कार्ल मार्क्स : सधै बलिरहने संघर्षको चिराग

आजभन्दा २ सय २ वर्षअघि अर्थात् ५ मे, १८१८ मा जन्मिएका विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता हुन्, कार्ल मार्क्स । राईन प्रान्त ट्रीरत्रियेर नगरका वकिल हर्शल माक्र्सका छोरातर्फ जेठा सन्तानको रूपमा उनको जन्म भएको थियो। उनको परिबार यहूदी थियोे । कार्लका हजुरबुबा र पुषाजु यहूदी पण्डित थिए। यद्यपि माक्र्सको परिबारमा धार्मिक कट्टरता कत्ति पनि थिएन। तर,पनि कार्लकी आमा हल्याण्डको प्रेसवर्ग परिबारकी थिइन्, जहाँ यहूदीहरुको पूरोहित्याईको मात्र काम हुन्थ्यो ।

माक्र्सका तीन भाइ र चार बहिनी थिए । भाइ डेबिडको भने सानैमा मृत्यु भएको थियो। माक्र्सका बाबु हर्शललाई यहूदीहरुको परम्परागत ब्याज खाने र लोभी प्रवृत्तिप्रति घृणा थियो। त्यस्तै उनका पितामा फ्रान्सको क्रान्तिका प्रेरणादायी ब्यक्तिहरु रुसो र भोल्तेयरका क्रान्तिकारी बिचारहरुको राम्रै प्रभाव परेको थियो । ती क्रान्तिकारी बिचारका लेख हर्शलले धेरै पटक पढेका थिए । कार्लका बाबु हर्शलका बिचारमा प्रबल परिवर्तन आइसकेको थियो ।फलस्वरूप हर्शलले यहूदी धर्म छोडी प्रोटेस्टेन्ट ईसाई भई आफ्नो नामसमेत हर्शलबाट हेनरिक राखेका थिए । त्यो धर्म परिवर्तनबाट उनलाई प्रशामा वकालत गर्न सहज भएको थियो ।

प्रशामा उसै पनि यहूदीहरुसित राम्रो ब्यवहार गरिदैन्थ्यो।उनीहरूमाथि थुप्रै प्रकारका थिचोमिचो र प्रतिबन्ध थिए। कार्लका पिता ईसाइ भएकाले ती प्रतिबन्धहरुबाट उनलाई छुट थियो । हर्शल आफैं पनि इमानदार, मिहिनेती, सुसंष्कृत र विचारमा दृढ थिए । उनी राष्ट्रबादी पनि थिए । प्रशामा व्यापक सुधार र परिवर्तनका बाबजुद उनले नेपोलियन बोनापार्टको शासन मन पराएनन्। जबकि, नेपोलियनले प्रशामा सबै जनसमुदायलाई बराबर अधिकार दिएका थिए, त्यो फ्रान्समा पहिलोपटक थियो ।त्यतिबेलासम्म प्रशामा यहूदी र ईसाइबीचको द्वन्द र भेदभाव बोनापार्टले अन्त्य गरेका थिए ।

माक्सका पिता हर्शलमा राष्ट्रप्रेम, प्रगतिशील आचरण, बौद्धिकता जस्ता तत्वहरु सङ्गसङ्गै उपस्थित थिए। उनको बुवामा भएका ती तत्व र क्रान्तिकारी स्वभावको प्रभाव कार्लको बिकाससमा राम्रै परेको थियो ।

यहूदीहरुलाई त त्यहाँ पहिले दोश्रो ब्यवहार गरिन्थ्यो। ती परिवर्तन निकै महत्त्वपूर्ण थिए । यद्यपि हेनरिकको राष्ट्रबादले त्यो कुरा मन पराएन। किनकी, कार्ल माक्सका पिता हर्शलमा राष्ट्रप्रेम, प्रगतिशील आचरण, बौद्धिकता जस्ता तत्वहरु सङ्गसङ्गै उपस्थित थिए। उनको बुवामा भएका ती तत्व र क्रान्तिकारी स्वभावको प्रभाव कार्लको बिकाससमा राम्रै परेको थियो । कार्लमाक्सको बाल्यकालमा निकै प्रेरणादायी, उत्साहजनक, ममतापूर्ण र सुखद वातावरण थियो ।बुवाआमाको सुखद् दाम्पत्य जीवनले उनको बाल्यकाल पनि सम्पन्नतापूर्वक बित्यो। घरमा हजुरआमा, भाइबहिनी र बुवाआमा थिए । ती सबै मिलेर कार्लको भविष्यको मजबुत जग हालेका थिए ।

