पोखराका नागरिक अभियन्ताहरुले लकडाउनको समयमा पोखरा १९ घार्मीमा ९ हेक्टर वन फडानी भएको भन्दै यसरी वनविनाश गर्नेलाई कारवाही गर्न माग गरेका छन् । उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर भूमे पुज्ने तीसढुंगे सामुदायिक वन फडानी गरी व्यक्तिको नाममा दर्ता गर्न शक्ति समूह सक्रिय रहेको भन्दै सरोकारवालाको ध्यानकार्षण गराएका हुन् ।
लकडाउनका बेला पोखरामा वन फडानी गरिनु र सुकुम्बासी आयोग गठनबारे उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा सिटीजन जुरीको तर्फबाट वरिष्ठ अधिवक्ता तीलक पराजुली, पोखरा उपत्यका बृहत् सफाइ अभियानका संयोजक रामबहादुर पौडेल, रष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारी, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालकी शशि तुलाचन, नागरिक समाज पोखराका इन्द्रकमल मानन्धर र महिला मानवअधिकार रक्षक सञ्जालकी तारामाया थापामगरले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा अहिले जनताको जीवन रक्षामा केन्द्रीत हुनुपर्नेमा सुकुम्बासी आयोग बनाउनु जनअपेक्षा विपरीत भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आयोगल विगतमा सर्वजनिक जग्गाको चरम दुरुपयोग एवं वनजंगल मास्दै आएको जगजाहेर छ ।’
उनीहरुले यसलाई बेमौसमी बाजाको संज्ञा दिँदै यो कदम राजनीतिक पूर्वाग्रहबाट ग्रसित भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भूमिहीन नेपालीलाई न्यायोचित रुपमा जग्गा वितरण गर्न स्वतन्त्र, निष्पक्ष र योग्य व्यक्ति सम्मिलित आयोग गठन गर्न आग्रह गर्दै हालै गठित उच्च स्तरीय आयोग विघटन गर्न मागसमेत गरिएको छ ।






