लघुकथाः अप्रिल फुल

असी वर्षे सर्बजीतले बुहारीलाई भनेः ‘तातो पानी ले न बुहारी’
‘ल ल, ल्याइहालेँ, कत्ति कराको रु’ बुहारीले भनिन् । तर पानी आएन ।
उनले छोरालाई भनेः ‘डाक्टरकोमा लैजा न बाबु’
‘ल ल भोलि लैजान्छु’ । भोलि भोलि भनेको पनि छ महिना भएको थियो । डाक्टरकोमा लगिएन ।
उनले सानो प्यारो नातिलाई भनेः पढ्नु पर्छ बाबु’
‘पढी सकेँ’ नातिले उत्तर दियो । उनलाई थाहा छ उसले पढेको छैन ।
ठुली नातिनीलाई सोधेः ‘त्यो केटा को हो रु’
नातिनीले उत्तर दिइन्ः ‘साथीको दाइ’ । उनलाई लागिरहेको छ नातिनीले ढाँटी ।
‘नेता भन्थ्यो ‘भोट दिनुस्, म देश विकास गर्छु’ ।
उनले भोट दिए । नेताले चुनाव जित्यो । देश विकास कहिल्यै गरेन ।

‘प्रोफेसरले कक्षा लिएन, हाजिर गर्यो । अनि लबस्तरो भन्छ, पढाएर आ’को’
‘पार्टी काममा दिनभरि व्यस्त भएर चार बजेको ल्याप्चे लगाउन आएको कर्मचारी भन्छ, धेरै काम गरियो, थाकियो’
‘अशुद्ध उत्पादन गरे पनि उद्योगपतिले प्याकेटमा शुद्ध लेख्न कहिल्यै बिर्सिएन’
‘घुसमा न्यायलाई बेचेर आएको चोट्टा मान्छे न्यायाधीश हुँ भन्न छोड्दैन’
‘डाक्टर मरेको मान्छेलाई भेन्टिलेटरमा राख्छ, पैसा दिनुस् । निको हुन्छ भन्न छाडदैन’
‘विदेशको कृषक भ्रमणमा नातागोता अकृषक आफन्त पठाएर सरकार भन्छ, यसले कृषिक्षेत्रमा ठुलै फड्को मार्छ’

आकाश तिर हेरे । लौरो खोजे । टेके ।
‘आज अप्रिल फुल हो नि हब्बा, था’छ रु’ नातिले हजुर्बालाई सम्झायो ।
उनले सोधेः ‘अप्रिलफुल भनेको के हो ?’
‘ढाँट्ने दिन’
‘त्यो ढाँट्न नपाइने देशको कुरो हो, यहाँ अप्रिलफुलको के काम हौ केटा रु’
२०७३।१२।१९
धापासी, काठमाडौँ