अत्यधिक सुख, सुबिधामा नानीबाबु बिग्रेका हुन्छन् भन्ने कुरा कार्लका बाआमा दुबैलाई राम्रोसँग थाहा थियो । माक्र्सलाई बाहिर पढ्न पठाउँदा यो कुरा र खर्च धेरै गर्नुहुन्न भन्ने कुरा राम्रोसँग काउन्सेलिङ्ग गरेर पठाइएको थियो । कार्लका बाआमा उनको भविष्यका बारेमा ज्यादै चिन्तित थिए। सम्पन्न परिबारका बच्चाहरु लक्ष्य र उद्देश्यबाट नभड्किओस् भन्ने उनीहरु चाहन्थे । कार्लमाक्र्सको उचित बिकासका लागि उनका बाबुआमा निकै सतर्क र प्रयासरत थिए । बाबुआमाको गाईडलाईनको भरपुर असर उनको ब्यक्तित्वमा परेको थियो।

माक्र्सको पढाइको आरम्भ त्रियेर नगरबाट नै भएको थियो। उनी बढी भन्दा बढी समय पढ्नमा लगाउथे। पठनपाठनबाहेक शारीरिक ब्यायाम आदिमा पनि माक्स सजग नै थिए। उनले शुरुका कक्षाहरु अपेक्षित सफलताका साथ पास भए। सन् १८३५ मा उनले आफ्नो शहरको पढाइ पूरा गरे। सन् १८३५ मा आफ्नो शहरको अध्ययन पूरा गरे। यी बर्षहरु जर्मनीको लागि धेरै महत्त्वपूर्ण थिए। सन् १८३० मा फ्रान्समा फेरि क्रान्ति भयो, जसको प्रभाव जर्मनीका रियासतहरुमाथि पनि पर्यो र बिद्रोह भड्कियो। उत्तर दक्षिणका रियासतहरुमा एकसाथ भड्किएका बिद्रोहले त्यहाँका शासकहरु डराएका थिए । उनीहरूले सन् १८१५ को उदार संविधान फेरि लागू गर्नुपर्यो। फलस्वरूप प्रशा जस्ता एक दुई रियासतहरुलाई छोडेर जर्मनीका सबै रियासतहरुमा कानुनी शासन स्थापित हुन सकेको थियो।

आर्थिक क्षेत्रमा प्रशाको नेतृत्वमा ब्यापार, ब्यवसायको दृष्टिबाट एक सङ्घ पहिल्यै बनेको थियो। पूजीबादको प्रचारप्रसार पनि त्यहाँ भैरहेकै थियो। यन्त्रहरुको प्रयोगले किसान र कालिगढहरु दिनदिनै बेरोजगार भैरहेका थिए । राजनीतिक क्षेत्रमा उदारबादको हावा चल्दै थियो तर ती सबै कुरा धेरै दिन टिक्न सकेनन् । तत्कालीन बेलामा अष्ट्रीयाका प्रधानमन्त्रीले सभा, भाषण, उत्तेजनापूर्ण र क्रान्तिकारी लेख लेख्ने कुरालाई कानून नै बनाएर दमन गरेका थिए । शैक्षिक संस्थाहरुमा निगरानी, दमन र कठोर नियन्त्रण गरिएको थियो। राष्ट्रियताको प्रचार गर्ने मानिसहरुलाई कठोर सजाय दिने, हजारौं देशभक्तहरुलाई देश निकाला गर्नेसम्मको दमन गरिएको थियो। निरङ्कुश मेटर्निखको आदेशमा उदारबादी संविधान निष्क्रिय पारिएको थियो । परिवर्तनकामी शक्तिहरुलाई दबाएर सिङ्गै जर्मनीमा तानाशाही ब्यवस्था लागू गरियो ।

