हेपिएकाहरु फेरि हेपिरहने ?

सद्भभाव भनेको एक अर्कामा शुद्ध भावनाद्धारा गरिने असल व्यवहार हो । सद्भभाव समानतामा अाधारित हुन्छ । सद्धभाव बिभेदमुक्त चेतना र सामाजिक परिबेशमा अाधारित हुन्छ । नेपाली समाज जात, लिङ्ग, वर्ग र क्षेत्रको अाधारमा सदियाैदेखि बिभाजित छ । उचनिचको भावना छ । छुवाछुत थियो र अाज पनि अन्त्य भइसकेको छैन । समाजमा सदियौदेखि जातीय सद्भभाव छ भन्नु चेतनाहीन कुरा हो । केही मानिसहरु समाज बिभेदयुक्त बनाइ रहन चाहन्छन् ।

समाजलाई बिभाजित गरेर वा फुटाएर शासन गरिरहनु पर्छ भन्नेहरुले गर्ने तर्क हो सदियौदेखिको सामाजिक सद्भभाव । जात प्रथा लगायत तमाम् उ्त्पीडनको अन्त्य गरि सामाजिक सद्भभाव ल्याउनुपर्छ भनेर वर्गीय मुक्ति अान्दोलनमा लागेका मित्रहरु समेत यस्तो तर्क गर्दा उदेक लाग्दछ । ढाकछोप के को लागि? शक्ति र सत्ता प्राप्ति लागि हो ? वर्गीय मुक्ति अान्दोलनमा लागेका मित्रहरु ! अाज तपाईहरु भन्दा शक्तिमान को छ ? अाज सत्तामा को छ ? बरु अाजको सत्ता र शक्तिको प्रयोग गरेर सबै खाले बिभेदमुक्त समाज निर्माण गर्नुपर्छ ।

हिजो हुदै नभएको सद्भभावको कुरा नगरौं । सद्भभाव भए पो कायम गर्ने हो । नभएको सद्भभाव त निर्माण गर्ने होला नि । हेपिएकाहरु फेरि हेपिरहने, शोषणमा परेकाहरु शोषणमा परिरहने अनि सद्भभावको कामना गर्ने कुरा वाहियात हो । साच्चैको सद्भभाव सृजना गरौं । हालसालै पोखरा-१६ मा भएको घटनाको कथाले चर्चा पाएको छ । कथा र पात्रहरु व्यापक भइरसकेका छन् । अब कथा र पात्रहरुको बारेमा चर्चा गर्न जरुरी भएन । घटित घटनाको संक्षेपमा निम्न निष्कर्ष राख्न चाहन्छु ।

१. सरकारी बजेटसमेतको प्रयोगमा सार्वजनिक जग्गामा बनेको क्रियापुत्री भवन अाफैमा सार्वजनिक सम्पत्ति हो । क्षत्री दाजुभाइको सक्रियता बनेक‍ोमा विशेष धन्यवाद दिनुपर्छ । अब त्यो भवन कसैको नीजी सम्पत्ति होइन
२. उक्त क्रियापुत्री भवन ज- जसलाई पायक पर्छ प्रयोग गर्न पाउने हक स्वाभाविकरुपमा हुन्छ ।

सार्वजनिक जग्गामा बनेको क्रियापुत्री भवन आफैमा सार्वजनिक सम्पत्ति हो । क्षत्री दाजुभाइको सक्रियता बनेक‍ोमा विशेष धन्यवाद दिनुपर्छ । अब त्यो भवन कसैको निजी सम्पत्ति होइन ।

३. समाजको सबैभन्दा ठूलो मूल्य र मान्यता भनेको समानता र भातृत्व ह‍ो । बिभेदजन्य व्यवहारलाई पनि मूल्य मान्यताको परिभाषामा समेट्ने सामन्ती व्यवस्थाक‍ो अन्त्य भइसकेको छ ।
४. घटनाक‍ो पीडित पक्षले गाउँ समाजमा नै मिलाउ भनेर यथेष्ट प्रयत्न गरेको देखिन्छ । कुनै उपाय नलागेपछि मुद्दा जायरी गर्नु पूर्व एक हप्ता पहिला घटनालाई प्रचारमा ल्याएक‍ो देखिन्छ । जसले मिल्ने वातावरण सृजना हुन्छ भन्ने पीडित पक्षलाई लागेको थियो ।

