आधी रातै थियो
खसमले हतार हतार उठायो
भन्यो उठिहाल्, जाऔं
मरे आफ्नै गाँऊमा मरौंला
बच्चाका केही पुराना
टालाटुली पोको पारेर
छिन्न लागेको चप्पल भिरेर
काखको बच्चा च्यापेर हिंडेकी हुँ
घर
पूर्व ओखलढुंगा हो
भन्छन् दश दिनमा त पुगिन्छ रे
खै, थाहा छैन
कहाँ आइपुगिएको छ यतिखेर
बजार पसल सुनसान छ
घरका दैलोहरु बन्द छन्
कालो चश्मा र मास्क लगाएका पुलिसहरु
बेला बेलामा भेटिन्छन्
भ्यान रोक्छन् र गाली गर्छन्
लक डाउन मा किन हिंडेको
हाल्दिऊँ खोरमा भन्छन्
बिन्ती बिसाउँदैको हैरान छ
खुट्टाको चप्पल
हिंड्दा हिंड्दै छिनेको छ
काखकी छोरी बोक्दा बोक्दै
हात फतक्कै गलेको छ
खोर हाल्दिउँ भन्ने भ्यानले
घरै पुर्याउईदिएको भए हुन्थ्यो नि बरु ‘
जस्ताको ट्याङ्का उचालेर
खसम चुपचाप अघि अघि घिस्रिरहेको छ
भन्थ्यो उहिले पंचायत थियो रे
सरकार काठमाण्डौंमा थियो रे, र
सरकारले दुःखमा हेर्थ्यो रे
देशमा गणतन्त्र आएको रे
अहिले त सरकार पनि ओखलढुंगै पुगेको छ रे
के हामी मुग्लान मै हो त अहिले ?
हिजो टिभीमा झुलुक्क देखिएको थियो
निलो कोट लाएको थियो
ठूलै नेता होला जस्तो लाग्छ
कुन्नी के भन्दै थियो
ठूलाबडाहरुलाई आदेश दिएको होला
हामी त ज्यामी न हौं
त्यो पनि कोरोनाको महामारीमा घर फर्कँदै
फेरी चुनाव पनि हैन नि अहिले त
ठूला नेताहरुलाई किन चाहियो र हामी ?
सहर जाने बेलामा
भन्थे खसमले
श्रम मन्त्री हुन्छ रे देशमा
जसले मजदूरहरुलाई हेर्छ रे दुःखमा
अहिले त कोरोनाको महामारी न हो
के दुःख होला र हेर्नु हाम्लाई
सुनाउँथे खसमले
महिला तथा बालबालिका मन्त्री पनि हुन्छ रे देशमा
जसले बच्चा र आमाहरुलाई हेर्छ रे दुःखमा
हामी त ज्यामी न हौं
कोरोनाको डरले भागेर गाऊँ हिंडेका
को छ र महिला यहाँ खै रु
मेरी छोरी त ज्यामीकी छोरी
कहाँकी बच्चा हुनु र ?
खुट्टाको चप्पल
हिंड्दा हिंड्दै छिनेको छ
काखकी छोरी बोक्दा बोक्दै
हात फतक्कै गलेको छ
पुलिसले खोरमा हाल्दिएन भने
घर
पूर्व ओखलढुंगा हो
भन्छन् दश दिनमा त पुगिन्छ । ‘
५ बैशाख २०७७









