बालकथा : निरुपा र प्रसून

निरुपा र प्रसुन घरमै बसेको पनि दुई महिना पुग्नै आँट्यो । यस बीचमा न मामाघर जान पाए, न बजार जान पाए न घुम्न कतै जान पाए । न त परीक्षाको नतिजा नै जान्न पाए । निरुपा र प्रसुन घर बसेर दिक्क भइ सकेका छन् ।

प्रसुन भन्छ, “दिदी ! कति हेर्नू के टि भि ? कति खेल्नु मोबाइलमा गेम ? मलाई त दिक्क लागिसक्यो भन्या । आमालाई भनेर बाहिर जाऊँ न खेल्न ।निरुता, सविन, सकिलहरूलाई पनि बोलाऊँ ।”

“हुँदैन के भाइ बाहिर जान, आमाले काहाँ जान दिनु हुन्छ त ? खै तिमीले कुरा बुझ्या ?” निरुपा भाइलाई सम्झाउँदै भन्छे ।

“तै पनि म आमासँग एकचोटि कुरा गरि हेर्छु पख्नु ।” प्रसुनले दिदीको कुरा काट्दै भन्यो र आमालाई बोलायो । “आमा ! मेरो कुरा सुन्नु न ।हामीलाई घरमात्र बस्दा बस्दा बोर लाग्यो ।एकछिन बाहिर गएर खेल्छौँ नि ।”

“हैन के भन्छ यो ?, निरुपाले उक्साएकी होली नि भाइलाई ।” आमाले निरुपातिर लक्षित गरेर भन्नुभयो ।

यो सुनेर निरुपाले ठुस्किँदै भनी, “खाली आमाले मलाई मात्र दोष दिनु हुन्छ के भन्या । काँ मैले बाहिर जाऊँ भने त ? कुरै नबुझी बोल्नुहुन्छ ।”

“हैन तिमी ठुली मान्छे भाइलाई सम्झाउनु पर्छ क्या ।उक्सायौ कि भनेर नि,” आमाले निरुपालाई सुम्सुम्याउँदै भन्नुभयो ।
“किन र आमा घरभित्रै बस्नु परेको ? स्कुल पनि बन्द ,के भएको यो ?, “प्रसुन दिक्क मान्दै सोध्छ ।

आमाले सिलौटोमा मसला पिस्दै भन्नुभयो ,”अहिले संसारभरि कोरोना भाइरस महामारीको रुपमा फैलिएको छ । त्यसले संसारभरि नै दुई लाखभन्दा बढी मानिसहरूको ज्यान लिइसक्यो । थुप्रै मानिसहरू कोरोना संक्रमित छन् । यो रोग एकअर्काबाट सर्ने भएकोले संसारभर लकडाउन गरिएको छ । त्यसैले संसारका सबै मानिस सबै कामधन्दा छोडेर आफ्नो आफ्नो घरमा बसेका छन् । जसरी तिम्रा बाबा पनि पसल बन्द गरेर घरमै बस्नु भएको छ । यसो गर्दा आफू सुरक्षित भइन्छ । रोग लाग्नबाट बचिन्छ ।”

“ए—- ! बल्ल कुरो बुझेँ ।” प्रसुनले आमाको कुरो सुनेर सहमति जनायो ।

“घरभित्र बसेर हामी कसरी सुरक्षित भइन्छ त आमा ?” निरुपाले अझ जिज्ञासा राखी ।

“यो रोग स्वासप्रस्वासको माध्यमले एकअर्कामा सर्ने भएकोले भिडभाडमा जान हुँदैन । भिडभाडमा नगई घरमै बसेपछि सुरक्षित भइँदैन त ? खोक्दा,हाँच्छ्युँ गर्दा नाक,मुख नछोपे त्यही छिटाले अर्को व्यक्तिमा किटाणु सर्छ नि ।त्यसैले माक्स लागाएर हिँड्नु पर्छ , बाहिर जानै पर्दा । एकअर्कासँग दुई मिटरको दूरी कायम गर्नु पर्छ ।” आमाले छर्लङ्ग पारिदिनु भयो ।

“ए ! बुझेँ बुझेँ ।” भन्दै दुबैले टाउको हल्लाए ।

“पसल खुलेको छैन है आमा ?” प्रसुनले सोध्यो ।

“छैन बाबु पसल खुलेको छैन । गाडी चलेको छैन । आमाले भन्नुभयो ।

“मलाई चाउचाउ खान मन थियो । दिनदिनै जाउलो ,रोटी ,मकै खाँदाखाँदा दिक्क लाग्यो ।” प्रसुनले मनको कुरा खोल्यो आमासँग ।

“अँ ठिक्क पर्यो । खुच्चिङ खुच्चिङ ।” गर्दै निरुपाले प्रसुनलाई गिज्याई । प्रसुन रुन थाल्यो ।

आमाले दुवैलाई सम्झाउँदै भन्नुभयो – “हेर ! मेरा ज्ञानी नानीबाबु ! आमालाई यसरी दु:ख दिनु हुँदैन ।तिमीहरू रमाएर , हाँसेर खेले पो आमाको मन रमाउँछ । एक अर्कासँग झगडा गरे कसरी रमाउँछ आमाको मन, भन त ? तिमीले चाउचाउ खान छोडेर कति फाइदा भएको छ भन त आफै ।” “पेट दुख्न छोडेको छ । खाना रुचि हुन थालेको छ ।मोटाएर राताराता गाला भएको छ,”, प्रसुनले हाँस्दै भन्यो ।

अनि मिठाई खान छोडेकोले दाँत राम्रा भएका छन् ।कीराले सताउन पनि छोडेको छ । होइन त भाइ ?” निरुपाले भाइलाई सोधी ।

“हो — यतिका धेरै फाइदा हुने कुरा खान छोडेर अबदेखि त्यो चाउचाउ खाने त ?” आमाले सोध्नु भयो ।

“नाइँ नखाने । दाँत दुखेको , पेट दुखेको त मैले काहाँ बिर्सेको छु र ?” प्रसुनले पहिलेका कुरा सम्झँदै भन्यो ।

” आमा आज हामी खीर खाने है । भोलि चाहिँ लट्टे खाने ।” निरुपाले आमालाई सम्झाई ।

ल ल ! भन्दै आमा भान्छातिर जानुभयो । प्रसुन चित्र बनाउन लाग्यो । निरुपाले भने किट्टीको कथा पढेर सुनाउन थाली ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।