५. अधिकारकर्मीहरुले मानीय सांसद कृष्ण थापा र जननिर्वाचित वडा अध्यक्ष जीवन अाचार्यलाई पहल गरि मिलाउनु हुन अपिल गरेका हुन् । तर घटनालाई गम्भीररुपमा लिइएन । पीडितलाई रैती त हुन् , कहाँ जान सक्छन् अाखिर हाम्रै शरणमा अाउछन् भन्ने सामन्ती अहंकार प्रष्टरुपमा देखा पर्यो ।

६. समाजमा नै मिलाउ भनेर गरिएका यावत् प्रयत्न नाकाम भए । पीडित पक्षलाई कानुनी उपचारमा जान बाध्य बनाइयो । मुद्दा दर्ता भयो । कसुरको अभियोग लागेका मानिसहरु अनुसन्धानको दायरामा अाएका छन् । सम्मानित अदालतको फैसला कुर्नुको कुनै बिकल्प छैन । अन्ततः सबै बिकल्पहरु अन्त्य भएपछि कानुनी राज्यमा कानुनी न्याय माग्नु सर्वथा ठिक छ । हामी सबैले कानुनी राज्यको नीति नियम पालना गर्नुपर्छ । दण्डहीनता र अराजकतालाई प्रश्रय दिनु हुदैन ।
७. य‍‍ो घटनामा कसुरको अभिय‍ोग लागेका ब्यक्तिहरु बाहेक पोखरा-१६ मा अरुले पनि विभेद गरे भन्ने निष्कर्ष निकाल्नु हुदैन । अन्य ब्यक्तिहरुले साम्प्रदायिक भावनाबाट ग्रसित भएर यस्ता कानुन र अाजको नेपाली समाजक‍ो मूल्य मान्यतामा अाँच अाउने कामलाई मलजल वा सहय‍ोग पुर्‍याउने काम गर्नु हुदैन ।

८. माननीय कृष्ण थापा ज्यूको सार्वजनिक प्रेश विज्ञप्ति र वडा अध्यक्ष जीवन अाचार्य ज्यूको पीडकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि बुझ्न अाउनु भएका सर्वसाधारणलाई जम्मा गरि दिएक‍ो मनतव्य अश‍ोभनीय छ । यस घटनामा पद र शक्तिको दुरुपयोग गर्न अगाडि बढ्नु भएका अादरणीय द्वय जनप्रतिनिधिलाई यस्तो निन्दनीय कार्य र‍ोक्न सबिनय अनुरोध गर्दछु ।
९. लकडाउनको विषम परिस्थितिमा प्रहरी दाजुभाइले अपनाउन खोज्नुभएको उच्च सतर्कता प्रशंसनीय रहेको छ । तर मुद्दा दर्ता भयो, भएन भनेर बुझ्न गएका र पक्राउमा परेकाहरुको अवस्था बुझ्न गएका दुबै पक्षलाई प्रहरी प्रशासनबाट भएक‍ो व्यवहार खेदजनक छ ।

१०. घटना अनिवार्यता र अाकस्मिकताको उपज हो । घटना घट्यो । त्यो घटना बिभेदजन्य थियो । त्यही घटना दिन दिनै घट्दैन । समाजमा रहेका सबैले घटना घटाउदैनन् । घटनाक्रमका पात्रहरु बाहेक अरुलाई अनावश्यक तान्न र घटनालाई तन्काउनु हुदैन । जोकोहीले पनि यसलाई जातीयता र साम्प्रदायिकताको रङ्ग दिनुहुदैन ।
११. सबैखाले विभेद र अहंकार समाज र मुलुक अविकासका सूचक हुन् । यसको अन्त्य गर्न सम्पूर्ण नेपाली नागरिक लाग्न जरुरी छ ।

सार: घटना घट्छन् । घटनाले शिक्षा दिन्छन् । घटनाले सँगै समाधान लिएर अाउछन् । यस बिभेदको घटना समाधानको दिशामा अगाडि बढेको छ । अब हामीले पोखरा-१६ मा सामाजिक सद्भभाव सृजना गर्नुपर्छ । सरोकारवाला पक्षहरु बीचमा नयाँ अाधारमा सामाजिक एकता खोज्न सम्बन्धित पक्षलाई हार्दिक अाग्रह गर्दछु ।