माक्सकी सहधर्मिनी जेनी : व्यक्ति एक, व्यक्तित्व अनेक

आफ्नो निजी जीवनमा कार्लमाक्स जतिसुकै धेरै समस्याबाट गुज्रिएता पनि केही कुरामा उनी धेरै भाग्यमानी थिए । उनलाई एक समर्पित पत्नी ,वास्तवमै उनी सम्पूर्ण रुपले सहधर्मिनी थिइन् । जेनी माक्र्सकि दिदीकी साथी र माक्र्स भन्दा जेठी पनि थिइन् । उनी साच्चिकै गम्भीर ,सुरुचि सम्पन्न र शान्त स्त्री । जेनीलाई राम्रा र सु-सम्पन्न ठाउँहरुबाट पनि बिबाहको प्रस्ताव आइरहेको थियो । ती ठाउँहरु मध्ये जेनीले आफ्नोे लागि कुनै एक ठाउँ छनौट गरेकी भए ,कम्तीमा उनले त्यति धेरै दु:ख भोग्नु पर्थेन, जुन माक्ससित भोग्नुपर्यो । उनी एक राम्रो र खुशी जीवन पाउने योग्यता पुगेकी अब्बल थिइन् । यद्यपि उनले कार्ललाई नै मन पराइन र टिकाटालापछि बिबाहको लागि सात बर्षसम्मको लामो समय प्रतीक्षा गरिन् ।

जेनीले आखिर माक्र्समा के देखिन् ? वास्तवमा उनी त्यो रोग,भोक,अभावको आगोको हिस्सेदार हुन चाहिरहेकी थिइन् ,जुन तीव्र रूपमा जवान हुँदै आफ्नो ताप कार्लमाक्ससम्म पुर्‍याइरहेकि थिइन् । त्यो आगोले भरिएको माक्र्सको उथलपुथलपूर्ण जिन्दगीमा जेनी बाहेक कुनै अर्को जीवनसाथी माक्र्सका लागि त्यति जरुरी र उपयोगी हुन सक्दैन्थ्यो। त्यो स्थान प्राणपणबाट पतिसित समर्पित जेनीको नै थियो।

माक्र्स आफ्ना बिचार र कामका कारण जर्मनीबाट निकाला भए । त्यसपछि पेरिस ,ब्रसेल्स र त्यसपछि पेरिसमा भड्किदै लण्डन पुगेपछि भड्किने त्यो समय सकियो तर समस्याहरुको समय आजीवन सकिएन । पटकपटक उनलाई उनका काम र बिचारका लागि लखेटियो र एक देशलाई छोडेर अर्कोमा पुग्दा पनि उनले त्यही गरे र बारम्बार लखेटिए । कैयौंपटक त उनलाई राति हुनु पूर्वै देश छोड्नुपर्ने आदेश दिइन्थ्यो।

समस्याहरुको अगाडि कहिल्यै पनि कमजोर भैनन र आफ्नो कार्ललाई हरहालतमा साथ दिइरहिन्।

त्यस्तो अवस्थामा जेनीले धेरै समस्या झेल्नुपर्यो। एकदुई पटक त यस्तो पनि भयो कि,काखमा दूधे बालक र माक्र्सको हातमा देशनिकालाको आदेश, गर्भमा बालक र देश छोड्ने हुकुम ! माक्र्स एक्लै अन्तै र जेनी अन्तै।पेरिसबाट आउट भएपछि माक्र्स एक्लै लण्डन गए, पेरिसमा एक्लै गर्भवती जेनी। साथमा बच्चाहरु, पैसाको अभाव ।

यी सबै समस्याको सामना जेनीले अन्तिम अवस्थासम्म गरिरहिन्। समस्याहरुको अगाडि कहिल्यै पनि कमजोर भैनन र आफ्नो कार्ललाई हरहालतमा साथ दिइरहिन् । आफ्ना पति कार्लका लागि एकपटक त उनले पुलिसको हिरासतमा बेश्याहरुसित रात बिताउन बाध्य हुनुपर्यो, जब उनी ब्रसेल्समा माक्र्सको बारेमा सूचना लिन गएकी थिइन् । यति धेरै यातनादायक जिन्दगी थियो जेनीको।

