विश्वको शक्तिशाली राष्ट्रको रुपमा स्थापित भएको चीनको बुहान सहरबाट सुरु भएको कोराना भाइरसका कारणले अहिले विश्व नै आक्रान्त भएको छ। विश्वका अधिकांश देश यसको सिकार भएका छन्। कोभिड १९ ले साना, ठूला कुनै देश वा भौगोलिक हिसाबले छुट्टाएको छ, न कुनै आर्थिक हिसाबले। विश्व नै ध्वस्त बनाउने अस्त्र निर्माण गर्न सक्ने शक्तिशाली देशहरु पनि कोरोना भाइरसका कारण त्रसित भइरहेको अवस्था छ।
दिनानुदिन यसका सङक्रमित बढ्दो क्रममा छन्। यो लेख तयार पार्दासम्म कोरोना भाइरस संक्रमितको सङ्ख्या कबिर साढे ३३ लाख छ । कोरोनाकै कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ३७ हजारभन्दा बढी छ । यससँगै सन्चो हुनेको करिब पौने ११ लाख छन् । विश्वको जनसंख्या र मृतकको सङ्ख्या हेर्दा कोरोना लाग्दैमा मरिहालिदैन भन्ने आशा पनि पलाउँछ ।
यसका कारणबाट मृतकको दर करिब २ प्रतिशत छ। मृत्यु हुनेको सङ्ख्या २ लाख कटेपछि कोरोनाको डाटा हेर्दा मृत्युभन्दा पनि संक्रमित र सन्चो हुनेको डाटा हेर्ने म जस्तै धेरै होलान् भन्ने लाग्छ। शक्तिशाली राष्ट्रहरु रातदिन नभनी यसको औषधी र खोपको अनुसन्धानमा जुटिरहेको खबर सुन्दा धेरैलाई खुसी लाग्छ।
उत्पादित खोप परीक्षण गर्दा सफल भएन भन्ने खबर सुन्दा निराश भएको अनुभव पनि हुन्छ । विश्व नै यति बेला लकडाउनको अवस्थामा छ। पटक पटक गरी लकडाउन लम्बिएको छ। यो अवस्था हामीले बिगत डेढ महिनाबाट भोगिरहेका छौ। विश्व नै सम्पूर्ण काम छोडेर आफ्ना नागरिकलाई बाँच्न र बचाउनतर्फ केन्द्रीत छ।
हालसम्म नेपालमा कसैको मृत्यु भएको छैन। संक्रमितमध्ये अधिकांश विदेशी र विदेशबाट हालै नेपाल आएकाहरु छन्।
कोरोना भाइरसले धनी, गरिब र पहुँचको आधारमा पनि कसैलाई छुट्टाएको छैन । सबै वर्ग, भूगोल यसको पीडामा परेका छन् । शक्तिशाली राष्ट्रका कार्यकारी अधिकार पाएकाहरुकै मृत्यु र संक्रमण भएका घटनाले यो कुरा झन् पुष्टि गरेको छ। विश्व स्वास्थ्य संगठनले पनि यसको निराकरणका लागि विभिन्न काम गरिरहेको हामी सुनिरहेका छौ। विश्वमा त्रास फैलिरहदा हाम्रो देश नेपाल पनि अछुतो छैन। हामीलाई पनि कोरोना भाइरसले त्रसित बनाएको छ।
हालसम्म नेपालमा ५९ जना संक्रमित भेटिएका छन्। तीमध्ये १६ जना सन्चो भएर घर फर्किएका छन्। अरु बिरामी विभिन्न अस्पतालमा उपचारका क्रममा छन्। सुखद कुरा के छ भने हालसम्म नेपालमा कसैको मृत्यु भएको छैन। संक्रमितमध्ये अधिकांश विदेशी र विदेशबाट हालै नेपाल आएकाहरु छन्। नेपालमा कोरोनाको दोस्रो चरणमा प्रवेश भनिएता पनि स्थिति नियन्त्रण बाहिर छैन । यो हाम्रो लागि खुसीको खबर हो।
यस अर्थमा हामी भाग्यमानी मान्नुपर्छ । यिनै यावत् कारणले गर्दा डब्लुएचओले नेपाललाई खतराको सूचीबाट हटाएको छ। अहिले नेपालमा वैशाख २५ सम्मका लागि लकडाउन गरिएको छ । हामी हाम्रा यावत् कुरालाई छोडेर जहाँ छौं, त्यही थुनिएका छौं ।