ती सबै महत्त्वपूर्ण ऎतिहासिक घट्नाले किशोर माक्र्सको मन, मष्तिष्कमा पूरै असर गरेको थियोे । सन् १८३०,३५ सम्म कार्लमाक्सको शिक्षा त्रियेर नगरको उच्च माद्यामिक स्कुलमा भयो। त्यहाँ अध्ययन गर्दै आफ्नो अन्तिम परीक्षाका लागि ूब्यवसायको चयनमा एक तरुणको बिचारूनामक प्रसिद्द निबन्ध लेखे । जुन निबन्धमा उनको सोच, प्रतिभा, भावी आस्था र नविनतम बिचारका यथेष्ट सङ्केतहरु थिए। त्यो निबन्ध लेखनलाई कार्लले परीक्षा उत्तीर्णका लागि मात्र नभई धेरै जिम्मेवारी र गम्भीरतापूर्वक लिएका थिए । त्यो निबन्धमा उनले उल्लेख गरेका छन् कि, यदि यस्तो ब्यवसायको चयन गर्ने हो, जसको माध्यमबाट समग्र मानव जातिको व्यापक हित र भलाई गर्न सकिन्छ भने ब्यवसायको भारी तब अनुभव हुँदैन । बरु त्यो करोडौंसित जोडिएको हुन्छ।

यस प्रकार त्यो निबन्धले कार्लभित्र चलिरहेको उथलपुथल र त्यस्तो किशोर कार्लले सारा मानव समुदायको हितमा काम गर्ने दृढ ईच्छा शक्ति छ्याप्छ्याप्ति देख्न सकिन्थ्यो । स्कुल शिक्षा पूरा गरिसकेपछि कार्ल उच्च शिक्षाका लागि सन् १८३५ मा बोन बिश्वबिद्धालय भर्ना भए। वास्तवमा एक सफल पिता आफ्ना सन्तानलाई सफलताको सही बाटोमा नै हिडाउन चाहन्छ्न्, जुन बाबुमा ब्यावसायिक ज्ञान छ, त्यस्ता बाउहरु आफ्ना सन्तानलाई जोखिम बोक्न दिन चाहदैनन् । उनका बाबु छोरालाई पनि प्रतिष्ठापूर्ण वकिल बनाउन चाहथे। कार्ललाई कानून पढ्न बोन पठाइएको भएता पनि कानूनबाहेक उनको दोश्रो बिषय अर्थशास्त्र थियो। कार्लले पढ्न कानून पढे पनि त्यसमा उनको रुचि नै थिएन । उनी वकिल बन्न चाहदैन्थे । त्यो कुराको राम्रै छनक आफ्नो हाइस्कुलको निबन्धमा दिइसकेका थिए । माक्र्स यस्तो बिषय छनौट गर्न मन पराउथे, जससङ्ग व्यापक मानव हित र मुक्ति जोडिएको होस् ।

बोन बिश्वबिद्धालयमा पढाइको समयमा कार्ल निकै सक्रिय र ब्यस्त रहन्थे । बचेको समयमा अरु बिषयका किताब पनि पढ्थे।त्यसबाहेक बिश्वबिद्धालयमा समय समयमा आयोजित इतिहास, साहित्य, सौर्न्दर्य शास्त्र आदि बिषयको वर्णन पनि सुन्थे। त्यही समयमा कार्लको जेनीसित टिकाटालो भयो। जेनी एक सरल, सुन्दर र सम्भावनाहरुले भरिपूर्ण युवती थिइन् । जेनी एक अभिजात्य परिबारकी सन्तान र कार्लकी जेठी दिदी सोफीकी साथी थिइन् । राम्री, तीक्ष्ण बुद्धि र उदात्त बिचारकी उनीसँग कार्ल शुरुदेखि नै प्रभावित र लोभिएका थिए।

कार्लका बाबु हेनेरिक पनि त्यो नाताको बिरोधी थिए तर त्यो बिरोधको कारण अर्कै थियो। किनकि, उनी आफ्ना छोराका बिचार र लक्ष्यहरुबाट कार्लमाक्सको भाबी ब्यक्तिगत जीवन खतरनाक छ भन्ने अनुमान र आशङ्का गरिरहेका थिए ।

जेनी कार्लभन्दा ४ बर्ष जेठी भए पनि कार्लको प्रखर बौद्धिकता र बैचारिक स्पष्टताले कार्लसित प्रभावित नै थिइन् । उनीहरू दुबै जनाले एक अर्काको लागि सबैभन्दा उत्तम महसुस गरे । त्यो आबेग थिएन, बैचारिक रूपमा एक अर्कामा प्रतिबद्ध थिए। जेनीको पारिवारिक पृष्ठभूमि कार्लभन्दा धेरै धनी र माथिल्लो थियो । उनका हजुरबुबा फिलिप बेस्ट फालन बेलायतको अत्यन्तै कुलीन परिबारकी बिबाह भएका सैनिक मामिलामा बिशेष जानकार प्रधानसेनापति थिए।

