ओली -प्रचण्डकाे बिब्ल्याटाे बाटाे

विश्व कोरोना भाइरसबाट आक्रान्त छ । पुँजीवादी युरोपका देशहरू र विश्वकै महाशक्ति भएको घमण्ड गर्ने अमेरिका समेत आफ्नै मूर्खताले गर्दा महाविपतमा परेको छ । नेपालले छिट्टै लकडाउन अपनाएकाले स्थिति त्यति भयावह भएको छैन । यसलाई राम्रोसंग अपनाएर सुरक्षित रहन आवश्यक पनि छ । कोरोनाबाट मात्र सुरक्षित हुनु पर्दछ अन्य रोग, भोक, शोकले मर्नुमा कुनै खाँचो छैन भन्ने अवस्यै होइन होला ।

सैध्दान्तिक रूपमा कम्युनिष्ट सरकारमा मजदुर सरकारको एक हिस्सा मानिन्छ । पार्टीमा मजदुरको ठूलो भूमिका हुन्छ । यो सरकार कम्युनिष्ट पार्टीको भएको भए लकडाउनमा मजदुरहरूको हालत यस्तै हुन्थ्यो ? दुई तिहाईको कम्युनिष्ट सरकार जस्ले आठ लाख पार्टी सदस्य भएको गर्व गर्दछ । बजेटको पनि कमी छैन । यदि यसको इच्छाशक्ति भएको भए मजदुरहरू भूमिगत थिएनन्, जहाँ जहाँ छन्, त्यही खान बस्नको ब्यवस्था गर्न नसक्ने अवस्था थिएन ।

मजदुरले रहरले आज भोलीको यस्तो गर्मी मौसममा पन्द्र सोह्र दिनको पैदल यात्रा गरेका होलान् । गर्भवती महिला साना बाल बालिका अशक्त बृध्द बृध्दा लगायतका मजदुर बर्गका मानिस सास छउनजेल आस भन्दै भोकै खालि खुट्टा हिड्दै गरेको देखेर भावुक हुने होइन । भावनाले काम चल्दैन । जसरी पनि लकडाउन सफल पार्नु पर्दछ । जङ्गे बोल्यो, भने बोल्यो बोल्यो भन्ने खालको आदेश जारी गरिएको छ । अदालतको आदेश मानवीय मूल्य, मान्यता सबैलाई तिरस्कार गरीएको छ । भारतमा मजदुरी गर्न गएकाहरू काम बन्ध भएपछि लखेटिएर सिमामा आएर अलपत्र छन् । यो कुरा ब्यक्तिमा होइन नीतिमा खोज्नु पर्दछ । यो कम्युनिष्ट सरकार हो कि विघटनवादी दलाल, पुँजीवादीको सरकार हो, सरकारका कुरा काम र व्यवहारमा खोज्नु पर्ने हुन्छ ।

अब देशलाई फाँसीवादमा जान रोक्नका लागि सबै पार्टीमा भएका बामपन्थीहरू एक ठाऊमा आउन आवश्यक छ । अब हुने बामपन्थी आन्दोलन वाद, विवाद र संवादको द्वन्द्ववादको माध्यमले नयाँ सिराबाट मात्र सम्भव छ ।

अहिले यो सरकारले जुन नीति अपनाएको छ, यो नीतिको निर्माणकर्ता कम्युनिष्ट होइनन् । कम्युनिष्ट पार्टी गठन हुनुभन्दा पहिला नै नेपाली कांग्रेस पार्टी स्थापना भएको थियो । यसले आफ्नो स्थापना कालमै बहुदलीय प्रतिस्पर्धा, कानुनी राज्य, बहुदलको सरकार, अल्पमतको प्रतिपक्ष, आवधिक निर्वाचन, मानव अधिकारको रक्षा, शक्ति पृथकीकरण, बहुदलीय खुला समाज, संबिधानको सर्वोच्चता, नेपाली जनताको समृृध्दि यसका नीति कार्यक्रम थिए । सबै नेपाली जनतालाई एक हल गोरु एउटा दुहुनो गाई प्रशस्त खान लाउन पुग्ने गरि जग्गाको बितरण यसका आर्थिक नारा थिए ।

