लघुकथा: हाँसो दिवस

आज बिहान उठ्ने बित्तिकै आँखा मिच्दै बाहिर निस्किएँ । एकैछिनमा एउटा कोलाहल जस्तो आवाज सुनियो। “के को आवाज होला यो ! यता आएर सुन्नुस् त सानेको बा !” भन्दै बुढालाई बोलाएँ । दुबैले त्यो आवाज सुन्यौं ।

झन् झन् ठूलो स्वरले सुनिंदै आयो। एकैछिनमा आवाज सँगसँगै र्‍याली पनि देखियो। त्यो आवाजका शब्दमा के भनेको रहेछ भनेर कान ठाडा पारेर सुन्यौं । केवल ” हा हा हा हा ” बाहेक अरु शब्द सुनिएकै थिएन। लिडरले ” हा हा हा हा ” गरेपछि अरु लाईनमा हिँडेकाले पनि “हा हा हा हा ” गर्दै हिंडेका थिए। त्यो देखेर ” कस्तो खालको आन्दोलन होला ?, के को आन्दोलन होला ?” भन्ने सोचेर कुरा नबुझी सानेको बा र म पनि मुर्छा परेर हाँस्यौं।

हिजो राती “साथीको घरमा सुत्न जान्छु , भोलि बिहानै आउँला है! ” भन्दै गएको साने छोरो पनि ” हा हा हा हा” गर्दैआइपुग्यो। “के भयो तँलाई ? सन्चै त छस् । कति हा हा हा हा गरेको ? ” मैले सानेलाई सोधें ।

सानेले तान्दै बाहिर ल्यायो। उत्तिखेरै फेरि म र सानेको बा पनि बाहिर आएर कुरै नबुझी त्यही हाँसो दोहोर्‍यायौं। बाहिर हिंडेका अरु मान्छे पनि हामीलाई हेर्दै “हा हा हा हा ” गरेर नै हिंडेका थिए ।

” छिटो भन किन हाँसिस् ?” सानेलाई हाँस्दै सोधें । उसले भन्यो -” हजुरहरु के बुझेर हाँस्नुभएको हो त ?” मैले भने तँ हाँसेको देखेर हाँसेको ।” सानेले मेरो कुरा सुनेर फेरि हामीलाई कोठाभित्र लग्यो हाँसो बल्ल रोक्यौं।

अनि उसले फेरि भन्यो -” हेर्नुस् बुवा आमा ! आज त हाँसो दिवस रहेछ । यस्तो कोरोना भय र लकडाउनको बेलामा धेरैको मन दुखी भएकोले सरकारले आ आफ्नो वडाका अध्यक्षलाई आजको दिनमा बेलाबेलामा “लाफिङ ग्यास” छर्कने आदेश दिएको थियो। त्यसैको असर हो यो । तर बाहिर छर्किएको हुनाले घरभित्र भने यसले काम गर्दैन। “

छोराका कुरा सुनेर हामी फेरि बाहिर आयौं नभन्दै बाहिर आउँदा हामी तीनैजनाले हाँसो रोक्न सकेनौं।”