्रो दाबीमाथि भारतले “ताबुत मे अन्तिम किल “ठोक्यो । हाम्रो दाबी खारेज गर्यो ।
हाम्रै नेताहरुको नाकै मुनिबाट चार पाँच सालअगाडी देखि बाटो भारतले खनिरहेको थियो, अहिले अचानक प्रकट भएको हैन । चीनलाई ब्यापारमात्र हैन, भारतको राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बइ र अरब सागर पुग्ने सामरिक महत्वको छोटो बाटो चाहिएको थियो । अरब सागर पुग्ने चीनको महत्वाकांक्षी योजना सिञ्जियाङ ग्वादार द्रुतमार्ग चर्को आर्थिक ब्ययभार, बलुचहरुको अन्तहिन द्वन्द, भौगोलिक जटिलता, पाकिस्तानको अस्थिर राजनीति र कट्टरपन्थी अतिवादीहरुको भयले असफल जस्तै भएकोमा, सहज, सरल मितव्यायी विकल्प चीनलाई चाहिएको थियो ।
भारतलार्इ आफ्नो उदयमान अर्थतन्त्रका लागि ठूलो जनसंख्या सीप, प्रबिधि र अर्थतन्त्र भएको भरपर्दो साझेदार चाहिएको थियो । दुबैकै आर्थिक र सामरिक स्वार्थका हामी बली चढ्यौं । दुर्इ हात्ती जुधे पनि रतिरागमा कामातुर भएर लठारिए पनि माडिने त घाँस नै हो, हामी घाँस भयौं ।
हाम्रो सार्बभौम सत्तामाथि चिनिया आड लागेर भारतले धावा बोलेको छ । मानसरोबर जाने दक्षिण एसियाका अरबभन्दा माथिका हिन्दु, बौद्ध तीर्थयात्रीहरुको ट्रान्जिट बनेर संमृद्धि देखिरहेको नेपालको सपना तुहिएको छ । नाक भाच्चिएको पीडा छँदैछ ।
यो प्रकरणमा सत्तारुढ दलमात्र दोषी छैन, अघिल्ला सरकार पनि उत्तिकै दोषी छन् । यो सरकारको त क्रान्तिकारी राष्ट्रबादी परे भारतसंग युद्धमै उत्रने नकाब उत्रिएको मात्र हो ,अन्नरपेन खुस्केकोमात्र हो । कार्ल मार्क्सले एसियामा साम्यवाद बर्लिन कलकत्ता हुँदै प्रबेश गर्छ भन्नुहुन्थ्यो भनेर ओशोले भन्नुहुन्थ्यो । कलकत्ताबाहेक अरु भविष्यवाणी त पूरा भएनन तर नेपाली कम्युनिष्टहरुको इपिसेन्टर भने कलकत्ता नै हो ।
एउटै मट्यांग्राले दिल्ली र बेजिङको सेवा पुग्ने स्वर्ण अवसर उनीहरुले चुकाएनन् ।









