हामी २५६४ औं बुद्ध जयन्ती मनाउने तरखरमा छौं । अहिले कोरोना भाइरसको डरले लकडाउन चलेको छ । यो अवस्था नभएको भए बुद्ध पूर्णीमामा सरकारी बिदा हुन्थ्यो । साँझ बिहान मेहनत गरेर छाक टार्नुपर्ने अधिकांश नेपालीले त यसबारेमा खासै मतलव गर्न भ्याउदैनन् होला । तर अलिअलि सजिलोसँग छाक टार्नसक्ने र एकाबिहानै उठेपछि फेसबुक र ट्विटर नखोली नहुने हामी नेपालीले सामाजिक सञ्जालमा “ह्याप्पी बुद्ध पूर्णीमा”, # बुद्ध वाज बर्न इन नेपाल” आदि स्टाटस् पोस्ट गरी छुट्टी मनाउन सिनेमा, साथीभाइहरुसँग पाटी, नदी किनारामा पिकनिक खादै हुन्थ्यौं होला ।
केही सेमिनार, गोष्ठी सञ्चालन हुन्थे, बिश्वमा बुद्धको योगदानका बारेमा चर्चा हुन्थ्यो । पत्रपत्रिकाले अर्को दिन समाचार बनाएर छाप्थे । पत्रिकाको पाना नच्यात्तिदैं हामी सबैले बुद्धलाई भुलिसकेका हुन्थ्यौं, फेरि अर्को २५६५ औं जयन्ती मनाउने दिनसम्मका लागि । यो लकडाउनको समयमा परेको बुद्ध पूर्णिमाको दिनमा पनि, बुद्धको मूल सन्देश के थियो, मानवमात्रको मुक्तिको लागि बुद्धको देशना के हो ? यसप्रति सायद हाम्रो दृष्टि पुग्ने छैन । हामी अधिकांशका आँखाले दिनभर फेसबुक हेरेर, टिभीमा सिनेमा हेरेर बिताउनेछन् । पाठकवृन्द, कृपया आलोचना गर्यो भनेर नभनिदिनु होला । एकै छिन आखा बन्द गरेर, छातीमा हात राखेर संवेदनशील हुनुभयो भने मेरो ह्दयको भाव यहाँहरुले पनि अनुभव गर्न सक्नुहुने छ ।
२५ सय ६४ वर्षअगाडि कपिलवस्तुका शाक्य वंशका राजा शुद्धोधनकी रानी मायादेवी गर्भवती थिईन् । बच्चा जन्मिने समय नजिक आइसकेको थियो । आफ्नो बच्चा माइतीघरमा जन्माउनका लागि महामाया केही सिपाही र सेविकाको साथमा माइती कोइली वंशको राजधानी देवदह जाँदै थिईन् । लुम्बिनीको वननजिकै पुग्दा प्रसव पीडाले च्यापेपछि सेविकाहरुले त्यही नजिकै सालको रुखतल रानीलाई विश्राम गराए ।
बुद्ध अर्थात् जसको बुद्धि अथवा चेतनाले उच्चतम् शिखर भेटेको छ । बुद्धले सम्बोधीपश्चात ध्यानको धर्मचक्र चलाए । बुद्धले भने कि ध्यान नै संसारका सबै दुःखबाट मुक्तिको उपाय हो ।