माक्र्ससङ्ग जेनीले हर किसिमको पीडा र समस्या भोगिन् । लगातार दु:ख पाउनु हुनू, भोकमरी ,गरिबी र बिरामी ,ऋण तिर्न नसक्दा अपमानित हुनू, घरका सामानहरु फ्याकिनु, त्यस्ता सबै कुरा जेनीले सहिन् । उनलाई आफ्नो कार्लको संघर्षको महत्त्व राम्रोसँग थाहा थियो। त्यसमा त्यस किसिमका समस्याहरु त आउनुनै थियोे ।एक श्रीमती भएका नाताले यी समस्याहरु उनको स्वयं भोगेकी थिइन् । यद्यपि त्यो उनका लागि निकै सन्तोषको कुरा थियोे । किनकि ,उनले आफ्नो कार्लको काममा काधमा काध मिलाएर साथ दिएकी थिइन् ।

माक्र्सले लगातार आर्थिक अभाव झेल्नुपर्यो । महिनौंसम्म आलु र डबल रोटी एक छाक मात्र खान पाउने दिन पनि आयो । बच्चाहरुको उपचार नपाएर असामयिक निधन पनि भयो , उपचार अभावले मरेका उनीहरुको दाहसंस्कार गर्ने पैसा सम्म पनि थिएन । उनका बच्चाहरु ग्विदो र फ्रान्सिस्काको मृत्यु त कम उमेरमै भयो तर छोरा एड्गर त नौ बर्षमा मरे। त्यति ठूलो छोरा उपचार अभावमा मर्नु एक आमाको लागि निकै ठूलो पिडाको कुरा हो नै। ३-४ बर्षभित्र तीन -तीन बच्चाको मृत्युको पिडा कसरी भोगिन् होला जेनीले ? तर, त्यो पिडा भोगिन् उनले ।

माक्र्सको कष्टपूर्ण जिन्दगी सोच्ने हो भने जेनी गृहणी र जीवन सहयात्री एवं सहचरिको रूपमा एक अदभूत महिला हुन् । तर, त्यस्तो हुनुमात्र जेनीको सीमा थिएन । उनी एक बुद्दिमानी र प्रतिभाशाली महिला पनि थिइन् । जेनीको ब्यक्तित्वको आधार बौद्धिक, मन्त्रीसमेत भएको सुबिधा सम्पन्न परिबारमा हुर्केको थियो। कला -साहित्यको संस्कार र सोचबिचारको पूजी त उनलाई जन्म घरमै मिलेको थियो । ती सबै कुरा माक्र्ससित रहदा धेरै उपयोगी सिद्द भयो । त्यसैको आधारमा जेनीले बर्षौसम्म कार्लको सचिवको भूमिका कुशलतापूर्वक निभाइन् । देशबिदेश्को लागि माक्र्सको तर्फबाट चिठीहरु लेख्ने,पत्रहरुको जवाफ दिने काम उनले नै गरिरहिन् । जसमा उनको बिद्वता झल्किन्थ्यो। उनका नीजि पत्रहरुमा उनको सोच,गम्भीरता र गहिराइ झल्किन्थ्यो नै।

बौद्धिक स्तरमा माक्र्सका बिचारहरुले उनलाई प्रभावित गरेको थियो नै र त उनी माक्र्सका बिचारयात्राहरुमा बराबरको सहभागी रहिन्। चिठीपत्रहरुको अतिरिक्त जेनीले आजीवन माक्र्सका लेखहरु र पुस्तकहरुका प्रतिलिपीहरु तयार गरिन्। किन कि,माक्र्सको लेखन-पढ्न सङ्गसङ्गै मुस्किल हुन्थ्यो। कयौंपटक त उनको शरीर ज्वरोले पोलिरहेको हुन्थ्यो र त्यही हालतमा उनी लेखहरुका नक्कलहरु तयार गरिरहेकी हुन्थिन् । `पूजी´को पहिलो खण्डको पाण्डुलिपि उनले नै तयार गरेकी थिइन् ।

माक्र्सको घरमा उनका मित्रहरू , मजदुर आन्दोलनमा जोडिएका नेताकार्यकर्ताहरुको आउनेजाने क्रम चलिरहन्थ्यो। प्रायः बहस -छलफल भैरहन्थे। त्यसमा जेनीको सकृय सहभागिता हुन्थ्यो ।त्यसबाट जेनीलाई सही सोच बनाउन मद्दत मिल्यो र माक्र्सको बिचारयात्रामा सक्रिय सहभागिता निभाउन सकिन्।

