कमरेडहरु इतिहास सम्झनुस्, कार्यकर्ता दास होइनन्

२०५२ सालमा भारतका नामुद गुण्डाहरु ल्याई काठमाडौको शङ्कर होटेलमा राखेर सांद खरिदबिक्रीको बाहक बन्नेहरु, प्रतिनिधि सभा र राष्ट्रिय सभालाई खरिदबिक्रीका वस्तु जस्तो बनाउन थाइल्यान्डको बैंकक पुर्‍याएर वस्तु बिनिमय झैं साटासाट गर्नेहरु अहिले एकाएक दूधले नुहाए झैं कमरेड महेश बस्नेतलाई कार्बाहीको कुरा गर्दैछन् । २०६४ मा भएको संविधान सभाको पहिलो चुनावमा करीब बहुमतको निकै नजिक पुगेको तत्कालीन माओवादीको शासन सत्ताका बेला खुट्टा उचाल्ने वा नूनपानी एमालेको खाएर गुणगान घर बाहिरको गर्नेहरु अहिले एकाएक भयङ्कर क्रान्तिकारी भएका छन् ।

हिजडा र तेस्रो लिङ्गीबाट पार्टीलाई सुस्पष्ट बिचारधाराका साथ अगाडि बढाउनेहरु, ठाउँको ठाउँ मुकाबिला गर्नेहरू, जसले निरन्तर बोकेको चट्टानी अडान र विचारका कारण डाडामा, पहाडमा सयौं हावाका झोक्काहरुले हल्लाउदा पनि सतीसाल झैं ठिङ्ग उभिएर न्यायप्रेमी नेपाली जनसमुदायलाई ढाडस दिने नेता, कार्यकर्ताहरु निशानाको केन्द्रबिन्दु बन्नु निश्चितरूपमा दशौ लाख पार्टी सदस्य र लाखौं जनसमुदायको भावना बिपरित छ ।

यो उहाँहरुको स्वाभिमान माथिको आक्रमण हो । देशी, बिदेशी शक्तिहरुको निकै चलखेल, अन्तरद्वन्दको उचित ब्यवस्थापन गर्न नसक्दा, संसदीय शासन ब्यवस्था सन्चालनको कच्चा अनुभव, आन्तरिक खिचातानी, शासनसत्ताको मोह र महत्वाकांक्षा, जातीय, क्षेत्रीय र धार्मिक रूपमा आफूलाई ज्यादा बिबादित बनाउदा ,ससाना पतिहरुको अदलबदलमा लाग्दा ,प्रतिपक्षीहरुको सहअस्तित्वलाई आदरपूर्वक स्वीकार गर्न नसक्दा शक्तिशाली माओवादी सरकार गर्‍ल्यामगुर्लुम ढलीअस्थिरताको बीजारोपण भएको थियो । विचारधारात्मक रूपमा पार्टीलाई लागेको न भाले, न पोथी भन्ने आरोपबाट अलग बनाउने केपी ओली जस्ता पार्टीका जङ्गे पिलरहरुको शक्तिमा नै क माधव नेपालको नेतृत्वको सरकार बन्यो।

त्यत्ति नै बेला पार्टी भित्रकै र बाहिरी शक्तिहरुको अपबित्र एकता र गठबन्धनले पार्टीका असली नेता माधव नेपालको नेतृत्वको सरकार विरुद्ध बीसौं लाख मानिसहरु बन्दोबस्तीका साथ काठमाडौ उत्रिएर आन्दोलनका साथ घेराबन्दी गर्दा त्यो बीसौं लाख मानिसलाई क महेस बस्नेतको साहसिक र वीरतापूर्ण नेतृत्वमा तितरबितर पारेर वाहीवाही कमाउदा पिठ्यू फर्काएर युद्द मैदानको नेतृत्वबाट भाग्नेहरु, तिनका खास मतियारहरु क महेश बस्नेतमाथि अझै लाजै नमानी अण्टसण्ट गफ गर्दैछन् ।
अनि ईतिहासको कालखण्डमा कसका कारण त्यसपछि कति पटक सरकार परिवर्तन भए ?

राष्ट्रिय माथि भारतले धावा बोल्दा, नाकाबन्दी लगाउदा नाकाबन्दी हो, मूर्दाबाद भन्ने आट नगर्ने आफूलाई भयङ्कर क्रान्तिकारी र नेपालकै पर्यायबाची ठान्ने हुतिहाराहरु कहाँ थिए ?

