चैत्र २९ गते २०७६

ताजा समाचार

चैत्र २९ गते २०७६

महामारी सिर्जित मानसिक समस्या: CBT हुनसक्छ समाधानको विधि



यसभन्दा अगाडिको लेखमा हामीले सिबिटी लाई एक प्रकारको साइकोथेरापी अर्थात मनोबैज्ञानीक उपचार बिधिको रूपमा परिचय गर्यौ। आज हामी सिबिटिमा हामीले कस्ता प्रकारका नकारात्मक बिचार  र विश्वाशको कारण आफुलाई बिभिन्न खाले मानसिक समस्या निम्त्याउन सक्छौ भनी उल्लेख गर्नेछौ।

एकपटक हामी फेरी सिबिटिमा प्रयोग हुने ए.बि.सि फ्रेमवर्कलाई दोहोर्याउ र विश्वस्त हौ कि हाम्रा कुनै पनि मानसिक समस्याको कारण हाम्रा आफ्नै नकारात्मक बिचार  र विश्वास हुन। जब कुनै पनि घटना हाम्रो जिबनमा घट्छ अनी हामी त्यस घटना प्रती आफ्नो विश्वाशको आधारमा कुनै धारणा बनाउछौ र सोही अनुसारको बिचार  हाम्रो मनमा उत्पन्न हुन्छ। अनी त्यसइ अनुसारको भाव हाम्रो मनमा उत्पन्न हुन्छ भने यसैको आधारमा हाम्रो प्रतिकृया बाहिरी व्यबहारमै देखिन पनि सक्छ। हामी हाम्रो जिबनमा यस प्रकृया प्रती सचेत भए पनि वा नभएपनी हामी बाचुन्जेल यो प्रकृया चली नै रहेको हुन्छ। त्यसैले यदी तपाईं सिबिटी मार्फत आफुलाई परिवर्तन गर्न चाहनु हुन्छ भने यो कुरालाई तपाईंले वास्तवमै बुझेको हुनु पर्छ। त्यसैले मैले यो ए.बि.सि फ्रेमवर्कलाई यहाँ दोहोर्याएर तपाईंलाई बुझाउन खोजेको हुँ।

अब हामी आजको आलेखमा सिबिटिमा प्रस्तुत गरिएका दस प्रकारका मानसिक बिचलनहरुको चर्चा गर्दै छौ। यि बिचलन हरु हाम्रो जिबनको अनुभवको आधारमा हाम्रो दिमागमा गडेर रहेका बिचार र विश्वाश हरु हुन। यि मानसिक बिचलनहरुको कारणले गर्दा हामी कुनै पनि बिषय वा घटना प्रती तथ्यपरक बिचार  गर्न, बिश्लेषण गर्न, त्यसलाई अनुभव गर्न वा त्यस बिषय वा घटना प्रती सहि ढंगले प्रतिकृया गर्न असमर्थ हुन्छौ, जसले गर्दा हाम्रो मानसिकतामा नकारात्मक प्रभाव पर्न जान्छ। यस्ता मानसिक बिचलन हरु प्राय सबै मान्छेमा धेरै थोरै त रहेकै हुन्छन, तर जसमा यि बिचलनहरु अत्यधिक हुन्छ, उनिहरुमा नकारात्मकता बढी नै हुन्छ जसको कारण उनिहरुमा मानसिक समस्या देखिन सक्छ। जब हामी आफुमा रहेका यस्ता मानसिक बिचलनहरुलाई पहिचान गर्न र बुझ्न समर्थ हुन्छौ, त्यसपछी हाम्रो मानसिक समस्याको आधा उपचार त भैसकेको मान्न सकिन्छ।