जेनीका हजुरबुबाको प्रभाव जेनीका बाबुमा पनि थियो । जेनीका बाबु लुडबिङ्ग वेस्ट्बफालन हजुरबुबाकै प्रेरणाको कारण प्रशा सरकारका कैयौं महत्त्वपूर्ण पदमा रहे । प्रशा सरकारको गभर्नर पनि भए। गेटे र शेक्सपियरका साहित्यमा पनि जेनीका बाबू दखल राख्थे। कार्लले तिनीहरूबाट नै यूरोपियन समाजबादको परिचय प्राप्त गरेका थिए। कार्लमाक्स शुरुदेखि नै जेनीका बाबु लुडबिङ्गको ब्यक्तित्वबाट प्रभावित थिए। कार्लका बिचारहरुलाई पनि उनले चर्चा नै गर्थे।

आफ्नी छोरी जेनीसित ईङ्गेजमेण्ट भएता पनि लुडबिङ्ग किशोर कार्लभित्र अर्कै आगो सल्किन लागेको देखिरहेका र महसुस गरिरहेका थिए । तथापि त्यो आगो कम्जोर र सुरुवाती चरणमै भएको अनुमान गर्न गाह्रो थिएन। त्यही अनुमानको कारणले उनले आफ्नी छोरी जेनीसित कार्लको बिबाहको स्वीकृति दिए। तर, उनका धेरै नातेदारले त्यो नातालाई बेमेल सोचेका थिए । यस कारण त्यो टिकाटालाको बिरोध गरेका थिए । उनीहरूले कार्ललाई प्रत्येक दृष्टिले अयोग्य ठानेका थिए।

कार्लका बाबु हेनेरिक पनि त्यो नाताको बिरोधी थिए तर त्यो बिरोधको कारण अर्कै थियो। किनकि, उनी आफ्ना छोराका बिचार र लक्ष्यहरुबाट कार्लमाक्सको भाबी ब्यक्तिगत जीवन खतरनाक छ भन्ने अनुमान र आशङ्का गरिरहेका थिए । ती अनुमान सही पनि थिए। त्यस्तो अवस्थामा एक सम्भ्रान्त परिबारकी सुकुमार केटीलाई बुहारी बनाउदा बढी हुन्छ जस्तो लागेको थियो। तर पनि अन्ततः हर्शलले पनि त्यो नातालाई स्वीकार्नै पर्यो। जेनीलाई छनौट गर्नु सही रहेछ भन्ने ढिलै भए पनि उनले भेउ पाए।

यद्यपि ,टिकाटालो भएता पनि कार्लले पूरै ध्यान पढाइमा लगाउने, पढाइ पूरा नहुन्जेलसम्म जेनीसित भेटघाट हुन नदिने बाचा गराइयो। तर, जेनीका परिबारका सदस्यले अन्तिमसम्म त्यो नाताको बिरोध गरिरहे। बिरोध गर्ने काम, त्यसबेला झन् बढ्यो जुन बेला सरकारले माक्र्सलाई एक नम्बर शत्रुको रूपमा सूचना टास्यो र सरकारी जागिरको बाटो बन्द भयो। भविष्यका खतरापूर्ण अवस्थाको आङ्कलन गर्दै ईङ्गेजमेण्ट भङ्ग गर्ने सल्लाह दिइयो तर जेनीका बाउआमाले त्यो नाताको पक्षमा स्थायी मन बनाएका थिए । घात गरेनन् र नाता टुटेन। सन् १८४३ जून १९ मा उनीहरुको बिहे भयो।

बर्षभरि बोनमा पढिसकेपछि जब माक्र्स थप अध्ययनका लागि बर्लिन पुगे, उनले त्यो स्थान आफ्नो बहुआयामिक क्षमता बिकास गर्न ठीक माने। उनले त्यहाँ आफूलाई बढीभन्दा बढी सिक्ने, बुझ्ने काममा लगाए। बिश्वबिद्धालयमा दर्शन, इतिहास,कला र साहित्यमा थप ज्ञान हासिल गरिरहेकै थिए । अङ्ग्रेजी र ईटालियन भाषा पनि बराबर सिक्दै थिए। अध्ययन गरेका पुस्तकहरुको सार र महत्त्वपूर्ण उद्दरण जहिल्यै लेख्थे। त्यही समयमा उनले आफूलाई एक लेखक र कविका रूपमा आफ्नी जेनीको प्रेरणाले बिकास गरे।