दोश्रो संविधान सभाको चुनावको गणित कसका कारण कस्तो भयो ? दोश्रो संविधान सभाको चुनाव पछि दक्षिण एसियाका आफूलाई मै हु भन्ने नेताहरुलाई आमनेसामुनेको टक्कर दिन सक्ने बिश्वले नै मान्ने जननेता क मदन भण्डारीको बिचारमा अडिएको पार्टी, महा मानव बिपि कोइरालाको काङ्ग्रेस पार्टी र श्रद्देय प्रचण्ड कसङ्गै भएर सदिऔदेखि थाती रहेको संविधान सभा मार्फत जनताको संविधान काङ्ग्रेस जस्तो पुरानो पार्टी समेतलाई सहमत गराएर संसारमै उत्कृष्ट बनाउने कामको पहलकदमी कुन कुन नेताले लिनुभो ? नेपाली राजनीतिका श्रद्देय सादगी नेता सुशील बाबुले त्यो महान कामको नेतृत्व गर्ने अवसर पाउनु भयो । कमरेडहरुले यो जीवीत यथार्थतालाई किन कमजोर आङ्कलन गर्नुभएको छ ?

२०७२ साल बैशाख १२ गते गएको महाबिनाशकारी भूकम्पले थिलाथिला परेको बेला निक्कै गाह्रो उद्दार ,राहत र पूरातात्विक हिसाबले महत्त्वपूर्ण नेपालको सभ्यतासित जोडिएका धार्मिक ( साष्कृतिक धरोहरहरुको पुननिर्माण कसले शुरु गर्यो ? ठीक त्यसैबेला राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिहरुको बर्खिलाप हुने गरी नेपालको सिङ्गो राष्ट्रिय अखण्डता ,भूगोल ,सार्वभौमसत्ता र नेपाली राष्ट्रिय माथि भारतले धावा बोल्दा, नाकाबन्दी लगाउदा नाकाबन्दी हो, मूर्दाबाद भन्ने आट नगर्ने आफूलाई भयङ्कर क्रान्तिकारी र नेपालकै पर्यायबाची ठान्ने हुतिहाराहरु कहाँ थिए ?

जनसंख्या र क्षेत्रफल सानो हुदैमा राष्ट्रियता र राष्ट्रिय स्वाभिमान सानो हुँदैन भनेर डटेर मुकाबिला गर्ने, चीनसित पारबहन सन्धि गरेर भारतसितको एकछत्र ब्यापारको एकाधिकारको अन्त्य गरी नेपाल जस्तो भूपरिबेष्ठित रास्ट्रको सन्चालनलाई कुशलता पूर्वक अगाडि बढाउने महाअभियानको शुरूवात कसले गर्यो ? आफू प्रधानमन्त्री हुँदा आफ्नो राष्ट्रमाथि भएको नाकाबन्दीको अन्त्य नहुन्जेलसम्म भारतको भ्रमण नगर्ने अडान कसले लियो ?

के के आधारमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी सकियो ? नेपाली जनतामाथि भारतले तेस्रो पटक लगाएको नाकाबन्दीमा तपाईं कुन कुन दलका कुन कुन नेताले घाम तापेर बस्नु भो, याद छ ? पुरानो पार्टी कहाँ थियो, क्रान्तिकारी र मधेसबादीहरु कहाँ थिए ? जनतालाई पिरमर्का पर्दा हाइ काटेर कहाँ बसिएको थियो , अनि अहिले ठूल्ठूला कुरा गर्ने ?

दुई ठूल्ठूला कम्युनिस्ट पार्टीहरुको एकताको आधार तपाईं नेताहरु मात्रै हो कि ? यो एकीकरण पछाडि देशको भूगोल र जनताको आबश्यक्ता, चेतनाको स्तर ,नेपालको सिङ्गो आत्मगत अवस्था र वस्तुगत अवस्थाले एकीकरणलाई निष्कर्षमा पुर्यायो ? यो एकतामा तपाईं सबैको उत्तिकै योगदान र पहलकदमी छ । सबैभन्दा निर्णायक भूमिका राजनेता क।केपी र अर्का कम्युनिस्ट आन्दोलनका शिखर ब्यक्तित्व प्रचण्डको छ । तर, हेक्का राख्नुस कि, तत्कालीन नेकपा एमालेलाई तेस्रो लिङ्गी पार्टीबाट लिङ्ग छुट्टाएर नीति ,सिद्धान्त र साङ्गठानिक रूपमा सबैभन्दा शक्तिशाली सङ्गठ्न भएको ठूलो कम्युनिस्ट पार्टी बनाउने कामको नेतृत्व कसले गर्यो ?