पार्टी स्थापना कालमा गणेशमान जस्ता आदर्श नेता पनि थिए । जसले आफू कब्जियतको बिरामी भएकाले बिहानको एक घण्टा शौचालयमा बिताउनु पर्दछ प्रधान मन्त्री जस्तो चौबिसै घण्टा काममा खटिनु पर्ने पदमा आफु योग्य नभएको भनेर पद स्वीकार गरेका थिएनन् । कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री निवास छाड्दा छाता र सुराही लिएर भान्जाको घरमा गएका थिए । किन कांग्रेसले केही गर्न सकेन ? यसको कारण काग्रेसमा सैध्दान्तिक त्रुटि थिए। काग्रेस वर्ग समन्वायवादी थियो । बिस्तारवादी भारतको इसारामा सामन्तवादी राजतन्त्रलाई संगसंगै लिएर नेपालमा पुँजीवादी सत्ताको राजनीति गर्न खोज्यो । यसले आमूल परिवर्तनको नारासम्म ल्याएन ।

राजतन्त्रबाटै सत्ता बाहिर पारिए पनि राजतन्त्रलाई सधै आफ्नो आदर्स मानिरह्यो । २०४६ सालसम्म आइपुग्दा कम्युनिष्ट पार्टीले विभिन्न उताबचढाव पार गर्दै एक हिस्सा यिनीहरूकै नीति कार्यक्रममा बहुदलीय जनवादको नाममा आइपुग्यो । बहुदलको पुनः स्थापनापछि देशलाई नवउदारवादमा सम्युक्त भएर लगे । भएका उध्योग धन्दा निजीकरण भए । राजनीति गर्नेको आयस्त्रोत घूस, कमिशन, तस्करी, दलाली बन्यो । अब कांग्रेसको प्रजातान्त्रिक समाजवाद ख्रुश्चोभ पन्थीको पनि बन्यो ।

मार्क्सवाद लेनिनवाद द्वन्द्वात्मक भौतिकवादलाई मार्ग निर्देशिक सिध्दान्त मान्दै बैज्ञानिक समाजवादको लक्ष्य राखी नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको थियो । वर्ग सङ्घर्षको माध्यमद्वारा मानवजातिको श्रम, श्रमको फल, श्रमको फलमाथिको समान अधिकार न्यायपूर्ण राजनीतिक ब्यवस्था स्थापना गर्ने कम्युनिष्ट पार्टीको लक्ष्य थियो । पुष्पलालबाहेक पहिलो पुस्ताकको नेतृत्वको ख्रुश्चोभवादी संशोधनवादमा पतन भयो । पुष्पलालले पनि क्रान्तिलाई अघि बढाउन नसक्दा नयाँ सिराबाट झापाली समूह र केन्द्रीय न्यूक्लियर्स दुई क्रान्तिकारी पार्टीहरू गठन भएका थिए। साहदात बलिदानीको ठूलो मूल्य चुकाउँदै माले एमाले हुँदै अघि बढेको झापाली समूह जनताको बहुदलीय जनबादको नाममा २०४६ सालमै सोलोडोलो कांग्रेसकै बाटोमा लाग्यो ।

केन्द्रीय न्यूक्लियर्सको समूह टुटफुट हुँदै चौम मसाल मशाल एकता केन्द्र माओबादी एमाओवादी हुँदै एक समूह माओवादी केन्द्र हुँदै हाल एमालेसंग पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको छ । माओवादीको क्रान्तिकारी हिस्सा ड्यास माओवादी हाल क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टी गरी दुई पार्टीमा छन् । क्रान्तिकारी माओवादीले सशस्त्र आमबिद्रोहद्वारा नयाँजनवाद स्थापनालाई आफ्नो कार्यनीति बनाएको छ तर चुनाव पनि उपयोग गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको माध्यमद्वारा वैज्ञानिक समाजवादलाई कार्यनीति बनाएको छ । यसले सशस्त्र क्रान्तिको कुरा नगरे पनि जनसेना निर्माण गर्नुका साथै काठमाण्डौमा दशौ हजार जनताको उपस्थितिमा सभाहरू गर्न थालेपछि यो पार्टी प्रतिबन्धित छ ।