जेनीप्रतिको अथाह र अबर्णित प्रेम र जेनीको अनुपस्थिति उनका गीतहरूमा व्यक्त भयो। ती कविता जेनीको मायाले सताएर सृजना भएकाले उनकै नाममा समर्पित गरिएका थिए। उनले ब्यङ्ग्यात्मक कविताहरु पनि लेखे। तर ,मुख्य कुरा सूक्ष्म अध्ययन र बिश्लेषणात्मक लेखहरु निरन्तर लेखे। अध्ययनको व्यग्र भोकले उनलाई अन्ततः हेगेलसम्म पुर्‍यायो। प्रशामा त्यस बेला हेगेलका बिचारहरुको चर्को दबदबा थियो। ती बिचारलाई सरकारी साथ पनि थियो ।माक्र्स पनि छिट्टै ती बिचारको प्रभाव क्षेत्रमा गए।

साहित्य ,कला र दर्शनको लत लागेको ब्यक्तिलाई कानूनको किताबमा मन लाग्ने कुरा भएन। उनी छिटो घर पुगेर बाउआमालाई भेटी आफूले चाहेको निर्णय लिन र अशान्त मनस्थितिलाई शान्त पार्न चाहन्थे। त्यही सन्दर्भमा उनले बाबुलाई चिट्ठी लेखे तर बाबुले उनलाई घर जाने अनुमति दिएनन् र पढाइ जारी राख्ने आदेश गरे। कार्लले त्यो आदेश पालन गरे। त्यही बेलामा उनका बाबु सिकिस्त बिरामी परे । सन् १८३८ मे १० मा मृत्यु भयो, जसले कार्ललाई ठूलो चोट पर्यो ।

हर्शल उनका पितामात्र थिएनन्ए, प्रेरणा र बैचारिक शक्तिका स्रोत थिए। जति बेला उनलाई ती प्रेरणापुन्ज र बैचारिक पथप्रदर्शनको ज्यादै आवश्यकता थियो, त्यही बेला बाबु गुमाए।यद्यपि कार्लले आफ्नो बिचारयात्रा निरन्तर जारी राखे। एकातर्फ माक्र्सले आफ्नो बिचारयात्राका सामग्री जुटाउदै थिए भने अर्कोतर्फ युरोपमा धेरै उथलपुथल र राजनीतिक हलचल भैरहेका थिए। बाफले चल्ने मेशिनहरुको तीव्र वृद्धिले पूजीबादको प्रसार र किसान अनि हस्तकलाकर्मी दिनहुँ बेरोजगार भैरहेका थिए। त्यसको असर सामन्ती उत्पादन सम्बन्धमा पर्नु स्वाभाविक नै थियो। ती सम्बन्धमा बिखण्डन र बिभाजन त्यससङ्गै शुरूवात भयो।

पूजीबादको विकासले मजदुर आन्दोलनको जन्म भयो। जर्मनीका ती सारा उथलपुथलसित अलगअलग रहनु माक्र्सका लागि सम्भव हुने कुरा थिएन । जहाँ सामन्ती र पूजीबादी दुबै किसिमका दबाबले एकैसाथ काम गरिरहेका थिए, त्यसको भित्रभित्रै बिरोध पनि हुन थालेको थियो। सामन्ती र पूजीबादी सोच, ब्यवहारको जसले बिरोध गरिरहेका थिए, प्रायः तिनीहरू सबै हेगेलका अनुयायी र सहयोगी थिए, जसले क्रान्ति चाहन्थे।कार्लमाक्सको सम्पर्क तिनै परिवर्तनकामी र हेगेलबादीसित भयो। कार्ल अझै त्यति बेलासम्म विद्यार्थी नै भए पनि दर्शनशास्त्रका धेरै ब्याख्याताहरु उनका साथी भए।

जेसुकै भएता पनि कार्लमाक्सको बिचारको बिकासयात्रामा हेगेलका बिचारहरुको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको छ। हेगेल आफैं नयाँ किसिमका बिचारक थिए। उनले नै पहिलोपटक ूप्रकृति र समाज दुबैको बिकास कहिल्यै पनि दिशाहीन हुँदैन, यिनीहरूको एक निश्चित बिकास प्रक्रिया हुने गर्दछ, यो प्रक्रिया आफ्ना केही नियमहरुसित बाधिएको हुन्छ भन्ने कुरा प्रतिपादित गरेका थिए।

