घडेरी : चार आना कि चार हात ?

सुन साँइली, साँइली परदेशबाट म आउँला
सुन साँइली, साँइली चालिस कटेसी रमाउँला

यही गीत सम्झिँदै एक जना साथीले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए, ‘खै चालीस पुग्नै लागियो रमाउने त कहिले हो कुन्नि , कमाउन बल्ल विदेश आइएको छ ।’

कमेन्टमा लेख्न मन थियो, विदेश पसेका सबै कमाएर रमाउन पाएका छन् र ? तर लेखिनँ । कारण सामाजिक सञ्जालमा विदेशिँदाका खुसी प्रकट गरे पनि व्यक्तिगत कुराकानीमा पीडा पोख्ने साथीहरूका अनुहार स्मृतिमा थिए । ती साथीहरू कोही रहर, त कोही बाध्यताले विदेशिएका छन् । विदेशको दुखलाई विर्सेर स्वदेशमा घर घडेरी किन्ने सपना बुनेका छन् ।

संवत् ५० को दशकदेखि वैदेशिक रोजगारी र शिक्षाले नेपाली युवालाई सर्लक्कै निल्न थाल्यो । जब विश्वव्यापी आर्थिक नीतिमा परिवर्तन आयो, देशमा जारी शसस्त्र द्वन्द्व, बढ्दो महंगी, शैक्षिक बेरोजगारी जस्ता समस्याले देश आक्रान्त बन्यो । तब त देश छाड्ने युवाको घुइँचो बढ्न थाल्यो ।

अध्ययन भिसामा नाम निकाल्न र लगानी गर्न समर्थहरू राम्रा देशमा गए । कोही साहुकोमा कर्जा काढेर विदेश पसे । त्यति मात्रै कहाँ हो र ? युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता ठाउँमा जान कतिले त देशमा हुँदा छँदाको सरकारी जागिर नै छाडे ।

आर्थिक वर्ष २०७४÷७५ मा मात्रै झण्डै साढे ४ लाख नेपाली वैदेशिक यात्रामा गएको देखिन्छ । सरकारी श्रम स्वीकृतिविना विदेश जाने नेपालीको संख्या बेग्लै छ । दलालमार्फत , चोर बाटोबाट भागेर पनि धेरै नेपाली विदेशिएका छन् । आर्थिक वर्ष २०७३/७४ सम्ममा ४० लाख ३ हजार, ४ सय ७४ जना नेपाली कामदार सरकारी स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए । हाल करिब ५० लाख नेपाली युवा विदेशमा रहेको अनुमान गरिएको छ ।

अहिले देशको अर्थतन्त्रमा रेमिट्यान्सको महत्त्वपूर्ण हिस्सा छ । विशेषगरी गरिबी न्यूनीकरण र जनताको जीवनस्तर उकास्ने माध्यम भनेको वैदेशिक रोजगारी नै बनेको छ । तर वैदेशिक रोजगारी नेपालको श्रमशक्ति व्यवस्थापनको स्थायी उपाय होइन । नेपाल भित्रिएको रेमिट्यान्स घरजग्गा खरिदबिक्रीमा सिमित भएको छ । विदेशिएका युवा एक पछि अर्को घडेरी किन्नमा प्रतिस्पर्धा गरिरहेका छन् ।

जसको कारण सहर बजारको जग्गा आकाशिँदो मूल्यमा बिक्रीवितरण भएको छ भने ग्रामीण क्षेत्रको जग्गा अवमूल्यन भएको छ । देशका मुख्य शहर, जिल्ला सदरमुकाम तथा राजमार्ग छेउका बजारहरूका घडेरी करोडौं मूल्यमा खरिदबिक्री भएका छन् । पुर्ख्यौली घर बजारमा भएकाहरू घडेरीको संख्या थप्नमा व्यस्त छन् । एउटा साविककै भए दुई वटा बनाउन खोज्छन् । एउटा घडेरी बेचेको पैसाले अर्को घडेरीमा घर बनाउन सकिन्छ भन्ने सोच पाल्छन् ।

धेरै ठूलो पनि चाहिएन, ३ देखि ४ आनाको घडेरी भए पार्किङ्सहितको चिटिक्कको घर बन्ने । जीवनभरको कमाइ, त्यही चार आनाको पछिपछि दौडिरहेको छ अहिलेको पुस्ता ।

गरिबी न्यूनीकरण र जनताको जीवनस्तर उकास्ने माध्यम भनेको वैदेशिक रोजगारी नै बनेको छ । तर वैदेशिक रोजगारी नेपालको श्रमशक्ति व्यवस्थापनको स्थायी उपाय होइन ।

छिमेकमा एक जना नेपाली सेनामा कार्यरत दाजु थिए । जीवनभर तलवबाट जोगाएको रकम, शान्ति मिसनमा जाँदाको रकम नमासी बचत गरेका रे । पछि जागिरबाट अवकाश हुँदाको रकम समेत एकमुष्ठ जुटाएर शहरमा एउटा घडेरी किने । अहिले भन्छन् ‘बहिनी, लाखौंको लगानी भएको त्यो घडेरी न भोकमा खान मिल्ने न लगाएर हिँड्न मिल्ने । हत्केलामा उठेका ठेला देखाउँदै भन्छन् , खान लाउन र बाँच्न त यही कुटो कोदालो समाउनु पर्यो, बेचौँ सकिन्छ, नबेचौँ छोराछोरीलाई पढाउने र रोग लग्दा उपचार गर्ने पैसा समेत छैन । उनको एउटै सपना छ,आफूले जतिसुकै दुख पाएपनि छोराले बजारमा घर बनाएर सुखले बसोस् ।

अचम्म लाग्दो कुरा त के छ भन्दा आफ्नो जीवनकालभरी कमाएको, चारआना जग्गामा गाडेको त्यो धनले सुख कहिले देला ? वैदेशिक रोजगारीमात्रै होइन, स्वदेशमा दुखजिलो गर्ने मजदुरदेखि उच्च ओहोदामा आसिन व्यक्ति पनि घरजग्गामा लगानी गर्नमा मरिहत्ते गरेका छन् । व्यक्तिको सुख, वैभव, धनी या गरिब भन्ने कुरा उसँग भएको बजारको जग्गामा निहित छ । बिक्री भएसम्म गाउँको जग्गा जमिन समेत बेचेर सहरमा घडेरी किन्न पछि परेका छैनौं हामी ।

गाउँको रोपनी बेचेको पैसाले बजारमा २ हात जग्गा किन्न पुग्दैन । यसै विषयलाई लिएर कतिपयका बा, आमा, छोराछोरी, दाजुभाइबीचको सम्बन्ध बिग्रेको छ । कामको सिलसिलामा गाउँ छाडेको व्यक्ति फर्केर गाउँ जादैन । स्वदेशमा हुनेदेखि स्वदेशी भूगोल पार गर्नेहरु केवल बजारमा घरजग्गा किन्नमै उद्दत्त छन् । झोलाभरी लाखौंको विटा, साथमा जग्गा दलाल लिएर जग्गा हेर्न दौडधुप गरिरहेका छन् पछिल्लो समय अधिकांश नेपाली ।

२०५८ को जनगणनामा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको संख्या कुल जनसंख्याको झन्डै १४ प्रतिशत मात्र थियो । २०६८ मा १७ प्रतिशत थियो । विद्यमान अवस्थामा नेपालको जनसंख्यामध्ये ४५ प्रतिशत भन्दा बढी सहरी क्षेत्रमा बसोबास गर्ने पाइएको छ । खेतीयोग्य समथर जमिनलाई काँक्राका चिरा झैँ खण्डीकरण गर्ने भू माफियाहरूको संख्या बढ्दो छ । प्लटिङ् र जग्गा चक्लाबन्दीले सहरी जमिनको स्वरूप एकाएक परिवर्तन हुन्छ । त्यसपछि टुक्रिएका ३/४ आनाका टुक्रा लाखौं करोडौंका बिटामा सटही हुन्छ ।

हामी जीवनभर हामी ४ आनाको निम्ति संघर्ष गरिरहेका छौँ । बजारमा ४ आनाको मूल्य करोड पुग्यो तर गाउँमा ४ रोपनी खेतीयोग्य फाँट बेच्दा लाख पर्दैन । बजारको जग्गाको भाउ केही बर्षमै दोब्बर बढ्ने भएकोले कर्जा काढेर वा किस्ताबन्दीमा भए पनि घर जग्गामा लगानी बढेको हो । स्वदेशमा होस् या विदेशमा, एक टुक्रा घडेरी किन्नु छ । चिटिक्कको घर बनाउनुछ । त्यहीँ सानो परिवार रमाएर आलिशानको जीवन जीउने सपना छ प्रायको ।

छोराछोरीलाई सुन्दर बालसंसार दिन सकेनौं । मातृगाउँका अमृततुल्य वनस्पति र स्वादिष्ट फल गुमायौँ । साँझको रोधीघर, तिहारको भैलो, सोरठी, घाटुको रमाइलो बिर्सियौँ ।

यही स्वप्निल संसारका निमित्त बुढेसकालका बाआमाको काखलाई तिलाञ्जली दिएका छौँ । देश, विदेश गएर जीवनभरी दुख गरी धन कमाउछौँ । ४ आनाको चक्करमा समाजमा आफ्नो इज्जत, प्रतिष्ठा, मर्यादा र नाम कमाउन सकेनौं । बाआमाको साहारा आशिर्वाद, तीर्थव्रत र धर्म कमाउन सकेनौं । छोराछोरीलाई सुन्दर बालसंसार दिन सकेनौं । मातृगाउँका अमृततुल्य वनस्पति र स्वादिष्ट फल गुमायौँ । साँझको रोधीघर, तिहारको भैलो, सोरठी, घाटुको रमाइलो बिर्सियौँ ।

रोटेपिङ, आर्चरी, रस्साकस्सी, लाखेजात्रा, रोपाइँ जात्रा एकादेशको कहानी बनायौँ । पारिवारिक विखण्डन र तनावग्रस्त जीवनशैली अपनायौँ । आफन्तको सद्भाव र आशीर्वादलाई वेवास्ता गर्यौँ। दौतरीको हाँसखेल, सहयोग र सद्भाव गुमायौँ । श्रीमतीले किन्ने सिन्दुर पोतेमा मोलमोलाइ गर्छौं । मोबाइलमा रिचार्ज भरेर फोन गरी बिरामी भएका आफन्तको अवस्था बुझ्न हच्किन्छौँ । खै त हामीले आत्मसन्तुष्टि कमाएको ?

परदेशबाट फर्केर आउने, साहुको ऋण तिर्ने, सानै भए पनि सुगम ठाउँमा घडेरी किनेर घर बनाउने सपना परदेशमै अवसान हुन्छ झण्डै वार्षिक हजार जनाको । आर्थिक वर्ष २०७४÷७५मा झण्डै ९ सय नेपालीको प्रवासमा निधन भएको थियो । सोही अवधिमा ७ सयभन्दा बढी कामदार बिरामी वा अङ्गभङ्ग भएर फर्केका थिए । थाहा छैन, अहिलेको नोवल कोरोना भाइरसको कारण कतिको रोजगारी गुम्ने हो ?

विश्वभरिका आप्रवासी नेपालीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले उनीहरूलाई सुरक्षित स्वदेश फर्काउनु पर्छ । गाउँ र सहरबीचको अन्तर कम गर्न ग्रामीण विकासका योजना ल्याउन पर्छ । बढ्दो शहरीकरणलाई नियन्त्रण गर्दै जमिन खण्डिकरण रोक्नुपर्छ । उर्वर नभएका जग्गामा व्यवस्थित बस्ती बसाउने र समथर, उर्वर जग्गामा खेती गर्ने नीति ल्याउनु पर्छ । युवालाई सीपमूलक तालिम र जीवनउपयोगी शिक्षा दिई स्वदेशमा रोजगारीका अवशर दिनुपर्छ । बसाइँसराइ नियन्त्रित हुनुपर्छ ।

हाम्रो संसार सहरको ४ आनामा सीमित हुनु हुँदैन । नेपालकै पुण्यभूमिमा हाम्रो अन्त्यष्टि हुनुपर्छ । मर्ने बेलामा आफन्तको ढाडस र सान्त्वनाले सजिलोसँग प्राण जानुपर्छ । हाम्रो चिता हाम्रै पुर्वज, पुर्खाहरूलाई जलाएको श्वमशानघाटमा हुनुपर्छ ।

केही दिन अघिको कुरा हो । एक जना दाइले आज घडेरी हेरेर आएको भन्नुभयो । मैले उत्सुक हुँदै सोधेँ, कहाँ ? उत्तर आयो, मोदी बेनीमा। उहाँको सहज जवाफले मलाई झन् कौतुहल बनायो ।
सोधिहालेँ, ‘कति लाखको ? कति आना छ नि दाइ?
चारर हातको।

म सन्नँ भएँ । हुन त मोदिबेनी घाट, रामघाट, देवघाट या आर्यघाट जहाँ गए पनि अन्त्यमा हामीलाई चाहिने त्यही ४ हात त हो । चार आनाको लागि गरेको जीवनसंघर्ष ४ हातमै सिमित हुने रहेछ । ४ हातको बाकस, ४ हातको कात्रो, ४ हात बाँसले बनेको खट, ४ हातको चिता वा चिहान ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।