लकडाउनले जीवन आक्रान्त छ । बोरामा चामल छैन, सिलिन्डरमा ग्याँस छैन, बजारमा पाउन पनि मुस्किल छ । मानिस बाहिर निस्कन प्रतिबन्ध छ । यस्तो अबस्थामा हातमुख जोर्नै समस्या छ । तैपनि कसरी दशथरी खानेकुरा बनाएर फेसबुकमा पोष्ट गर्न प्रतिश्पर्धा चलेको छ, आजकल मानिसहरुमा ? छिमेकी आन्टी छतमा बसेर भुत्भुताउदै थिइन्, ‘हैन, बिभिन्न पक्वान्न बनाउन सिपालुहरुले जे बनाए नि आफ्नो मुखमा नहालेर किन फेसबुकमा प्रदर्शन गर्नु परेको होला ? यस्तो संकटको घडीमा पनि कत्ति न दशै तिहार मनाए जस्तो ।’
कोही सेल, कोही पानीपुरी, कोही मम, कोही जेरी त कोही रसवरी । भएन भनेर सिङ्गै खसी काटेको दृष्यसमेत प्रदर्शनमा तछाडमछाडमा उत्रिएका छन् मानिसहर । मानौ, उत्कृष्टलाई राज्यले ठूलै सम्मान प्रदान गर्न सार्वजनिक आब्हान गरेजस्तो ।
साँच्चै मानवीय संवेदना नै ओझेलमा परेजस्तो । होइन, संकटको बेलामा झन संकट खडा गर्न उद्धत भएका छन् आजकलका मानिस ? उनी रिसले आगो हुँदै थिइन् । नहुन् पनि कसरी, जब केटाकेटीले फेसबुकको भित्तामा देखिएका परिकार चाहियो भनेर खुट्टा बजार्न थाले थाल्छन् । कुरा बुझ्दै जाँदा उनको छोराको साथीले ममीबाबाले मम बनाउँदै गरेको अनि मम खाएको फोटो फेसबुकमा देखेछ । अनि त के चाहियो र। पुगी गो सुरु गरेछ तमासा मम चाहियो चाहियो भनेर ।
विचरा आन्टी भन्दै थिइन्, ‘हेर्नुस्न नानी बुढा घर बसेको पनि २५ दिन पुग्यो, काम ठप्प छ। आम्दानीको बाटो बन्द भएपछि चुलो बाल्नै मुस्किल भैसकेको छ । अब कसरी छोराको चाहना पूरा गर्नु ?’ उनको कुरामा दम थियो, म पनि घोत्लीएँ एकछिन । अनि फेसबुके भित्तामा सजिएका परिकार झलझल आँखामा आए । म अवाक भएँ । ‘ज्याला मजदुरी गरी कमाएको पैसाले जसोतसो घर चलाउने हामी जस्ताले कसरी गुजारा टार्ने ? बेलुकाको छाक कसरी जोहो गर्ने भनेर सोच्ने अवस्था आइसक्यो नानी, यस्तो वेला अनेक थरी खानुपर्ने,’ उनले आक्रोशित हुँदै भनिन् ।
यस्तो अबस्थामा हातमुख जोर्नै समस्या छ । तैपनि कसरी दशथरी खानेकुरा बनाएर फेसबुकमा पोष्ट गर्न प्रतिश्पर्धा चलेको छ, आजकल मानिसहरुमा ?
उनको कुराले एकछिन सोच्न बाध्य बनायो । त्यसै त होइन होला, साना साना नानी बोकेर बाच्ने झिनो आश बोकेर गाँउ फर्कन मानिस सडकमा हिँडेका तस्विर अनि दुखका समाचार अनलाइन भरी छरपष्ट छन् । उनको कुरा अनि अनलाइनमा आएका समाचारले मनै अमिलो भयो । बाटोमा यसरी हिडेकालाई लकडाउन पालना गराउने नाउँमा प्रहरीले रोकेको अनि फर्काएको पनि सम्झे । अनि भने ः
हो त नि आन्टी । हुँदा खाने को पीडा हुनेखानेलार्इ के थाहा ? हुनेखानेलाई त सरकारले छुट्टी मनाउन बिदा दिए जस्तो पो छ है । काम छैन, दिन कसरी काटौ भएको छ । अनेकथरी पकायो, खायो, फेसबुकमा राख्यो, सेल्फी खिच्यो मजै छ नि । हुँदा खानेलार्र्इ पो परेको छ त पीडा यो पीडा बुझी दिने पो कस्ले ?
न त सरकारसंग गरिवको तथ्याङक छ न त उनिहरुको पीडा बारेमा सोच्ने फुर्सद नै । नत्र त, कि खाने व्यवस्था, कि घर जाने व्यवस्था पक्कै हुन्थ्यो होला नि लकडाउन बढाउँदै गर्दा । अनि धनीमानी अनेकथरी परिकार प्रदर्शनमा उत्रनेहरुले पनि सोच्ने भएको भए त अनेक थरी होइन, एक थरी खाउ, आपतको घडीमा आफू पनि बचौं, साथै अरुलार्इ पनि बचाऔ भन्ने भावना जागृत हुनु पर्ने होइन र ?
हुँदा खानेको पीडा कस्ले बुझीदिने ? ठूला मानिसले त चित्त बुझाउलान् तर केटाकेटीको मन न हो देखे अनि सम्झेपछि खानेकुरामा कसरी चित्त बुझाउलान् ? त्यसैले, यो संकटको घडीमा हामीले बिभिन्न पक्वान्न बनाएर फेसबुकमा प्रर्दर्शन गर्नुपूर्व एक पटक गहिरिएर सोच्ने पो हो कि ? बरु सकिन्छ भने यो आपतको समयमा सहयोगको हात बढाऔं, आफू पनि बाचौं अनि अरुलाइ पनि बचाऔं ।