एकातर्फ माक्र्सले आफ्नो बिचारयात्राका सामग्री जुटाउदै थिए भने अर्कोतर्फ युरोपमा धेरै उथलपुथल र राजनीतिक हलचल भैरहेका थिए। बाफले चल्ने मेशिनहरुको तीव्र वृद्धिले पूजीबादको प्रसार र किसान अनि हस्तकलाकर्मी दिनहुँ बेरोजगार भैरहेका थिए।

हेगेलले बिकास प्रक्रियाभित्र काम गरिरहेका ती नियम पत्ता लगाउन कोसिस गरे। उनी कुनै पनि घट्नालाई काटेर वा सबैबाट अलगअलग गरेर हेर्दैन्थे। हेगेल त्यस घट्नालाई त्यसको उत्त्पति, बिकास र बिनासको दृष्टिले हेर्थे र बुझ्थे। उनको त्यही पद्धति द्वन्द्वात्मक पद्धतिको रूपमा बिश्वभरि स्थापित छ। हेगेलको त्यो पद्धति निकै महत्त्वपूर्ण र बैज्ञानिक थियो । तर पनि ,त्यो पद्धतिको प्रयोग गरेर समाजको पूरै प्रक्रियालाई बुझ्ने काम गर्न हेगेलले सकेनन् र उनका लागि त्यति सम्भव पनि थिएन ।

उनको राजतन्त्रमा आस्थाका कारणले। हेगेलमा भएको केही पूर्वाग्रह र गलत निष्ठाले गर्दा बितेको समयको बिकासलाई बुझ्न , बुझाउनको लागि त गरे तर आफ्ना वर्तमान अवस्थामा त्यसलाई लागू गरेनन् । यद्यपि हेगेलले त्यस्तो गर्न सक्थे, गर्नुपनि पर्थ्यो, उनले गरेनन् किनकि उनी राजतन्त्रबादी थिए ।

उनले समाज ब्यवस्थाको बिकासक्रममा राजतन्त्र विकास प्रक्रियाबाट प्राप्त सबैभन्दा राम्रो शासन ब्यवस्था हो र त्यो ब्यवस्थालाई जोगाइराख्नु पर्छ भन्ने सार निकाले। राजतन्त्रप्रति हेगेलको त्यो नीजि अन्धबिश्वास उनको अध्ययनक्रमको सबैभन्दा ठूलो अवरोध बन्यो। अर्कोतिर ,हेगेलबादको प्रयोग राजाबादीहरुले आफ्नो हकमा गरे । हेगेलको त्यो मान्यताबाट राजतन्त्रबादीहरुलाई सबैभन्दा ठूलो राहत मिल्यो । त्यही सहाराले राजतन्त्रका थुप्रै बिकृतिबिसङ्गतिलाई लुकाउने काम गरे। त्यस कारण हेगेलको दर्शनलाई प्रशामा जतन भयो र हेगेलबादीहरुलाई ठूल्ठूला सरकारी नियुक्तिहरु दिए।

हेगेलका बिचारको अर्को एक आधारभूत कमजोरी पनि थियो, प्रकृतिलाई उनले मानिसको चेतनाको अधीन मान्थे अर्थात प्रकृति दोश्रो र चेतना प्रधान । त्यही बिषयमा कार्लमाक्सले उनलाई टाउकोको बलमा उभिएको भनेका थिए अर्थात मानिसले खुट्टाले टेक्ने हैन, टाउकाले अडिएको हो। यद्यपि हेगेलको त्यो दृष्टि महत्त्वपूर्ण त थियो, जसले मानव जातिको इतिहास र उसको बिकासक्रमलाई द्वन्द्वात्मक आधारमा बुझ्ने बुझाउने कोसिस गर्थ्यो। कार्लमाक्सका लागि त्यही दृष्टि नै सबैभन्दा बढी महत्वको थियो। वास्तवमा कार्लमाक्स समाज, ईतिहास, अर्थतन्त्र आदिको गतिशीलतालाई बुझ्न त चाहन्थे तर कसरी बुझ्ने खास सूत्र मिलेको थिएन ।

