के सुधार्ला मान्छेले आफूलाई ? (कविता)

लमतन्न सुतेका सडक
अग्ला–अग्ला महल
सुनसान सहर
साँच्चै सुन्दर देखिएको छ ।

गाउँलाई चहलपहल सुहाएजस्तै
सहरलाई सुनसान सुहाए झै लाग्ने
अचम्म,
यहाँ सब पूर्ववत् चलिरहेछ
मात्रै मान्छे पूर्ववत्
चल्न नपाएको हो ।
हावाको प्रवाह,नदीको वेग उस्तै छ
चराको चिर्विर
प्रकृति शान्त छ,सफा छ
यसलाई कुरुप बनाउने मान्छे
यति बेला त्रस्त छ
आफ्नै कुकर्मको फल भोगिरहेछ
र त मुख देखाएर हिड्न सकेको छैन
गुप्तवास छ ऊ ।

यो मान्छेले हारेको
प्रकृतिले जितेको बेला हो
सत्ता, शक्ति र सम्पत्तिको आडम्बरलाई
जीवाणुले फेल गराएको छ
र मेल गराएको छ विश्वलाई ।

सम्झनुस्
लय बिग्रनु नै
प्रलय आउनु हो ।
प्रकृतिको लय बिगारेकाले
मान्छे,प्रलय भोग्न विवश छ
लाग्छ,
यो भविष्य विर्सिएर
भूत सम्झने याम हो ।
पूर्वजको जीवन शैली सम्झिदै
आफ्ना भुलहरु महशुस गरिरहेछ मान्छे
के मान्छेले
अब सुधार्ला आफूलाई ।।

gkfriend8@gmail.com

२०७६–१२–३०
नुवाकोट, तारकेश्वर गाउँपालिका–१, दाङसिङ