जब तपाईं यि मानसिक बिचलनहरुको बारेमा पढ्दै र बुझ्दै जानुहुन्छ,त्यतिबेला तपाईं आफुले पनि बेलाबेलामा यसरी नै सोच्ने र अनुभव गर्ने गरेको पाउन सक्नु हुन्छ। त्यसबेला तपाईं आफु ठुलै मानसिक रोगको शिकार भए कि भनेर आत्तिनु चाँही पर्दैन किनकी मैले भनी सके यि बिचलन हरु मानबिय स्वभाव नै हुन तर जब तिनिहरुको मात्रा बढी हुन्छ, त्यसले हामीलाई सताउने हो। (नेपाली साहित्यमा सिबिटी नौलो बिषय भएकाले मैले प्रयोग गरेका शब्दहरु उपयुक्त नहुन पनि सक्छन, अथवा मैले कतिपय शब्दलाई अनुवाद नगरि ईंग्लिश मै पनि प्रस्तुत गरेको छु, हामी शब्द भन्दा तिनको अर्थ र उपयोगीतामा केन्द्रित हुने प्रयास गर्नेछौ। र अर्को महत्वपूर्ण कुरा तपाईं कुनै पनि धर्म, दर्शन, ज्ञान बिज्ञान वा बाद्प्रती विश्वाश गर्न सक्नुहुन्छ र तपाईंका विश्वाश हरु सिबिटिका सिद्दान्त प्रती मेल नखान पनि सक्छन तर सिबिटी भनेको कुनै दर्शन वा खासमा सिद्दान्त पनि होइन,यो त तपाईं हाम्रा सोचाइ जसले हामीलाई दु:ख दिएका छन तिनको पहिचान गरेर हामीलाई सहि तरिकाले सोच्न सिकाउने माध्यम हो। त्यसैले एकैछिनको लागि भएपनी तपाईंले आफ्ना बिगतका सोचाइ र विश्वाशबाट मुक्त हुन सक्नु भयो भने तपाईंले चाहेको परिवर्तन सजिलो हुनेछ।)

आउनुहोस्, अब एक एक गरेर हामी हाम्रा सम्भावित मानसिक बिचलन हरुको पहिचान गरौ।    

१ अतिबादी सोच (All or Nothing Thinking/ Black or White thinking)

हामीले के कुरा बुझ्नु पर्छ भने हरेक कुरा परिवर्तनशील छ र कुनै पनि कुरा आँफैमा पूर्ण छैन वा हुन सक्दैन। आदर्शबाद धेरै मानिसको बिचारमा गढेर बसेको कुरा हो। हामीलाई सबै कुराले परिपुर्ण भएको एउटा भगवान चाहिन्छ। तपाईं मलाई नास्तीक चाँही नभन्नु होला तर आजसम्म हामीले सोचेजस्तो भगवानको यो धर्तिमा जन्म नै भएको छैन। जसलाई हामीले भगवान भन्यौ, उनिहरुमा पनि कुनै न कुनै कमजोरी देख्न सकिन्छ नै। यो यही हाम्रो आदर्शबादी सोचाइ हो जसले हामीलाई जिबनमा पर्फेक्ट हुन प्रेरित गर्छ। तर हामीले के बुझ्नु पर्छ भने सुधार सधैं गर्न सकिन्छ तर पूर्ण भने कहिल्यै पनि हुन सकिन्न। पूर्णता फगत एउटा मिठो सपना हो। भौतिक शास्त्रले पनि यो समस्त ब्रह्मान्ड समेत खुम्चिने र फैलिने क्रममा रहेको प्रमाणित गरिसकेको छ। यो त मैले कुरा गरे अतिबादी सोच सकारात्मक दिशामा।