हेगेलको द्वन्द्वात्मक पद्धतिको रूपमा उनलाई त्यो सूत्र प्राप्त भयो, जसको सफल प्रयोग गरेर नै उनले इतिहासको अन्धकारलाई सूक्ष्म अध्ययन गर्न सके । माक्र्सले आफ्नो दर्शनको पूरै भवन स्थापना गर्न सके। यस अर्थमा माक्र्सका लागि हेगेलका बिचारहरु सबैभन्दा ज्यादा उपयोगी भए।
कार्लमाक्स तीक्ष्ण बुद्दी र मष्तिष्कका त थिए नै, सबै वस्तुलाई तिनीहरुको पिधसम्म पुगेर हेर्ने, बुझ्ने प्रतिभा पनि उनमा थियो । जसले गर्दा कार्ल हेगेलपन्थीहरुका डाक्टर क्लबका महत्त्वपूर्ण सदस्य बने, जहाँ उनको ज्यादै ठूलो इज्जत थियो।

हेगेलको त्यो पद्धति निकै महत्त्वपूर्ण र बैज्ञानिक थियो । तर पनि ,त्यो पद्धतिको प्रयोग गरेर समाजको पूरै प्रक्रियालाई बुझ्ने काम गर्न हेगेलले सकेनन् र उनका लागि त्यति सम्भव पनि थिएन ।

कार्लले डेमोक्रीट्स र एपिक्यूचरसका प्रकृति दर्शनहरुमा फरक बिषयमा विद्यावारिधी हासिल गरे। आफ्नो शोधको बिषय पनि कार्लले ती दर्शनहरुको प्रतिनिधि दार्शनिकहरुलाई बनाए। तर, एपिक्यूरसका बिचार धर्म र अन्धबिश्वासहरुको विरुद्धमा थिए।दार्शनिक एपिक्यूरसले धर्म र अन्धबिश्वासको विरुद्ध ठूलै संघर्ष पनि गरेका थिए। तर, हेगेलले ती कुराहरू कहिल्यै मन पराएनन्। यद्यपि ती बिचार र संघर्षले माक्र्सलाई धेरै बैचारिक उर्जा प्रदान गरेको थियो। अर्कोतर्फ दार्शनिक डेमोक्रीयट्सको दर्शन भौतिकबादी थियो । उनले प्रत्येक घट्नाको आफ्नै एक कारण हुन्छ भन्ने मान्थे र प्रत्येक वस्तु अन्तमा समाप्त हुन्छ,व स्तुहरुले मात्र आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ्न् भन्ने पनि उनको मान्यता थियो।

कार्लमाक्सको बिचारयात्रामा उनको त्यो शोधग्रन्थको ठूलो भूमिका रह्यो। प्रशा सरकार निरङ्कुश राजतन्त्रात्मक थियो ।त्यसको अतिरिक्त धार्मिक र अनुदारबादी थियो। त्यस्तो अवस्था मा माक्र्सका ती बिचारको बिरोध स्वाभाविक रुपले भयो। माक्र्सलाई उनको सोधग्रन्थमाथि निषेध हुन्छ कि भन्ने डर थियो।त्यसैले उनले आफ्नो शोधग्रन्थ बोन बिश्वबिद्धालयलाई दाखिला नगरी सन् १८४१ अप्रिलमा जोन बिश्वबिद्धालयमा गरे। उनी प्रशा सरकारका कडा निशानीमा परे।

आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ कार्ल मार्क्सले सन् १८४८ मा २९ वर्षको उमेरमै फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखेका थिए । यो त्यस्तो दस्तावेज हो, जुन संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको छ । राजनीतिक क्षेत्रमा एक किसिमको हलचल नै ल्याइदिएको त्यो घोषणापत्रले खासगरी पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित समाजको निर्माण कसरी सम्भव हुन्छ भन्ने कुरा उल्लेख छ।

डिसेम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्स रूघाखोकीबाट ग्रस्त भएका थिए । त्यसले बिस्तारै ब्रोन्क्राइटिस्ट्को ‍रूप लिएपछि १५ महिना अस्वस्थ भई उनलाई हामीले गुमायौ । १४ मार्च १८८३ को दिन लन्डनमा उनको देहावसान भयो।

सारा मानव जातिका मुक्तिका योजनाकार महान दार्शनिक कार्लमाक्सको २०२ औं जन्मजयन्तीको सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली !

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।