मायादेवीले सुन्दर बालक जन्माइन् । बालकको नाम सिद्धार्थ गौतम राखियो । यिनै राजकुमार सिद्धार्थ गौतम कालान्तरमा जन्म र मृत्युको पारको रहस्य खोजका लागि १९ वर्षको उमेरमा राजपाठ, घरबार त्यागेर भिक्षु बने । ६ वर्षको कठोर साधनापश्चात सिद्धार्थले हाल भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे । बोधीसत्व तथागत बुद्ध भए । बुद्ध अर्थात् जसको बुद्धि अथवा चेतनाले उच्चतम् शिखर भेटेको छ । बुद्धले सम्बोधीपश्चात ध्यानको धर्मचक्र चलाए । बुद्धले भने कि ध्यान नै संसारका सबै दुःखबाट मुक्तिको उपाय हो ।
तत्पश्चात बुद्धकै समयमा नेपाल तथा भारत क्षेत्रका हजारौं व्यक्ति ध्यानमार्गमा दीक्षित भए । बुद्धका शिष्यहरु महाकाश्यप, सारीपुत्र, महामौदगल्याण, मञ्जुश्री, कौडन्य, जीवक, बुद्धपुत्र राहुल, बुद्धपत्नी यशोधरा, पूर्ण, सुबुती लगायत सयौंले बुद्ध जीवित रहँदै सम्बोधी पाए । बुद्धको ध्यानपथ उनको जीवनकालमै आगोसरी फैलियो । धेरै स्थानमा बुद्ध बिहार अर्थात साधनास्थलहरु निर्माण भए । बुद्ध जन्मस्थल लुम्बिनी तथा उनको राज्य कपिलवस्तुमा समेत बुद्ध बिहारहरु बने ।
नेपाल, भारतको सीमा क्षेत्रमा पर्ने कुशीनगरमा ७९ वर्षमा शरीर छाड्नुअघि बुद्धको अन्तिम सन्देश थियो : अप्पदिपो भव, अर्थात स्वयंको दीयो बन । ध्यानद्वारा मनका सबै क्लेश जस्तै राग, द्वेश, जलन, घृणा, क्रोध, लोभ इत्यादिको निर्जरा भई अन्तरको प्रकाश जलाउनु बुद्धको मुख्य सन्देश हो ।
समयान्तरमा बुद्धको धर्म धार्मिक मतान्धहरुको प्रहारबाट क्षतविक्षत भई नेपाल तथा भारतबाट पूरै विहीन भयो । तर, तिब्बत, चीन, जापान, बर्मा, श्रीलंका आदि देशमा भने फैलियो ।
नेपालका लुम्बिनी, कपिलवस्तु आदिका बुद्ध बिहार इतिहासमै बिलाए । लुम्बिनीमा सम्राट अशोकले स्थापना गरेको स्तम्भ ढलेर हरायो । बुद्ध जन्मस्थानमा निर्मित मायादेवी मन्दिर त्यसै गायब भयो ।सन् १८९६ को राणकालमा ब्रिटिस सरकारका जर्मन सर्भेयर एलोइस फुहररले लुम्बिनीमा रहेको अशोक स्तम्भ र मायादेवीको मन्दिर पत्ता लगाए । तर राणाकालका शासकहरु बुद्धप्रति असहिष्णु भएका कारणले लुम्बिनीले उचित न्याय भने पाएन । जव बर्माका नागरिक संयुक्त राष्ट्र संघका तृतीय महासचिव, उ थान्त सन् १९६७ अप्रिलमा लुम्बिनी आए, उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा शान्तिको केन्द्रको रुपमा संसारभर चिनाउन मद्दत गरे । हामी नेपालीले के गर्यौं त अहिलेसम्म बुद्ध र लुम्बिनीका लागि ?