अतिबादी सोच नकारात्मक दिशामा बढी देख्न सकिन्छ। कुनै पनि ब्यक्ती, बिषय वा घटनालाई सम्पूर्ण रुपमा नकारात्मक देख्न सकिन्छ। मानौ कि तपाईं कुनै एउटा परिक्ष्यामा कुनै एउटा बिषयमा फेल हुनु भयो। यो एउटा घटना भयो। अब तपाईं के सोच्नु हुन्छ भने तपाईं वास्तवमै एउटा असफल विद्यार्थी हो। खास कुरा के हो भने तपाईं एउटा परिक्ष्यामा एउटा बिषयमा कुनै कारणले गर्दा फेल हुनु भएको हो। तर तपाईं सोच्दै हुनुहुन्छ कि तपाईं पूर्णतया असफल विद्यार्थी हो। तपाईंले यहाँनेर परिस्थितीको सहि मुल्याङ्कन गर्न सक्नु भएको छैन। यो तपाईंलाई सामान्य कुरा लाग्ला तर यदी तपाईंमा कुनै मानसिक समस्या छ भने तपाईंले यस्तै यस्तै गलत तरिकाले सोचिरहनु भएको हुन सक्छ जसप्रती तपाईं सचेत हुनुहुन्न। त्यसैले तपाईंले कुनै पनि बिषय वा घटना जे हो त्यसलाई त्यसरी नै बुझ्न र स्वीकार गर्न सिक्नुपर्छ।

यो कुरालाई अहिलेको कोरोना भाईरसको महामारी सग पनि जोड्न सकिन्छ। कसैले भन्न सक्छ यो कोरोना भाईरस केही पनि होइन यसले मलाई केही पनि गर्न सक्दैन। वा अर्कोले भन्न सक्छ यो कोरोना भाईरस लाग्यो भने त मरिहालिन्छ। यि दुबै अतिबादी सोचाइ भए जसले तपाईंलाई यो भाईरस बाट जोगिने सहि उपाय अबलम्बन गर्न प्रेरित गर्दैनन। त्यसैले तपाईंले यस् भाईरसको बारेमा तथ्यपरक सुचना प्राप्त गर्नु पर्ने भयो। फेसबूक वा कुनैपनी संचार माध्यममा आएको कुरा पनि सहि नहुन सक्छ भन्ने तपाईंले बुझ्नुपर्ने भयो।

अती सर्बत्र बर्जयत भनेर हाम्रा शास्त्र हरुमा उल्लेख भएको कुरा यहाँ स्मरण गर्न सकिन्छ है!

यस कुरालाई माथि उल्लेखित सिबिटिको ए.बि.सि फ्रेमवर्कमा कसरी बुझ्न सकिन्छ तपाईं आँफै एकपटक हेर्न सक्नुहुन्छ।

२ सामान्यिकरण – अती सामान्यीकरण (Generalisation)

कुनै निस्चित सन्ख्याको तथ्यको आधारमा कुनै पनि बिषयलाई सामान्यीकरण गर्नु हाम्रो सिकाइको आधार हो। कृपया यसलाई जटिल दार्शनिक ज्ञानको रूपमा नलिइदिनुहोला किनकी हामीले प्रत्यक समय यसरी नै हाम्रो वरिपरिको बातावरणलाई बुझेका हुन्छौ। जब हामी थुप्रै सन्ख्याको रूखहरु हरियो देख्छौ अनी हामी स्वभावतह के बुझ्छौ भने रुखहरु हरिया हुन्छन। जब हामी लामो कपाल भएका धेरैजसो मान्छे लाई महिला वा केटीको रूपमा पाउछौ अनी हामी के मा विश्वस्त हुन्छौ भने महिलाको कपाल लामो हुन्छ। यो हाम्रो सिक्ने प्रकृया हो र यो आबस्यक पनि छ। तर यही सिक्ने तरिका हाम्रो मानसिक समस्याको कारण पनि हुन सक्छ। किन भने हाम्रो जिबनमा केही नकारात्मक घटना हरु घट्न सक्छन। तर मात्र केही नकारात्मक घटनाको आधारमा कुनै पनि बिषयलाई सामान्यिकरण गर्नु हाम्रो लागि घातक हुन सक्छ। मानौ एक दिन तपाईंले कुनै साथी सग केही सहयोग माग्नु भयो, तर तपाईंलाई सहयोग प्राप्त भएन। अनी तपाईंले के सोच्न भ्याउनु भयो भने म एकदम अभागी मान्छे हुँ, मलाई अरुको सहयोग प्राप्त गर्ने भाग्य नै छैन, आदी आदी। यहाँनेर तपाईंले यस घटनालाई आधार मानेर आफ्नो कमजोरिलाई सामान्यीकरण गर्नु भयो।

