प्रचण्डलाई ओलीको घुमाउरो जवाफ : उच्चस्तरीय संयन्त्र कुण्ठाग्रस्त मानसिकता

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा नेतृत्व गर्न नपाएको कुण्ठाग्रस्त मानसिकता भएको आरोप लगाएका छन् ।

केही दिनअघि प्रचण्डले कोरोना महामारीको मुकाबिला गर्न सर्वदलीय संयन्त्र जरुरी हुने बताएका थिए । आइतबार राससलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले त्यस्तो संयन्त्र अहिले विश्वमै कतै नबनेको सुनाए । उनले भने, ‘आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ ? त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्को संयन्त्र छ ?’
प्रधानमन्त्रीले नागरिक समाज पनि संयन्त्रमा राख्नुपर्ने भनिएकोतर्फ इंगित गर्नै कुन नागरिक राख्ने भनी प्रश्न गरे । उनले भने, ‘यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ ? लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’

पैसा अर्काे वर्ष कमाउन सकिन्छ, मान्छे मरे बचाउन सकिन्न (अन्तर्वार्ता)

अहिले सरकारले कोरोनाविरुद्ध चालेका कदममा सबै राजनीतिक दल, क्षेत्र र आम जनताको समर्थन र सहकार्य रहेको ओलीले बताएका छन् । उनले भने, ‘सबैबाट आएका उपयुक्त सुझावलाई ग्रहण गर्न सरकार तयार छ । अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् ।’

अहिले सरकार र पार्टी दुवै एकतावद्ध रहेको दाबी गर्दै उनले थपे, ‘मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु ।’