कविता : चिम याने कि बत्ति

कुनै याम
दाइसँग बार्दलीमा
रोटीका ठुन्कासँगै
चियाको रङ साटिरहँदा
आमा
जिन्दगीको रङको कुरा गरिरहेकी थिइन्

चियाको चियर्समा
हारेको त्यो गिलास
प्याट्ट फुट्दा
आगनबाट बा
जिन्दगीको उज्यालोको कुरा गरिरहेका थिए

बर्षौको रटानले
फोरिएको चटान सरी
जिल्लास्तरीय जाँच पास गर्दाको समय
जुठेल्नाबाट दिदी
जिन्दगीको भाग्यको कुरा गरिरहेकी थिइन्

नयाँ वर्षको दिन
कालो बादल लिएर
आकाश डुलिरहँदा,
घर पछाडिको कर्साकर्सामा मनुवाहरू
जिन्दगीको गोरेटो खोजिरहेका थिए

निन्द्राबाट झल्यास्स ब्यँुझिएको म
हतारहतार ट्याक्क
बत्तिको बटन थिच्छु
अनि झुल्किन्छ
सिएफलले पनि विस्थापन गर्न नसकेको
मेरो कोठाको चिम याने कि बत्ति

जसले मलाई,
मुस्कानमा खुम्चिएको छाला
याने कि
उज्यालोमा अँध्यारो खोज्न सिकाएको थियो
अँध्यारो भगाउन त बत्ति जरुर बाल्नै थियो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।