फेरी एकपटक यस किसिमको मानसिक विचलनलाई अहिलेको कोरोना महामारी सग पनि जोडेर हेरौ। हालसम्मको तथ्यान्कलाई हेर्दा अहिलेको कोरोना भाईरसले बिशेषगरी प्रौढ ब्यक्तिहरुलाई बढी सताएको देखिन्छ। तर तपाईं बिचार गर्नुस् कि यही तथ्यलाई आधार मानेर कुनै पनि प्रौढ ब्यक्तिले यसरी सोच्यो कि यो भाईरसले गर्दा संसारका सबै बुढाबुढी हरु मर्ने भए। अब उसले त यो सोच्नै नसक्ने हुन सक्छ कि एक दुई जना त सय बर्ष वारीपरिका बिरामी समेत यो रोग लागेर पनि पूर्ण मुक्त भएका छन। जब तपाईंलाई कुनै पनि बेला आफु अती सामान्यीकरणको बानिले गर्दा नकारात्मक भएर पीडित छु भन्ने लाग्छ भने तपाईंले सम्बन्धित बिषयमा थप र उपयुक्त तथ्य के हुन सक्ला भनी सोच्नु पर्ने हुन्छ। यो सधैं त्यती सजिलो त नहोला तर तपाईंले वास्तवमै अभ्यास गर्नु भयो भने चाँही सकारात्मक बानिको बिकास गर्नु कुनै महाभारत चाँही होइन।

३ मानसिक फिल्टर (Mental Filter)

सिबिटिको मानसिक फिल्टर भन्नाले के बुझिन्छ भने कुनै पनि ब्यक्तिले कुनै पनि बिषय, ब्यक्ती वा घटना प्रतिको नकारात्मक भावलाई बिर्सन सकिरहेको हुँदैन र उ सधैं एउटै नकारात्मक कुराले पिरोलीइरहेको हुन्छ। बिशेषगरी तनाबग्रस्त अवस्थामा हामी यस्तो खाले मानसिक बिचलनको शिकार हुन सक्छौ। मानौ कि कुनै अफिसमा काम गर्ने एउटा कर्मचारी एक दिन अफिसमा दस मिनेट ढिला गरी पुग्यो। अब उसले के सोच्न थाल्यो भने मैले आज पक्कै पनि म्यानेजरको गाली खान्छु। सम्योगले दिनभर ढिलो सम्म उसको म्यानेजर सग भेट भएन। र उ दिनभर यही कुराले तनाबग्रस्त भयो कि बेलुका सम्म पक्कै म्यानेजरले उसलाई गाली गर्नेछन।अथवा उसको जागिरै पो जाने हो कि?  यो उसले सोचेको कुरा भयो। तर वास्तवमा चाँही जे पनि हुनसक्छ। के थाहा त्यो दिन म्यानेजर आँफै अनुपस्थित पो थिए कि?

