बन्दाबन्दी कविता : सर्वश्रेष्ठ मान्छे

रिसाइन् धेरै प्रकृति आमा
सर्वश्रेष्ठ मान्छे पर्यो पिंजडामा
यो सृष्टि, सत्ता भन्थ्यो मेरै हो
अहंकार, घमण्ड, दम्भ तोडियो ।

मुठ्ठीमा छ भन्थ्यो धर्ती र आकाश
विज्ञानलाई पनि गर्दियो उपहास
नपुगेर धर्तीले पुग्यो चन्द्रमामा
आज त्यही मान्छे पर्यो पिंजडामा ।

बुझेन कि मान्छेले साझा हो व्राह्मण्ड
आफैंमात्र एक्लै नाच्यो मदमस्त
ठूलो त्रास, भय छ मान्छेको बीचमा
अहो कति निरीह देखियो धरामा ।

सृष्टिको नि आफ्नै विधान हुन्छ
छन्द अनि लयमा यो घुमिरहन्छ
विज्ञान र ज्ञानको मिलेन कि सूत्र
भत्क्यो कि समभाव प्रकृतिभित्र ?

यति सानो आज किटाणुले मार्यो
जगत् सारा आँसु शोकमा पार्यो
कहाँबाट कसरी यो पापी निस्क्यो ?
भूगोलको साँध, सीमाना भत्क्यो ।

विश्वलाई धर्काइ डुल्दै छ घाती
को ठूलो, को सानो बाँकी नराखी
झुपडी र महल भनेन यसले
धनी, शक्तिशाली गनेन यसले ।

के गर्यो खै अस्त्र, यान, रकेटले
स्तब्ध बनायो एउटा भाइरसले
न देख्नु, न छेक्नु, नसमाउनु यसलाई ?
न हात, हतियार देखाउनु यसलाई ।

न गोला, बारुद, न बाँण, बमले
डर्दैन रत्ति यो कसैको हुँकारले
फैलिन्छ छिनमै डढेलो सरि
बाच्छौं, बचाउँछौं भई होसियारी ।

उपाय छ एउटै, घरभित्र रमाई
प्राकृतिक खाना, खजाना खाई
आत्मबल, विचारले उज्यालो छरी
हार्दैनौं, जित्छौं तर पनि फेरि ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।