कविता : विश्वासको शिविर नै भत्किएपछि

एउटा पृथक संसारको निर्माण गर्न
प्रेम र विश्वासको शिविरबाट
हामीले हाम्रा यात्राका थालनी गरेका थियौं
हामीले हाम्रा भोलिका सुन्दर सपना साँचेका थियौं

जे सोचेर हामीले हाम्रा यात्राका थालनी गर्यौं
जे सोचेर हामीले हाम्रा भोलिका सपना बुन्यौं

गन्तव्यस्थल पुग्न अगावै हामीहरू
दुर्घटनाग्रस्त भएका छौँ
प्रेम र विश्वासका सुखद पलहरू
अविश्वासका दुःखद पलहरुमा अनुदित भएका छन्

हामीले हाम्रा यात्राका क्रममा
थोरै चढ्यौँ उकालीहरू
र, धेरै झर्यौँ ओरालीहरू

न, तिमीले चाहेको बाटोमा मलाई हिँडाउनै सक्यौ
न, मैले चाहेको बाटोमा तिमी हिँड्नै सक्यौ

सायद तिमीलाई तिम्रो हिनताबोधले
नराम्ररी पछारेको हुनुपर्छ
अथवा तिमीलाई मेरो इमान्दारिताले
नराम्ररी बिझेको हुनुपर्छ

तिम्रो काँधमा शिर बिसाए मैले
तिम्रो छातीमा मन राखेर मैले
निश्चिन्त निदाउन सक्दिन भने रु
निर्धक्क सुस्ताउन सक्दिन भने रु

अब कुनै यात्रामा तिम्रो सहयात्री बन्ने
दुःसाहस गर्न सक्दिन, म
अब कुनै सुन्दर संसारको परिकल्पना गर्ने
दुस्प्रयास गर्न सक्दिन, म

प्रेम र विश्वासका हाम्रा शिविरहरू जगैदेखि भत्किएपछि
अब हामीले हाम्रा यात्राहरू यहीँ नै रोक्नु पर्छ
अब हामीले हाम्रा साथहरू यहीँसम्म रहेछ सोच्नुपर्छ

नितान्त एक्लो यात्रा अति नै कठिन र दुर्भाग्यपूर्ण भए तापनि
नितान्त एक्लो यात्रा अति नै मुस्किल र जोखिमपूर्ण भए तापनि
नितान्त एक्लो यात्रा अति नै विकट र चुनौतीपूर्ण भए तापनि

यहींबाट अब हामीले हाम्रा यात्राहरू बेग्ला बेग्लै थाल्नुपर्छ
यहींबाट अब हामीले हाम्रा कदमहरू छुट्टा छुट्टै चाल्नु पर्छ
यहींबाट अब हामीले हाम्रा बाटाहरू भिन्दा भिन्दै रोज्नुपर्छ

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।