गणतन्त्र स्थापना गर्न दशौ हजारको बलिदानी भयो । बलिदानि हुनबाट बचेका सफल युध्दका कमाण्डर सुदर्शन, सांस्कृतिक तथा युध्दका नायक माइला लामा ,जेलब्रेकको नेतृत्व गर्ने महिला कमाण्डर उमा भुजेल, वीरजङ्ग लगायत सयौ नेता कार्यकर्ता झुट्टा मुद्दामा जेलमा छन् । अदालतले निर्दोष छन् छाडिदे भन्दा पनि विभिन्न प्रपञ्च रची जेलमा सडाउन खोजेको छ । यो पार्टीको राजनीतिक कार्य दिशालाई हेर्ने दृष्टिकोण फरक फरक छ । प्रतिक्रियावादी दलाल पुँजीवादमा परिणत भएकाहरूले यसलाई पूरा आतङ्कवादी देख्दछन् । जसले आफुहरूलाई क्रान्तिकारी हौ भन्दछन् तिनीहरूले हस्सी मजाक खिस्सी गर्छन् तर तिनीहरू भित्र ठूलो जिज्ञासा पनि छ । जसले यसलाई बिश्वास गर्दछन् ठूलो युवा शक्ति लागेको पनि छ र जनतामा आसा पनि छ । यही हो अहिलेको कम्युनिष्टहरूमाथिको सापेक्ष यथार्थता ।

रूपमा हेर्दा नेपाल कम्युनिष्टपार्टी नेकपामा १४ वर्ष जेल भोगेका ओली प्रधानमन्त्री छन् । माओवादी १० वर्षे जनयुध्दको नेतृत्व गर्ने प्रचण्ड लगायत ठूलो पङ्क्ति छ । प्रचण्डमा नेतृत्वको बिलक्षण गुणहरू छन् । उनको नेतृत्वमा दशौ हजारले बलिदानी गर्न सके । उनी यस्ता मार्क्सवादी हुन् उनले जे गर्दछन सब ठिक गर्छन् । उनमा सबैलाई आफ्नो पछि हिडाउने क्षमता छ । जनयुध्द कालभर सबैलाई भजन मण्डली जस्तो बनाएको खुबी छ । जसरी जनयुध्दकालमा उनले जनवाद स्थापना नभएसम्म अन्तिम समयसम्म लडाई जारी राख्नु पर्छ भने सबैले त्यही माने । मेरो फोटो प्रचार गर्न पर्छ भने त्यही माने । म माओ एेङ्गेल्श लेनिन स्तालिन माओको समकक्षीमा पुगे भने सबैले हो भने । मेरो पथ अब विश्व कम्युनिष्टको बाटो भयो यसलाई प्रचण्डपथ मान्नु पर्छ भने सबै ले माने । दोस्त्रो राष्ट्रिय सम्मेलनमा अब गोलमेच सम्मेलन, अन्तरिम सरकार, संबिधानसभाको चुनावद्वारा सरकारमा जान पर्छ भने अरूले त्यही माने । यसरी उनले आफूमा दैबी शक्ति भएको महसुस गरे । चमत्कार गर्दा गर्दै सारमा उनी लगायत उनको समुह दलाल पुँजीवादी दलदलमा पुग्यो ।

नयाँ जनवादमा जान हिडेकोमा अहिले कांग्रेसले २००३ सालमा तय गरेको बाटोमा सत्तरी वर्षपछि पुगे । समय धेरैअघि बढिसकेको छ । अब प्रचण्डको चमत्कारले काम गर्न सक्दैन । दलाल पुँजीवादका सक्कली एजेण्ड ओली हुन् । यसको अभ्यास उनले जनयुध्दकालमा गरेका हुन् । गणतन्त्र उनको बिषय होइन । गणतन्त्र उनलाई आकस्मितामा प्राप्त भएको हो । अहिलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा कम्युनिष्ट पार्टी होइन, यो एउटा धार्मिक संस्था हो, पुजारी ओली हुन् ।