४ सकारात्मकताको शुन्यीकरण (Disqualifying the Positive)

यो एउटा आम मानिसले गर्न सक्ने कमजोरी हो। यस्तो मानसिक बिचलन भएको मान्छेले कुनै पनि बिषय वा घटनाप्रती पुर्बाग्रह पालेर बसेको हुन्छ अनी उसले हरेक परिस्थितीमा नकारात्मकता मात्रै देख्ने गरेको हुन्छ।

हामीले एउटा खास के कुरा बुझ्नु पर्छ भने दुनियाँमा प्राय जसो हरेक नकारात्मक परिस्थितीमा कुनै न कुनै सकारात्मक पाटो लुकेर बसेको हुन्छ। तर मानसिक बिचलन भएको मान्छेले चाँही उल्टो देखिरहेको हुन्छ। उ चाँही हरेक सकारात्मक परिस्थितीमा पनि नकारात्मकता देख्न बानी परेको हुन्छ। र जब कुनै सकारात्मक घटना घट्छ, उ त्यस्तो बेलामा पनि नकारात्मक केही खोज्न सिपालु हुन्छ।

मानौ कोही एउटा ब्यक्ती कमजोर आर्थिक अवस्थामा गुज्रिरहेको छ। र यस्तो अवस्थामा उसलाई कुनै एउटा साथीले केही आर्थिक सहयोग गर्‍यो। अब त्यो सहयोग पाउने मान्छे खुशी हुनुको सट्टा उसले सोच्यो कि म कमजोर भएको हुनाले साथीहरुले पनि मलाई दया देखाउन थाले। म त खत्तम नै भैसके नि। अब यस्तो मान्छे खत्तम नभएर के हुन्छ त?

यसबाहेक म यहाँनेर हाम्रो समाजमा प्रचलित एउटा आम उदाहरण दिन चाहन्छु। मास मेडिया र लोकतन्त्रको अभिशापको रूपमा रहेको एउटा हाम्रो खराब बानी के छ भने हामी हरेक कुनै पनि समाचारमा नकारात्मक टिप्पणी गर्न माहिर छौ। त्यसैले जब कुनै राम्रो ब्यक्ती, संस्था, वा सरकारले राम्रै काम गर्‍यो भने पनि हामी त्यसमा अनाबस्यक टिप्पणी गरेर हाम्री समय र शक्ती खर्च गरिरहेका हुन्छौ। बिशेषगरी हामी शिक्षित र सचेत ब्यक्तिले यसबारेमा सोच्ने कि?

५ निचोड वा साराम्शको हतारो- भबिश्यबाणी ( Jumping to Conclusions )

हात हेराउने वा ज्योतिषको प्रभाव हाम्रो समाजमा कती प्रचलित छ भनेर सम्झाइरहनु नपर्ला। कुनै पनि भरपर्दो तथ्य बिना नै कुनै पनि कुराको सार, त्यो पनि नकात्मक तरिकाले निकाल्ने बानी पर्‍यो भने हाम्रो ब्यक्तिगत बिकास हुन सक्दैन। कुनै पनि एउटा घटना घत्ने बित्तिकै त्यसैको आधारमा यस्तो यस्तो नराम्रो हुन्छ नै भनेर आत्तिने मनोबिकार हो यो।

तर जुन बिश्वासको आधारमा सार निकालेर हामी चिन्तित हुन्छौ,ती प्राय झुठा हुन सक्छन। उदाहरणको लागि तपाईंले बाटोमा एकजना आफन्तलाई भेट्नु भयो तर उनी तपाईं सग बोलेनन। अब तपाईं यो चिन्तामा फस्नु भयो कि यि मान्छे मसग रिसाएका रहेछन। अब तपाईं उनी तपाईं सग यो यो कारणले रिसाए होलान भन्दै भोली पर्सी त अझ के नै पो गर्लान भन्दै आत्तिन थालनु भयो। खासमा चाँही उनले तपाईंलाई देख्दै नदेखेका अथवा आँफै कुनै चिन्तामा फसेका पनि त हुन सक्छन। बिचार  गर्नुस् है, यस्तो भुल हामीले धेरै पटक गरेका हुन सक्छौ।

६ भावनागत तर्कना (Emotional Reasoning)