उनको लेखिकाको रुप पनि स्वतन्त्र रुपले कायम भयो । लेखिकाको रूपमा उनले साहित्यिक र कला बिषयक मुद्दाहरुमाथि बिश्लेषणात्मक ढ्ङ्गले आफ्नो बिचार उपस्थित गरिन् शेक्सपियर र तत्कालीन रङ्गमन्चको उनले जति गम्भीर अध्ययन गरिन् , त्यसकै आधारमा उनले लण्डनको त्यस समयको रङ्गमन्च र नाट्यशैलीहरुमा एक लामो लेखमाला लेखेकी थिइन् ,जुन १८७५-७७ को मध्यमा जर्मन जनवादी समाचार पत्रमा धाराबाहिक छापिएको थियोे ।त्यसबाट जेनीको सूक्ष्म दृष्टि र विश्लेषण क्षमता बोध हुन्छ ।

बच्चाहरुको उपचार नपाएर असामयिक निधन पनि भयो, जेनीसँग दाहसंस्कार गर्ने पैसासम्म पनि थिएन । सन्तान उपचार अभावमा मर्नु एक आमाको लागि निकै ठूलो पीडा हो ।

उनले केही लेखहरु खण्डात्मक शैलीमा पनि लेखिन्। अङ्ग्रेजी पत्रकार रोल्स्टनको रुसी क्रान्तिकारी साहित्य माथि लेखिएको लेखको बिरोधमा उनले लेखिन्। त्यो लेखले रुसी साहित्यको बारेमा नयाँ र महत्त्वपूर्ण जानकारीहरु पनि दिथ्यो। त्यो लेखले युरोपमा ठूलै हलचल मच्चियो।

माक्र्सका सारा संघर्षहरु र बैचारिक यात्रामा बराबरीको सहभागी बाहेक उनले एक समझदार आमाको जिम्मेवारी पनि इमान्दारिपूर्वक निभाइन्। हरेक खाले अभावहरुको बीच तीन -तीन छोरीहरुको राम्ररी पालनपोषण एक कठिन काम थियोे । सम्पूर्ण समस्याको बीच उनी आफू त कम्जोर भैनन्, साथै आफ्ना छोरीहरुलाई कम्जोर हुनबाट बचाइन्। यतिमात्र हैन,हर चीजको सही पहिचान र कलासाहित्यको अभिरुचि पनि उनीहरूमा जगाइन्। छोरीहरुको राम्रो ब्यक्तित्व बन्न सक्नु ,उनीहरू मजदुर आन्दोलनको सिपाही बन्नु ती सबै कुराहरुको नतिजा थियो।

कार्लका बिचारहरु सफल र साकार भएको देख्नु जेनीको एकमात्र सपना थियो । जीवनभरि उनले त्यही आशाको प्रतीक्षा गरिरहिन्। माक्र्सको सपना आफैं पनि कुनै निजि सपना थिएन । त्यो सारा मानव समुदायको सपना थियो, तसर्थ त्यो एक सामूहिक सपना थियोे , जसले गर्दा जीवनको अन्तिमसम्म उनी माक्र्सको लागि एक ठूलो आवश्यकता बनिरहिन्। जिन्दगीको हातबाट जति चोट खानु थियोे ,उनले खाइन्,धेरै थप्पडहरु सहिन् र सम्पूर्ण चीजहरुको बीचबाट निख्रीएर अगाडि बढिन्।

जेनीको मृत्युपश्चात् माक्र्स भित्रका सबै कुराहरू समाप्त भैसकेका थिए र माक्र्स बिस्तारै हैन , तीव्ररुपमा मृत्युको बाटोमा गएका थिए । त्यही कारणले उनी जेनीको मृत्यु पश्चात् मुस्किलले २.५ बर्षमात्र बाच्न सके र उनलाई जेनीकै चिहान नजिकै गाडियो।

जेनीको सम्पर्कमा आउने जोपनि उनीबाट अवश्य प्रभावित हुन्थ्यो नै। यही कारणले धेरैहरु जेनीको ब्यक्तित्वको प्रशम्सक थिए । त्यस कारण जेनी बिचार र ब्यवहार दुबैमा एक महान महिला हुन् ।एङ्गेल्स लगायत कैयौं मानिसहरुले आफ्नो संस्मरणमा पूरै उदारताको साथ जेनी माक्र्सको याद गरेका छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।