यो कम्युनिष्ट सरकार हो कि विघटनवादी दलाल, पुँजीवादीको सरकार हो, सरकारका कुरा काम र व्यवहारमा खोज्नु पर्ने हुन्छ ।

व्यक्तिगत स्वतन्त्रता दलाद पुँजीवादमा मूख्य कुरा हो । यसले गुटमा जोड दिन्छ । गुटलाई बलियो बनाउन धनजनको आवश्यकता पर्दछ । जति नालायक भए पनि कहिले गुट नछोड्ने मानिस चाहिन्छ । क्षमता भएका स्वाभिमान भएका बौध्दिक ब्यक्तिहरू सधै हनुमान हुन सक्दैनन् । ओलीले नालायक मानिसहरूको बलियो गुट बनाएका छन् । वाइडबडी विमान काण्डदखि अहिलेको स्वास्थ्वा सामाग्री खरिदकाण्डसम्म अरवौ अर्ब भ्रष्टाचार भएको छ । भ्रष्टचारी यति बलिया भएका छन् कि भ्रष्टचारको कुरा उठाए, तलाई नै भ्रष्टाचारमा कारबाही गर्छु भनेर आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई सूर्य थापाले भनेकोबाट बुझ्न सकिन्छ ।

दलालहरूलाई राष्ट्रियताको कुनै मतलव हुदैन । एमसिसी जसरी पनि पास हुन्छ भन्नु, कालापानी, लिपुलेकको बारेमा मौन बस्नु यसका उदारण हुन् । ओलीले पार्टीमा बलियो गुट, राजनीतिक नियुक्तिहरूमा सबै आफ्ना मान्छे, अदालत, सेना ,पुलिस संवैधाबनिक निकाय जताततै आफ्ना मान्छे पु(याएर सत्ता कब्जा गरी फाँसीवादतर्फ उन्मुख भएका छन् । देशलाई फाँसीवादमा जान नदिन सङ्घर्स गर्ने शक्ति क्रान्तिकारी शक्तिमात्र हो । अहिले देखिएका एकता हुन सक्ने भनेको क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीबीच मात्र हो । शश्त्रीय अध्ययनले मात्र हुने भए मोहनबिक्रम र किरणको नेतृत्वले क्रान्ति पूरा हुने थियो । यिनीहरूले बिगत पचास साठी वर्षदेखि नेतृत्व पनि गरिरहेका छन् । यिनीहरू बिप्लवको कार्यनीति सेटमा आएन भन्दछन् ।

सापेक्ष ज्ञान सेटमा अध्ययन गर्न सकिन्छ, निरपेक्ष ज्ञान श्रृङ्खलामा गर्न सकिँदैन । सङ्घर्षको माध्यमले निरपेक्ष ज्ञान प्राप्त हुने हो । यदि छिट्टै पहल गरिएन भने विप्लवको पार्टीले जस्तो प्रतिबन्ध अरू पार्टीले पनि ब्यहोर्न पर्ने छ । अब प्रचण्डलाई पनि ओलीले छाडीसके । यदि अझै छुट्टै भेला गर्ने, बिदेशी राष्ट प्रमुखहरूसंग सम्बन्ध गर्ने कोशिस गर्ने भ्रष्टचारका बिरूध्द बोल्ने, सरकारलाई सल्लाह भन्दै आफ्ना मान्छेलाई राज्यका विभिन्न निकायमा राख्न दवाव दिने गरेमा प्रचण्ड पनि जेल जान नसक्लान भन्न सकिन्न । अब देशलाई फाँसीवादमा जान रोक्नका लागि सबै पार्टीमा भएका बामपन्थीहरू एक ठाऊमा आउन आवश्यक छ । अब हुने बामपन्थी आन्दोलन वाद, विवाद र संवादको द्वन्द्ववादको माध्यमले नयाँ सिराबाट मात्र सम्भव छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।