तत्कालीन एमाले साच्चिकै कमजोर भएको भए शत्रुतापूर्ण सम्बन्ध भएको अर्को ठूलो कम्युनिस्ट पार्टी माओवादी केन्द्रसितको एकता सम्भव थियो ? गुरुत्व र गुरुत्वाकर्षण बल तत्कालीन एमालेमा बढी थियो नै यद्यपि तत्कालीन नेकपा एमालेलाई कमजोर तुल्याउन माओवादी केन्द्र काफी थियो । एकता नभएको भए एमाले, काङ्ग्रेस उत्तिकै ठूला शक्ति हुन्थे वा एमाले अलि ठूलो हुन्थ्यो तर देश झनै अस्थिरतामा फस्थ्यो । त्यो एमालेलाई राम्रै थाहा थियो अनि बहुसंख्यक निर्वाचन क्षेत्रमा माओवादी केन्द्रको जमानत जफत हुन्थ्यो । नेता, कार्यकर्ताको राजनीतिक भविष्य पूर्णतया समाप्त हुने निश्चितै थियो । त्यो तीतो यथार्थता पनि माओवादी केन्द्रलाई राम्ररी थाहा थियो।

यस कारण कमरेडहरु, नेपाल कम्युनिस्ट पार्टी नेकपाका दस लाख पार्टी सदस्य यसले प्राप्त गरेको पचासौं लाख मतको तपाईं प्रत्येक नेताहरुले आत्मसात गर्नुस् । जनताको भावनासित तपाईंहरु बीचको जुङ्घाको लडाइँका कारण बलिको बोको बनाउने काम बन्द गर्नुस् । हरेक जीवन्त पार्टीभित्र हुने दुई, तीन लाईनको संघर्षलाई उचित र बैज्ञानिक ढ्ङ्गले समाधान गर्नुहोसु् । हिजो २०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले सदनको सबैभन्दा ठूलो दल भएकै थियो । नेपालको स्वर्णिम इतिहासको रूपमा रहेको त्यो कम्युनिस्ट सरकारले बग्रेल्ती राम्रा कामहरू गर्दागर्दै पनि त्यो सरकार ढल्यो । राष्ट्र अस्थिरताको दलदलमा फस्यो, सत्ताको महत्वाकांक्षा र आन्तरिक छिनाझम्टीका कारण ७५ रै जिल्लामा फ्याक्क आधा आधा भएर तत्कालीन एमाले २०५४ फाल्गुन २१ गते बिधिवत बिभाजन भयो । आखिर कसलाई फाइदा भयो ?

घट्नाक्रमहरु कसरी कसरी बिकास भए ? हामीहरू बीच एकले अर्कोलाई समाप्त नगरी एक अर्कामा अस्तित्व असम्भव थियो र हामी वर्ग सफायझैं लड्यौ। २०५६ सालमा निर्वाचन भयो, फुट र बिभाजनलाई नेपाली जनताको सबै शक्तिले पूरैरुपमा सर्वमान्य तवरले अस्वीकृत गरिदियो । तत्कालीन नेकपा मालेका भयङ्करका ठूला नेता भनिनेहरुको जमनत जफत भयो, थुप्रै स्थानमा चार अङ्कको सबैभन्दा सानो मत प्राप्त गर्नुपर्ने तितो स्थिति उपस्थित भयो । त्यस बेला तत्कालीन नेकपा एमालेले २०४८ सालको चुनाव जस्तै २ सय५ स्थान मध्ये ६९ स्थान र काङ्ग्रेसले २०४८ को भन्दा २ कमका साथ १ सय१२ स्थानमा बिजय हासिल गर्यो। यो सामान्य तथ्यांकले के बताउछ भने पार्टीमा नीति र सिद्धान्त प्रधान हुन्छ, नेतृत्व वा नेताहरु गौण हुन्छन् ।

