यतिखेर चलिरहेछ विश्वभर
नयाँ कोरोना–सत्ता !
इतिहासका कुनै सम्राटको पहुँच नपुगेको
वर्तमानका कुनै राज्यसत्ताले कब्जा गर्न नभ्याएको
पूरै विश्व
कब्जा जमाइरहेछ यतिखेर
नयाँ कोरोनाले
र, सङ्घर्ष गर्दैछ उसका विरुद्ध
सिङ्गो मानव–सत्ता
संपूर्ण राज्य–सत्ता !
राज्यसत्ता भोग्दै आएकी
मेरी सानी छोरी सोध्छे—
बाबा ! के फरक छ
कोरोना–सत्ता र राज्यसत्तामा ?
उम्कन नसकेपछि उसको प्रश्नबाट
टार्न नसकेपछि उसको जिद्दीलाई
सुस्तरी भन्छु म—
हेर्दा उस्तै–उस्तै लाग्छ छोरी, तर
धेरै फरक छ यी दुईको सत्तामा !
विभेद गर्दैन कोरोना सत्ता
सम्राट र सडक–छाप मानिसमा
रङ्गभेद, जातिभेद, लिङ्गभेद र वर्गभेद
केही जान्दैन, केही मान्दैन ऊ
बिगारिदिएपछि पृथ्वीको पर्यावरण
बिथोलिदिएपछि उसको बासस्थान
अस्तित्व नै लुट्न खोजिएपछि पृथ्वीको
छट्पटाउँदै बाहिर निस्केको हो ऊ
ठाउँ नपाएपछि कतैतिर
कहालिएर भागेको हो मानिसको शरीरतिर !
मात्र बास खोजेको हो शरणार्थी भएर
बाँच्ने आश खोजेको हो परजीवी भएर
ऊ डाकेरै आएको हो मानिसले
जगाउँदै उठाएको हो मानव सत्ताले !
तर, अस्थायी हुन्छ उसको सत्ता
केही महिना, वर्षमा ढलेर जान्छ
केही हजार, लाखलाई मारेर जान्छ
विजयी हुन्छ मानव सभ्यता
तङ्ग्रिन पुग्छ राज्यसत्ता
यसैले, छोरी
उसित डराउनु पर्दैन धेरै
मात्र सचेत बने पुग्छ
मात्र अनुशासित बने पुग्छ ।
तर, बढि घातक छ छोरी !
स्थायी प्रकृतिको राज्यसत्ता
लुटेर नपुगी
एक प्रतिशत मान्छेले उनानसय प्रतिशतलाई
अस्तित्व नै मेटेर नपुगी
सत्तरी प्रतिशत जीव–जन्तुको
समाप्त पार्न थालेपछि पृथ्वीको भविष्य
ऊ खबरदारी गर्न आएको हो
ऊ मानिसलाई सवक सिकाउन आएको हो
यसैले, छोरी !
कोरोनाभन्दा घातक र विभेदकारी छ मान्छेको सत्ता
कोरोनाभन्दा अत्याचारी र आतङ्कारी छ राज्यसत्ता
हामीसँग कर उठाउँछ
अनि, हामीलाई नै मार्न हतियार बनाउँछ
धेरैलाई सोस्दै आफूलाई पोस्छ
आफैंले कानुन बनाउँछ
अनि, त्यसैको अस्त्र देखाई
अरुको अधिकार खोस्छ
अरुको खुसी निचोर्दै त्यसको रस पिउँछ !
सत्ता–अहङ्कार बढेर
शक्ति–उन्माद चुलिएपछि
करोडौं मानिसलाई युद्धमा धकेली
सुरसाको मुख बाउँदै
लाखौंलाई एकै गास बनाउँछ, अनि
ठाउँ र मौसम अनुसार रूप फेर्दै
कहिले–कतै नरम र उदार भएको देखाउँछ ।
छोरी बीचैमा सोध्छे—
किन चाहियो त बाबा यस्तो राज्यसत्ता ?
के फरक पर्छ मानिसलाई यो नभएर ?
के फरक पर्छ अरू जीवजन्तुलाई ?
के फरक पर्छ पृथ्वी र यसको भविष्यलाई ?
म सुस्तरी भन्छु—
हो छोरी, आवश्यक छैन यस्तो राज्यसत्ताको
आवश्यक छैन यस्तो संहारकारी विश्वव्यवस्थाको
तर, बाहिर भन्नुहुँदैन छोरी
तिम्रो टाउकोमा सत्ताको लाठी बज्रिने छ
मेरो छातीमा सत्ताको गोली दागिने छ
चूप लाग छोरी, धेरै बोल्नुहुँदेन
तर, बुझिराख !
कोरोना–सत्ताभन्दा घातक हुन्छ सत्ता–कोरोना !
भाइरस जीवाणुभन्दा घातक हुन्छ दाइरस विषाणु !




