पोखराले फेरी अर्को फुटबल खेलाडीलाई बेलायतमा गुमाउन पुगेको छ । १२ दिनदेखि अस्पतालमा उपचाररत लक्षिनबहादुर गुरुंगको कोरोनाले ज्यान लिएको हो ।
एक साता नवित्दै दुई खेलाडीको निधनले पोखरेली फुटबल क्षेत्र फेरी एकपटक स्तब्ध बन्न पुगेको छ । यसअघि पोखराकै पुराना खेलाडी मेखबहादुर गुरुगंको निधन भएको थियो ।
लक्षिन ६५ वर्षको उमेरमा निधन भएको हो । बेलायतस्थित रिडिंगमा बस्दै आएका उनी ए डिभिजन क्लब संकटाबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले गण्डकी अञ्चलबाट विभिन्न शहरमा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगिता समेत सहभागि भएका थिए । नर ट्रफीमा समेत गण्डकी अञ्चलबाट खेल्ने खेलाडीको रुपमा परिचित थिए । उनी विशेष गरी मिडफिल्डका राम्रा खेलाडी समेत हुन् ।
उपचारका क्रममा रेडिङको अस्पतालमा उनको निधन भएको समाजसेवी कमल गुरुङले बताएका छन्। दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ ।
घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने लक्षिणबहादुरको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ जना पूर्वगोरखा सैनिक छन्।