सद्गुरु ओशोका प्रथम नेपाली शिष्य स्वामीआनन्द अरुण सांसारिक पेशाले इन्जिनियर हुन् तर आध्यात्मिक दुनियाँमा उनी अन्तरमनको जगतको इन्जिनियरको रुपमा परिचित छन् ।
केही नै नभएको त पक्कै होइन, लुम्बिनीको स्वरुप परिवर्तन गर्ने काम पनि भएका छन् तर सुस्त गतिमा । त्यस्तै, हामी नेपाली अन्तर्राष्ट्रिय स्तरमा बुद्धको ध्यानको सन्देश फैलाउने कुरामा निरपेक्ष छौंं । त्यसैले समय समयमा बुद्धको जन्मस्थानबारे विवाद आईरहन्छ । संसारका अन्य कतिपय देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिएका थिए भनेर लेखिएका पनि छन् । हामी नेपाली कहिलेकाही काठमाडौंको टुडिँखेलमा जम्मा भएर बुद्ध नेपालमै जन्मिएका थिए भनेर आवाज निकाल्छौं । तर, त्यो आवाज विश्वले सुन्दैन । मलाई त यस्तो लाग्छ कि गौतम बुद्धले आफ्नो मूल सन्देश र लुम्बिनीप्रतिको न्यायका लागि गहन पुकार गरिरहेका छन् कि, कोहि त होला जसले यो क्रन्दन् सुनोस् ।
विगत केही वर्षदेखि नेपाल आमाका एक सपुत बुद्धको मुल सन्देश ध्यानलार्ई अन्तर्राष्ट्रिय मान्यता दिलाउन र बुद्ध जन्मेको देश भनेर नेपालको प्रतिष्ठा स्थापित गर्नका लागि दिलोज्यान दिई लागिपरेका छन् । उनी हुन्, बोधीसत्व स्वामी आनन्द अरुण । सद् गुरु ओशोका प्रथम नेपाली शिष्य स्वामी आनन्द अरुण सांसारिक पेशाले इन्जिनियर हुन् तर आध्यात्मिक दुनियाँमा उनी अन्तरमनको जगतको इन्जिनियरको रुपमा परिचित छन् । ओशोले नै उनलाई बोधीसत्वको उपाधि दिएका हुन् । स्वामी अरुणले सञ्चालन गर्ने काठमाडौंको ओशो तपोवन विश्वको लोकप्रिय आध्यात्मिक केन्द्रको रुपमा परिचित छ । त्यस्तै, स्वामी अरुणले नेपाल र बाँकी बिश्वभरीमा करिब २ सय ओशो ध्यान केन्द्रहरु खोलेका छन् । विश्वका १ लाखभन्दा बढी व्यक्तिलाई ओशोको ध्यान अभियानमा दीक्षित गरेका छन् ।
स्वामी अरुण भन्छन, ‘ओशो, बुद्ध जस्ता गुरुहरुको मूलमन्त्र छ कि ध्यान नै तनावबाट मुक्तिको अचुक उपाय हो ।
ध्यान प्रशिक्षणका बेला बिश्वभरि परिभ्रमण गर्दा स्वामी अरुणले देखे कि सारा विश्वमा बुद्धप्रति इज्जत त छ तर बुद्ध कहाँ जन्मे, त्यसका बारेमा केही भ्रम पनि छ । त्यस्तै बुद्धको सन्देश ध्यानका बारेमा त्यति धेरै जानकारी छैन । आफ्नो ५० वर्षको ध्यान, साधना र विश्वभरी ध्यान शिविरहरु सञ्चालनको अनुभवबाट स्वामी अरुणले यो पनि देखे कि संसारभरी तनाव, डिप्रेसन, विषाद र एंग्जाइटी भित्रभित्रै नदेखिने गरी ठूलो महामारीको रुपमा आएको छ । स्वामी अरुण भन्छन, ‘ओशो, बुद्ध जस्ता गुरुहरुको मूलमन्त्र छ कि ध्यान नै तनावबाट मुक्तिको अचुक उपाय हो । औषधी मात्रले तनाव र डिप्रेसनबाट पूर्ण मुक्ति दिनै सक्दैन । र, यसको सही औषधी ध्यानभन्दा अर्को हुनै सक्दैन ।’ त्यसैले आउने समयमा ध्यान योगी सन्यासीहरुका लागि मात्र नभएर सबैका लागि एक अपरिहार्य आवश्यकता भएर आउनेछ ।