यहाँनेर चाँही सिबिटिले के भन्छ भने तपाईं हामीले महशुश गरेका भावनाहरु क्ष्यणिक र तत्कालिन परिस्थितीका उपज हुन। केही समय बितिसकेपछी तपाईं त्यही भावनामा रहन सक्नु हुन्न। तर यदी तपाईं हामीले आफुले अनुभव गरेका भावनाहरु सधैंको लागि रहने जस्तो गरी तिनलाई नै सत्य मान्न थाल्यौ र तिनै नकारात्मक भावहरुबाट निर्देशित हुन थाल्यौ भने त्यसले हामीलाई साच्चैको नर्कमा पुर्याउने निस्चित छ।

बिशेषगरी डिप्रेसन बाट पीडित ब्यक्तिहरु यस्तो समस्या बाट ग्रसित हुन्छन। किनकी उनिहरुको मुड बेलाबेलामा नेगेटिभ भएको हुन्छ र त्यस्तो मुड भएको बेलामा उनिहरुलाई लाग्न सक्छ कि यो नै मेरो नियती हो। म यसबाट कहिल्यै बाहिर निस्किन सक्ने छैन। यही नकारात्मक स्वभाव नै उनिहरुको समस्याको कारण हो भन्ने उनिहरुलाई थाहा नहुन सक्छ।

अहिले हामी जुन कोरोना भाईरसको महामारी झेलिरहेका छौ यस्तो बेलामा पनि हामी धेरैलाई नकारात्मक भावले गाजेको हुन्छ। यस्तो बेलामा तपाईं आत्तिएर कुनै समाधान आउने होइन। बरु आत्तिनु नै तपाईंको समस्या भैदिन सक्छ। तपाईंले के बुझ्नु पर्छ भने यस्तो समस्या मान्छेले बेलाबेलामा भोग्दै आएको कुरा हो र यो पनि ढिलो चाडो समाप्त हुनेछ।

७ न्युनिकरण- अधिकिकरण (Minimization/ Maximization)

यसको अर्थ चाँही के हो भने यस्तो मनोबिकार भएको मान्छेले कुनै पनि सानो नकारात्मक घटनालाई बढाइचढाइ गरेर आकाश नै खसे सरह बनाउन सिपालु हुन्छ। मानौ कि कसैको खुट्टामा सानो मासु पलाएर मुसा जस्तो देखियो र अब उसले सोच्न थाल्यो कि उसलाई त क्यान्सर नै भयो। यसरी सोच्ने ब्यक्तिको मानसिक अवस्था कस्तो होला तपाईं अनुमान लगाउन सक्नुहुन्छ।

८ कडा नियम उन्मुखता (Rigid Rule keeping)

हामीले यस आलेखको सुरुमै पनि पूर्णता प्राप्तिको चाहना अश्वस्थ भएको कुरा गरिसक्यौ। खासगरी यस्तो चाहना राख्ने ब्यक्तिले आफुलाई कडा अनुशासनको घेरामा राख्न खोज्छन। उनिहरु साना साना कुरामा पनि यस्तै अथवा आफुले भनेजस्तै हुनुपर्छ भन्ने आग्रह राख्छन। जसको कारण उनिहरु र उनिहरु संगै बस्ने, काम गर्ने मानिसलाइ समेटा अप्थ्यारो पारीरहेको हुन्छ। यस्तो मनोबिकार भएका मान्छेलाई नै ओसि.डि अर्थात ।।। जस्तो रोग देखिने हो। जुन रोग भएका मान्छेलाई बारम्बार हात वा केही कुरा सफा गरिराख्नु पर्ने अथवा त्यस्तो केही गर्नैपर्ने बाध्यता हुन्छ जसले उनिहरुकी दैनिक जिबन राम्रो हुनुको सट्टा अस्तब्यस्त भैरहेको हुन्छ।

९ अंकेतिकरण (Labeling)

