लघुकथा : हत्कडी

सडक किनारामा जन्माएर फालेको बच्चा फेला पारेको दिनदेखि जन्मले बाबा आमा बन्ने अवसर नपाए पनि कर्मले बाबा आमा बन्ने अवसर पाएकोमा गुणराज दम्पती मख्ख थिए। आर्थिक रुपमा सम्पन्न उनिहरुले सन्तान जन्माउनका लागि स्वदेश तथा बिदेशका सस्तादेखि महङ्गा, नाम चलेकादेखि दाम चलेकासम्म कुनै अस्पताल बाँकी राखेनन् र पनि भगवानको अगाडि कसको के लाग्थ्यो रु उनीहरुको पनि केही लागेन ।

अन्तिम बिकल्पको रुपामा अस्पताल धाउन छोडेर तिर्थबर्त, धर्मकर्म र हेराउने चराउने तर्फ मोडिएका उनिहरुलाई पछिल्लो पटक ज्योतिषिले अवको सात महिनाको अवधीमा तिमीहरुलाई छोरा प्राप्त हुन्छ भनेकै समयमा यी दम्पतीलाई पुत्र लाभ भएको हो ।

पुत्र त लाभ भयो तर कहिल्यै बच्चा नहुर्काएका यी दम्पतीहरुलाई आमाको दूध विना बच्चा हुर्काउन कठिन थियो । राति सुत्ने बेलामा दम्पतीहरु बच्चालाई बीचमा सुताउने गर्थ्ये। हाम्रो सस्कारले बच्चालाई बीचमा सुताउन हुँदैन भनेर कसैले भन्यो भने दम्पतीहरु हामी दुबैलाई छोरा काखमा लिएर सुत्न मन लाग्छ त, के गरौ हजुर भन्थ्ये पनि केही हुने त होइन भनेर डराउथे पनि ।

दिन दुईगुणा रात चौगुणा बच्चा हुर्कदै गयो । उसका हरेक अङ्गहरु सुनौला भए । साच्चिनै त्यो बच्चा पूर्णिमाको जून जस्तै भयो । छिमेकीहरु बच्चाको रेखदेख र पालन पोषण गरेको देखेर उनीहरुको खुलेर प्रशंसा गर्थे ।

बच्चा नौ महिना भएको दिन यी दम्पतीहरुको घरमा एक वकिल आएर मुलुकी देवानी संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिमको प्रक्रिया पुरा गरेर बच्चालाई धर्मपुत्र राख्ने सल्लाह दिए । दम्पतीहरु आँखाबाट आँसु झार्दै धर्मपुत्र र कर्मपुत्र भन्दा पनि हामी हाम्रो पुत्र बनाउन चाहन्छौ यो छोरालाई धर्मपुत्र नभनिदिनु न हजुर भन्दै रुदै थिए । त्यतिनै बेला बच्चा अपहरणको बिषयमा तपाईहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ भन्दै यी दम्पतीहरुलाई पक्राउ पुर्जि दिई प्रहरीहरुले बच्चा समाउने उनीहरुका हातमा हत्कडी लगाई दिए । छिमेकीहरु हेरेको हेरेइ भए।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।