स्वामी अरुणको यो अन्तरदृष्टिलाई वैज्ञानिक तथ्यहरु र सोधले पनि साथ दिएका छन् । विश्व स्वास्थ संगठनको प्रक्षेपण छ कि सन् २०३० सम्म आँउदाआउँदै तनाव, डिप्रेसन र एंग्जाइटी संसारको सबैभन्दा खतरनाक रोग बन्नेछ । स्वास्थ क्षेत्रका विज्ञहरुको भनाइमा तनावका कारणबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलाइटिस्, कब्जियत, निद्रा नलाग्ने, एलर्जी, माइग्रेन जस्ता रोग हुन्छन् । अझै क्यान्सर जस्तो खतरनाक रोगको मुख्य कारण पनि तनाव नै हो भनेर स्वास्थ्य बिज्ञहरुले भनेका छन् । अमेरिका जस्तो मुलुकमा अहिले नै तनाव एक नम्बरको साइलेन्ट किलर भएको छ । सोधहरुले बताएका छन् कि अमेरिकामा मात्रै प्रत्येक दिन ३५ सय जनाले तनावका कारण आत्महत्या गर्ने कोशिस गर्छन् भने सय जनाभन्दा बढीको त दैनिक त्यसैबाट मृत्यु हुने गर्छ । हाल विश्वमा हरेक वर्ष ३० देखि ५० करोड व्यक्ति तनावको समस्याबाट ग्रसित हुन्छन् । आउने समयमा विश्वका सबै मुलुकमा यो विकराल समस्याको रुपमा बढ्दै जानेछ ।
यो परिप्रेक्ष्यमा स्वामी आनन्द अरुणले करिब चार वर्षअघि आव्हान गरे कि बुद्धको जन्म दिवसलाई विश्व ध्यान दिवसका रुपमा मनाऔं । स्वामी अरुणको भनाइ यो छ कि भारतका प्रधानमन्त्री मोदीको पहलमा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गर्यो । भारतले यसबाट ठूलो प्रतिष्ठा आर्जन गरेको छ । साथै, योगका कारणले भारत आउने विदेशी प्रशिक्षार्थी तथा पर्यटकको कारणले आउने आर्थिक लाभ पनि भएको छ ।
स्वामी अरुण यस सम्बन्धमा थप्छन्, ‘नेपालले संयुक्त राष्ट्र संघमा बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव लगेमा यसको विश्वका बुद्ध धर्म मान्ने देशहरुले त तुरुन्तै समर्थन गर्ने छन् । साथै, विश्वका करिब ८० करोड बुद्धिस्टले साथ दिनेछन् । विश्वले ध्यान दिवस मनाउन सुरु गर्यो भने विश्वको तनाव मुक्तिको मार्गमा नेपालको ठूलो योगदान हुनेछ । बुद्ध र लुम्बिनीप्रति न्याय हुनेछ । त्यस्तै, स्वभाविक रुपमा यसको मुख्य फाइदा नेपालले पाउनेछ ।
एक त नेपालले अबदेखि बुद्ध नेपालमा जन्मेका हुन भनेर फेसबुक, ट्विटर अनि टुडिँखेलबाट कराउनु पर्ने छैन, किनकी स्वाभाविक रुपमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर विश्वमा प्रचार हुनेछ । दोस्रो, नेपालका गुम्बा र आश्रमहरुमा ध्यान सिक्न आउने विदेशीको घुइँचो बढ्नेछ । स्वभाविक रुपमा लुम्बिनी, कपिलवस्तु, स्वयंभू, रामग्रामका बुद्ध स्मारकहरुमा धार्मिक पर्यटकको ओइरो लाग्नेछ । यसले नेपाली पर्यटनले अकल्पनीय फड्को मार्ने छ । तेस्रो, नेपाली ध्यान प्रशिक्षकहरुको माग संसारभरि बढ्नेछ । आजसम्म मजदूर, सैक्युरिटी गार्ड निर्यात गर्ने भनेर चिनिएको देशबाट ध्यानका शिक्षकहरुको देश भनेर नेपाल चिनिन थाल्नेछ ।