यो पनि आम मानिसमा देखिने मानसिक विचलन हो, जसमा हामी आँफैलाई अथवा अरु ब्यक्तिलाई कुनै एक दुई वटा व्यबहारको आधारमा मुल्याङ्कन गर्ने र ट्याग लगाउने काम गर्छौ। जस्तो कि तपाईं कुनै एउटा काममा असफल हुनु भयो र यसैको आधारमा तपाईंले आफुलाई एउटा असफल ब्यक्तिको बिल्ला लगाइदिनु भयो। अथवा तपाईंले अरुलाई त्यस्तो मुल्याङ्कन गर्नु भयो। हामीले दैनिक जिबनमा प्रयोग गर्ने यस्ता थुप्रै बिशेषण हरु छन जुन हाम्रो वा कसैको ब्यक्तित्व सग सधैंको लागि टासिएर बसेका हुन्छन। दैनिक बोलिचाली र सोचाइमा यि हाम्रो मानसपटलमा गढेर बसेको देख्न सकिन्छ। कतिपय अभिभाबक र शिक्षक हरुले समेत आफ्ना बच्चाहरुलाई गाली गर्ने क्रममा बिभिन्न खाले शब्द प्रयोग गरेको पाईन्छ जसले उनिहरुको सम्बेदनशील मस्तिश्कमा गहिरो नकारात्मक प्रभाव पारीरहेको हुन्छ।

१० निजत्वकरण (Personalisation)

निजत्वकरण त्यस्तो मानसिक विचलन हो जसमा ब्यक्तिले कुनै पनि नकारात्मक घटना जसमा उसको खासै भूमिका हुँदैन, त्यसमा पनि उसले आफ्नै जिम्मेवारी देखेर आँफैलाई दोशी महशुश गर्छ। उदाहरणको लागि तपाईं र तपाईंको साथीको बिचमा कुनै दिन सामान्य खटपट भयो र सम्योगबश त्यही दिन तपाईंको साथीको गम्भिर दुर्घटना भयो। अब तपाईंलाई लाग्न सक्छ कि तपाईंको कारणले नै साथीको दुर्घटना भयो। यस्तो दोशको भावना देख्दा सामान्य लागे पनी कसैकसैलाई चाँही यसले असाध्यै पिडा दिइरहेको हुन्छ।

यसरी हामीले सिबिटिमा प्रयोग हुने दस प्रकारका मानसिक बिचलनहरुको चर्चा गर्यौ। माथि उल्लेखित बुदाहरु एक आपसमा मिल्ने खालका पनि छन तर हामीले बुझ्नुपर्छ कि यि प्रत्यक खालका मानसिक बिचलनहरुले हाम्रो मानसिकतामा फरक फरक तरिकाले प्रभाव पारीरहेका हुन्छन। हाम्रो मन वा मस्तिस्क पनि एउटा मेशिन जस्तै नियममा चलेको हुन्छ र यो नियमलाई हामीले बुझ्न सक्यौ भने हाम्रो मन-मस्तिश्क हाम्रो नियन्त्रणमा हुन्छ। अन्यथा हामी हाम्रो आफ्नै मनको कारण आँफै पीडित हुनुपर्ने हुन सक्छ।

अन्त्यमा तपाईंलाई जिज्ञासा हुन सक्छ कि सिबिटिले कसरी यि माथि उल्लेखित मानसिक बिचलन हरु हटाउन सहयोग गर्छ। त्यसको लागि बिभिन्न मनोबैज्ञानीक तरिकाहरु अबलम्बन गरिन्छ र यि प्रकृयाहरु सुधार र प्रयोगकै क्रममा पनि छन। आधुनिक मनोबिज्ञान अझै पनि बिकास हुने क्रममै छ भन्नु अत्योक्ती चाँही नहोला, तपाईंको अध्ययन र प्रयोग अरुको लागि पनि काम लाग्न सक्छ, त्यसैले सकेसम्म जानकारी बटुल्ने र आफ्नो ज्ञानलाई निखार्दै जान सक्नु भयो भने के थाहा तपाईं पनि अर्को मनोबैज्ञानीक पो हो कि? 

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं