प्रिय बाटो तिम्रै बाटो हुँदै
हिँडेका छन् केही कामदारहरू
सत्ताले
सत्तामा पुर्याइदिने
नागरिकको आवश्यकता चिन्न नसकेझैं
तिमीले पनि नचिनेझैं नगर्नू
पहारा फोरेर
तिमीलाई चट्टानबाट बाटो बनाउने पनि पनि यिनै मजदूरहरू हुन्
यतिखेर
तिनीहरूले फेर्ने शासलाई
भोक लागेको छ
यतिखेर
तिनीहरूका पाइतालामा घिस्रिरहेका चप्पलहरूलाई
चोट लागेको छ
प्रिय बाटो तिम्रै बाटो हुँदै
हिँडेका छन् केही बटुवाहरू
यस पटक तिमी बाटो जस्तै निर्जिव नभइदिनू ।
प्रिय बाटो,
तिमीमाथि घिस्रिरहँदा
तिनीहरूको कानमा भरिदिनू
जब सम्पूर्ण देश घर बन्न सक्दैन
देश, देश रहँदैन ।
पर्ख, देशै रहँदैन न नभनिहाल,
केही नहुनेहरूलाई देशको आशा त जगाइराख्नु पर्छ ।
यी निर्वलहरूको मनोवल बढाइराख्नु पर्छ ।
यतिमात्रै भनिदिनूँ
गरिबहरूको देश त हुन्छ,
सत्ता हुँदैन ।