विश्वले ध्यान दिवस मनाउन सुरु गर्यो भने विश्वको तनाव मुक्तिको मार्गमा नेपालको ठूलो योगदान हुनेछ । बुद्ध र लुम्बिनीप्रति न्याय हुनेछ ।

स्वामी आनन्द अरुणको यस अभियानलाई नेपालका मूर्धन्य राजतीतिज्ञहरु तथा बुद्दिजीवीहरुको साथ पनि छ । दुई वर्षअगाडि बुद्ध पूर्णिमाको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी ओलीले स्वामी आनन्द अरुणद्वारा लुम्बिनीमा निर्माण गरिएको ओशो जेतवन कम्युन उद्घाटन् गर्दाको वखत सम्बोधन गर्दै स्वामी अरुणको अनुरोधमाथि गहन छलफल गरी अगाडि बढ्ने बिश्वास दिलाउदा यो लेखक पनि स्रोताको रुपमा त्यही उपस्थित थियो । उत्साहित भई आल्हादित भएको थियो । त्यस्तै, नेपाल सरकारका मन्त्रीहरु र वरिष्ठ राजीतिज्ञहरुले पनि व्यक्तिगत रुपमा यो अभियान सही भएको भनेर स्वामी अरुणको प्रशंसा गरेका छन् । नेपालका विश्व प्रतिष्ठित समाजसेवीहरु तथा उद्योगपतिहरु जस्तै उपेन्द्र महतो, जीवा लामिछानेहरुले पनि स्वामी अरुणको अभियानलाई साथ दिएका छन् । तर केही कारणबस् नेपालको तर्फबाट संयुक्त राष्ट्र संघमा यो प्रस्ताव ठोस रुपमा अगाडि बढाउन सकिएको छैन ।
स्वामी अरुण भन्छन् कि संसारका बुद्ध धर्म मान्ने मुलुकले बुद्धलाई नेपालीले भन्दा बढी इज्जत गर्छन् । यदि नेपालले विश्व ध्यान दिवसको प्रस्ताव गर्न अब विलम्भ भयो भने ती मुलुकले संयुक्त राष्ट्र संघमा प्रस्ताव लैजाने प्रवल सम्भावना छ । त्यस्तो भयो भने नेपालका लागि दुर्भाग्य हुनेछ । नेपालले बुद्ध र लुम्बिनीप्रति ठूलो अन्याय गरेको ठहरिनेछ । हामी नेपाली र नेपालका लागि यो एक ढिलो हुँदै गइरहेको अवसर हो बुद्ध, बुद्ध जन्मस्थल लुम्बिनी अनि बुद्धको मूल सन्देश ध्यान भन्ने कुराको पुनर्स्थापनाको श्रेय लिने । नेपाली उखान ‘जब पर्यो राति अनि बूढी ताती’ जस्तै अन्य देशले प्रस्ताव गरिसकेपछि भने त्यसपछि जति बल लगाए पनि नेपालले बुद्ध जन्मेको देश भनेर प्रतिष्ठित हुने, ध्यानको सन्देश छर्ने देश भनेर चिनिने र बुद्धिस्ट धार्मिक पर्यटनको अथाह सम्भावनाको फाइदा लिनबाट चुक्नेछ ।
नेपालले विश्व ध्यान दिवसको प्रस्ताव गर्न अब विलम्भ भयो भने ती मुलुकले संयुक्त राष्ट्र संघमा प्रस्ताव लैजाने प्रवल सम्भावना छ । त्यस्तो भयो भने नेपालका लागि दुर्भाग्य हुनेछ ।
स्वामी आनन्द अरुणको यो अभियानलाई अन्तर्राष्ट्रिय रुपमा भने ठूलो सहयोग र साथ मिलेको छ । अमेरिकाको भर्जिनियाको लाउडन काउन्ट्रीमा स्वामी आनन्द अरुणको उपस्थितिमा गत २०७५ फाल्गुणमा बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने घोषणा भयो । त्यसमा भर्जिनिया स्टेटका सिनेटर जेनिफर बोयस्को र लाउडन काउन्ट्रीका मेयरले हस्ताक्षर गरेका छन् ।
