कविता : कोरोना

फैलाएर बिश्वभरी
मृत्यु आतंक
भयभित तुल्याई
सिङ्गो मानव समाज
नचाउँदै बिषालु नङ्राहरू
किन खेल्दैछस् तँ
सृष्टिको सुन्दर सृजनासित
यो अपृय खेल रु

एउटै घरभित्र आज
बिराना भएका छन्
परिवार !

पति पत्नीबिचमै
दुरी कायम गरि
अभिभावक र सन्तानहरूमै
निश्चित नाका कोरी
मायाको गर्दन रेट्दैछस्
ममताको रगत चुस्दैछस् !

हल्लाएर टङ्रङ टङ्रङ
मनको घण्टी
त्रशित भई आपसमा
बिरालो जीवन बाँचिरहेछन्
यतिखेर
बाँच्नेहरू
र,मर्नेहरूको पनि
मलामी खोस्दैछस् !

बिजुलीको करेन्टजस्तै
झट्का अवतरण गराई
क्रुरताको बेल्नाले
सुमधुर आवाजहरू पोल्दैछस् !
बाल खित्काहरू बेल्दैछस् !
किन खेल्दैछस् तँ यसरी
सृष्टिको सुन्दर सृजनासित
यो अपृय खेल !

हराएको छ आज
बस्ती बस्तीमा
मानवधून हराएको छ !

सुनिन्छ निश्तब्धतामा
चिरविर चिरविर
केवल चराका कमजोर स्वर !
सदा झैँ चराहरू मान्छेसित
उसैगरी
जीवनको लय साट्न खोजिरहेछन् !

भौतारिँदै
शून्य सडकपेटि र चोकचोकमा
बाँ बाँ गर्दै बाच्छाहरू,
भोक भुक्दै कुकुरहरू
खोजिरहेछन्
आ(आफ्नै घरमा मौन बन्धित
ती अन्नदाताहरूलाई खोजिरहेछन् !

मान्छे सबै उस्तै हुन्
काला हुन् या गोरा
नजिक हुन् या टाढा।।
विचारको लडाइँ लडे पनि
शिद्धान्तको सिमाना जडे पनि
विश्व बिपत्तिमा
न देश छुट्टिन्छ न जाति
त्यतिखेर मान्छे
मात्र मान्छे हुन्छ !

त्यही मान्छेले ध्वस्त पार्छ अन्ततस्
सबै अपृय खेलहरू
आँखा खोलेर उठ्छ जुरुक्क ऊ
युद्ध मैदानबाट
अनि क्षतबिक्षत छेडेर मृत्युहुँकार
पुर्याउँछ ऊ अझै ठाढा
आफ्नो शाहशीवाण !

त्यसपछि
खेल्ने छैनस् कोरोना तैँले कहिल्यै
फेरि अपृय खेल १
असत्यको जीत क्षणीक मात्र हो ।

तैँले कहाँ सक्छस् र
गति रोकिरहन ?

बस्तीबस्तीमा
फेरि गुञ्जन्छन् मानवधून
चराहरूले मान्छेसित उसैगरी साटिरहनेछन्
जीवनको लय !

किनकी
सृष्टि कहिले रोकिँदैन !!