सरकारले बेलैमा अन्तर्राष्ट्रिय उडान बन्द गरेर संक्रमणको अवस्थाबाट नेपाललाई बचाएको छ। तत्काल भारतीय नाकामा पनि कडाइ गरेको गरियो । त्यसबाट पनि हामी धेरै जोखिमपूर्ण अबस्थामाबाट जोगिएका हौ जस्तो लाग्छ। हाम्रो देश अल्पविकसित मुलुक हो। बाँच्नैका लागि छिमेकीसँग भर पर्नुपर्ने हाम्रो मुलुकमा भारतीय सीमा बन्द गर्नु सहज होइन । हामीलाई चाहिने सामानमात्र देउ, मानिस आवातजावत बन्द गर भन्नू पनि असहज भएको स्थितिमा सरकारले सिमाना कडाइ गर्नु ज्यादै कठिन काम हो । यो काम सरकारले गरेकोमा धन्यवाद दिन आवश्यक छ।
२०७६ चैत ११ देखि सुरु भएको यो लकडाउन वैशाख २५ सम्म लम्बिदा यहाँ हरेक क्षेत्र अस्तव्यस्त हुँदै गएका छन् । यसबाट देशले धेरै आर्थिक क्षति बेहोर्नुपर्ने विभिन्न अनुसन्धानले देखाएको छ।लकडाउनमा पीडित मजदुर विपन्न वर्गलाई सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर राहतका कार्यक्रम ल्याएर कार्यान्वयन गरेको छ । यो सकारात्मक पक्ष हो। तर अब पनि लकडाउन बढ्ने हो भने मजदुरलाई मात्र हैन, मध्यम वर्गलाई पनि समस्या पर्ने छ ।
लकडाउनलाई यही स्वरुपमा अझै निरन्तरता दिने हो भने खेतीपाती, विकास, निर्माण र आपूर्ति व्यवस्था सबैमा धक्का पुग्नेछ । यसबाट उत्पन्न हुने परिस्थिति नियन्त्रण हाम्रो बसमा हुने छैन ।
निम्न वर्गमा मध्यम वर्ग पनि थपिएपछि स्थिति नियन्त्रण गर्न कठिन हुनेछ । त्यसले गर्दा अब लकडाउनको मोडेल परिवर्तन गर्न जरुरी छ। नेपालको पूर्व र पश्चिमी भेगमा मात्र संक्रमण देखिएको छ । त्यहाँ जिल्ला र प्रदेशका नाका आवश्यकता अनुसार कडाइ गर्नु पर्छ । संक्रमण देखिएका क्षेत्रलाई सिल गरी सबैलाई सुरक्षित गर्ने उपाय अबलम्बन गर्नुको विकल्प छैन । संक्रमण नदेखिएका प्रदेश र जिल्लामा लकडाउनको मोडेल परिवर्तन जरुरी छ । स्कुल, कलेज, मेला, महोत्सव जस्ता भिडभाड हुने स्थान बन्द गरे पनि अत्यावश्यक काम र अर्थेपार्जनका काम सुरुवात गरी नागरिकलाई विस्तारै दैनिक जीवनमा फर्काउनु पर्छ ।
लकडाउनलाई यही स्वरुपमा अझै निरन्तरता दिने हो भने खेतीपाती, विकास, निर्माण र आपूर्ति व्यवस्था सबैमा धक्का पुग्नेछ । यसबाट उत्पन्न हुने परिस्थिति नियन्त्रण हाम्रो बसमा हुने छैन । सजग बनौं तर आत्मनिर्भर बन्ने बाटो खोजौं । यो बेलामा बाँझा जमिनहरुको उपयोग, खेतीपाती र व्यवसायिक कृषिका लागि सरकारले प्रोत्साहन गर्नु जरुरी छ । सचेत नागरिकले पनि आत्मनिर्भर नभए कुनै पनि बेला आउने संकटले हामीलाई आहत बनाउन सक्ने सत्य बुझेर यसका लागि योगदान गर्नुपर्छ ।
हामी नागरिक पनि कोरोना भाइरसको जोखिमपूर्ण स्थिति सामान्य नहुँदासम्म अत्यावश्यकबाहेक अरु कामका लागि घरबाहिर निस्कनु हुँदैन । जबसम्म खोप र औषधि बन्दैनन्, तबसम्म कोरोना भाइरस विश्वबाटै नियन्त्रण हुन कठिन छ ।
के त्यो बेलासम्म लकडाउन सम्भव छ ?
छैन ।
त्यसैले संक्रमण नभएका ठाउँमा विकास, निर्माण खेतीपातीका काम सञ्चालन गर्नुपर्छ । यो समयमा संक्रमणको जोखिमबाट बाच्दै आत्मनिर्भर अर्थतन्त्र बनाउन योगदान गर्नु नागरिकको कर्तव्य हो भने यसका लागि सघाउनु राज्य सञ्चालकको प्राथमिक दायित्व हो । सबैले दायित्व पूरा गरौं । यसैमा हाम्रो भलाइ छ ।









