चीनको उहान सहरबाट सुरु भएको
कोरोना भाइरसको त्रासदीले
सारा संसार छोपिदिदा
संक्रमन अरु नफैलियोस् भनेर
आफ्नै घरमा केही समयका लागि
तिम्रो लकडाउन सुरु भयो
बच्चा र आमामध्ये
एउटालाई मात्र बचाउन सक्ने
चिकित्सकको कुरा सुनेर
आफू मरेर मलाई जन्म दिने
मेरी आमाको मृत्युपछि
अर्की बिहे गरेर बाबा अर्कै भइदिदा
सौतेनी आमाबाट जब म बेचिए
बम्बैको कालकोठीमा
मेरो लकडाउन सुरु भयो
तिम्रो लकडाउन
हरेक अखबारका पानामा छ
मेरो लकडाउन
फगत कविता र गानाहरुमा छ
तिमीलाई सम्भावित मृत्युबाट बचाउन
संसारले रक्षक बनेर हात फैलाएको छ
मलाई भने त्यही संसारले
भक्षक बनेर पलपल मेरो जवानी मैलाएको छ
तिम्रो लकडाउनमा झरेको आँसु
र मेरो लकडाउनमा झरेको आँसुको
रंगमा समानता भए पनि
रसमा आकाश पातालको भिन्नता छ
तिम्रो आशुमा मृत्युको भय छ
मेरो आशुमा जीवनको भय छ
तिम्रो लकडाउनको अन्तनिश्चित छ
मेरो लकडाउनको अन्तअनिस्चित छ
तिम्रो लकडाउनको सिमा
भाईरसको अन्तसंग जोडिएको छ
मेरो लकडाउनको सिमा
मेरो जीवनको अन्तसंग जोडिएको छ
म चाहन्छु
तिमीलाई तिम्रो लकडाउनबाट
छिट्टै बाहिर निस्कनु परोस्
मलाई भने मेरो लकडाउनबाट
जीवितै बाहिर निस्कन नपरोस्
किनकी तिम्रो लकडाउनको दुनियामा मान छ
मेरो लकडाउनको दुनियामाअपमान छ
तिमीले लकडाउनबाट मान कमाएका छौ
मैले लकडाउनबाट बदनाम कमाएकी छु
तिम्रो लकडाउन
अन्तमात्र होईन अन्तिम भईदियोस्
बिज्ञानले यस्तो चमत्कार गरिदियोस्
कि फेरि कहिल्यै मानिसले
घर भित्रै बन्दि बस्नु नपरोस्
तिम्रो जस्तै
मेरो लकडाउन पनि अन्तिम भईदियोस्
मानवमा मानवता मौलाओस्
महिलाप्रतिको बिषालु नजरको अन्त होस्
ता कि फेरि म जस्तै अरु कुनै चेली
यसरी काल कोठीभित्र
लकडाउनमा बस्नु नपरोस् ।