उनीहरुले स्वामी अरुणको मुक्तकण्ठले प्रशंसा र अभिनन्दन गरे । साथै, उनको अभियानलाई साथ दिने घोषणा व्यवहारमै उतारे । त्यस्तै, त्यही समयमै अमेरिकाको वासिङटन डिसीमा नेपालका राजदूत साथै श्रीलंका, बर्मा,अल्बानिया, पूर्वी टिमोर आदिका राजदूतले स्वामी आनन्द अरुणको “बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवस” अभियानलाई पूर्ण साथ दिने वचन दिए । यस अभियानलाई अमेरिकामा बस्ने नेपालीले पनि सहयोग र हौसला दिएका छन् ।
कसै कसैले प्रश्न गर्छन् कि स्वामी आनन्द अरुण त ओशोका शिष्य हुन् अनि उनले ओशोको जन्मदिन ११ डिसेम्बरलाई विश्व ध्यान दिवसको रुपमा मनाउने आव्हान नगरेर बुद्ध पूर्णिमाको अभियान किन रोजेका होलान् ? स्वामी अरुणको भनाइ छ कि अहिले संसारका अधिकांश देशले बुद्धलाई आदर गर्दछन् र बुद्धलाई संसारमा नचिन्ने कमै छन् । यस्तो अवस्थामा बुद्धको प्रस्तावले संयुक्त राष्ट्र संघमा तुरुन्त सकारात्मकता पाउनेछ । ओशोले पनि बुद्धलाई अतिशय प्रेम गर्छन र उनले भनेका छन् कि बुद्धलाई बीचमा नल्याई म केही बोल्नै सक्दिनँ । बुद्ध र उनको दर्शनका बारेमा ओशोले दिएका प्रवचनका एक सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।

त्यसैले ओशोका शिष्यहरुले बुद्धलाई ओशो जत्तिकै आदर गर्दछन् । ओशोको देशना आफ्नो यौवनतिर बढ्दै छ र यदि हामी शिष्यहरुले सही रुपमा ओशोको मूल सन्देशलाई जियौं भने आगामी दिनमा उनको सन्देश विश्वको कुना कुनामा फैलिनेछ । बुद्धजस्तै ओशोको सम्मान सारा संसारले गर्नेछ, अनि त्यो दिन पनि आउनेछ । जव विश्वले ओशोको जन्म दिवसमा अर्को ध्यान दिवस मनाउनेछ ।
बुद्ध र नेपालको सम्मानमा आफ्नो आत्म सम्मान ठान्छन् स्वामी अरुण ।
सायद ध्यानलाई विश्वभरमा फैलाउने बुद्धको पुकारलाई आफ्नो अन्तरह्दयले सुनेर स्वामी आनन्द अरुण यो अभियानमा होमिएका होलान् ।
मैले आजसम्म जति पनि मानिस भेटेको छु, बोधीसत्व स्वामी आनन्द अरुण जत्तिको ओशोभक्त कहीँ देखेको छैन । पूर्वाग्रह नराखी भन्नुपर्दा नेपालका सच्चा राष्ट्रभक्तमध्ये स्वामी अरुणअग्रपक्तिमा आउछन् । अनि संसारभरि खोज्ने हो भने बुद्धलाई सच्चा श्रद्धा गर्ने व्यक्तिमध्ये स्वामी आनन्द अरुणलाई छुटाउनै मिल्दैन । नेपाल आमाका एक सच्चा सपुतले जस्तै नेपालमा जन्मनुको अतिसय गौरव गर्छन् । बुद्ध र नेपालको सम्मानमा आफ्नो आत्म सम्मान ठान्छन् स्वामी अरुण ।
सायद ध्यानलाई विश्वभरमा फैलाउने बुद्धको पुकारलाई आफ्नो अन्तरह्दयले सुनेर स्वामी आनन्द अरुण यो अभियानमा होमिएका होलान् ।
बुद्ध पूर्णिमाको पावन अवसरमा नेपाली भूमिमा जन्मेका बोधीसत्व तथागत बुद्ध र बोधीसत्व स्वामी आनन्द अरुण दुवैमा नमन् । साथै, सदगुरु ओशोमा भाव समर्पण !
facebook: Swami Yoganand
(लेखक ओशो उपवन कम्युन पोखराका ध्यान प्रशिक्षक तथा पेशाले ईलेक्ट्रिकल इन्जिनियर हुन्)