बरु पार्टी महाधिवेशनका लागि आधार वस्तुहरु तयार गर्नुस् ,अब क केपी ओलीले मैदान खाली गरिदिने सोच गर्नुस् ।अनि महाधिवेशनमा सम आदरणीय नेताहरु क माधव नेपाल ,प्रचण्ड ,झलनाथ ,बामदेव ,ईश्वर पोख्रेल को अध्यक्ष हुनुहुने हो तयारी गर्नुहोस् ।

यसैले नेकपाका नेताहरु, तपाईंहरु अहिल्यै सत्ताको छिनाझम्टीमा नलाग्नुस् । जसले कुशलतापूर्वक मुलुक सन्चालन गरिरहनुभएको छ, निशङ्कोच र निर्भयतापूर्वक अङ्क गणित नतेर्साइकन शासन चलाउन दिनुस् । वहाँहरुको पनि पार्टी निर्माणमा तपाईंको भन्दा कम भूमिका छैन । सरकारका कमी, कमजोरीहरु पार्टी कमिटीको बैठकको छलफलको बिषय बनाउनुस् । स्वस्थ आलोचना गर्नुस्, सरकार सन्चालनसित सम्बन्धित के के कुरा फेर्ने हो थप्ने हो ? तपाईंहरु जत्तिकै जिम्मेवार अध्यक्षलाई सुझाउनुस् । सृजनात्मक सहयोग गर्नुस् तर तल्लो स्तरमा झरेर डम्फू बजाउने काम बन्द गर्नुस् ,तपाईंहरु त आफ्ना स्वार्थका लागि जतिबेलै जुनसुकै नेतासँग मिल्न सक्नुहुन्छ ,यस कारण फूटबल झैं भूइका कमरेडहरुलाई नउचाल्नुस, नठोक्नुस, नचलाउनुस, नखेल्नुस ।

भोलि हामी भूइकाहरु फेरि ओल्लो घाट न पल्लो तिर भैन्छ । अहिलेको निबस्त्र आलोचनाले हामी सगोल कार्यकर्तालाई एक हुन पनि छेक्छ वा तासको घर जस्तो एकता हुन्छ। बरु पार्टी महाधिवेशनका लागि आधार वस्तुहरु तयार गर्नुस् ,अब क केपी ओलीले मैदान खाली गरिदिने सोच गर्नुस् ।अनि महाधिवेशनमा सम आदरणीय नेताहरु क माधव नेपाल ,प्रचण्ड ,झलनाथ ,बामदेव ,ईश्वर पोख्रेल को अध्यक्ष हुनुहुने हो तयारी गर्नुहोस् । दशौलाख पार्टी सदस्य र सम्भावित महाधिवेशनका प्रतिनिधिहरुलाई बिश्वासमा लिनुहोस्, मन जित्नुहोस् । को अध्यक्ष ,महासचिव हुनुहुने हो, अनुमोदित भएर आउनुहोस् । नकि, पार्टी ,जनता र देश बिरोधी आवाजहरु बन्द गर्नुहोस् । यसैमा हामी सबैको कल्याण र भलाइ छ,देशको सफलता यसैसित जोडिएको छ।

राजनीति यस्तै हो रहेछ,असफल भैयो भने चपरिमुनिको बाँस हुनेछ, सफलतामा पुग्यो भने हस्तिनापुरको राज हुनेछ। तर, याद गर्नुस् कि, कार्यकर्ता रैती र दास होइनन् । पार्टी कमिटी र कार्यकर्ताहरु सार्बभौम छन् ,सयौं पटक दोहोर्‍याएर असत्य सत्य हुन्छ भन्ने कुरालाई जस्ताको तस्तै फिर्ता गरिदिने छन् । तर, ख्याल् गर्नुस् कि,झूटको खेती गर्ने सबैभन्दा उपयुक्त समय यही हो, खेती गर्नुस् ,तर हेक्का राख्नुस कि,कमरेडहरुले गर्ने यो झूटको खेती आषाढ, श्रावण महिनाको च्याउ जस्तै हो। बरु हिम्मत छ भने पार्टीको बैठक नेकपाको कार्यालय धुम्बाराहीमा बोलाउनुस्, गुटबन्दी बन्द गर्नुस् नकि,अमूक नेताको घर कोठा कठेरीमा।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।