तप्प तप्प चुहिएको छ
घामको पसिना
डुङडुङ्ती गन्हाएको छ
आफ्नै शरीर
एक तमास यात्रारत छन्
भरोसाका खुट्टाहरू
आफ्नै तापले ओइलाएर
लत्रक्क परेको जिउ
माटो टेकेर गाउँको गोरेटाहरूमा
उत्ताउलिएर दौडिएजस्तो
कहाँ हो र यो महासमरको यात्रा
पाइतालाहरू तात्तिएर
पग्लिएका छन् मैनझैँ
तप्पतप्प चुहिँदैछ रगत
एक दिन त गन्तव्यमा कसो नपुगिएला
कसो नभेटिएला घरको न्यानोपन
आफ्ना ममताका छहारीहरू
प्रिय मन, मुटु र धड्कनहरू
फगत यही विश्वासै विश्वासमा
भोक विरुद्ध युद्धरत अँध्यारा घामहरू
अलिकति आशाहरू बोकेर जेब्रा झोलामा
राजधानी छोडेर
त्रिसुली तरिरहे , तरिरहे नारायणी
उनीहरूसँगसँगै ताँती लागेर फर्किरहेछन्
दु:खैदु:खका पहाडहरू
सुस्केराका भन्ज्याङहरू
विस्मातका ओरालीउकालीहरू
रित्तारित्ता खल्तीहरू
तीर्खा मेटाउन पानीको बदला
पिउँदै पसिना र रगत
भोक मेटाउन खानाको बदला
चपाउँदै आफ्नै निरीहपन
गाउँ फर्किरहेछन् अँध्यारा घामहरू
गाउँ फर्किरहेछन्
गाउँले स्वागतमा फहराइरहेको छ
एकजोर बूढो आँखाका परेलाहरू
अखबारमा छापिएको छ –
एक हुल मानिसद्वारा लकडाउनको अवज्ञा !
२०७७/०१/०५









