उदार प्रजातन्त्रको
अनुदार लगौंटीमा
लिखा परेर त्यसका प्रतापको
भिरङ्गीजस्तै चिलाइरहेछ
इम्पोर्टेड मानवअधिकार
बाघले लखेटेको
असहाय मृगझैँ
मसानघाटमा चित् छ खुलाबजार
कहाँ सुतिरहेछ एटोमिक इनर्जी
कुन छौंडा खेलाइरहेछ न्युक्लियर बम
कुन चर्चमा च्यान्टिङ गर्दैछ
हजारौँ माइल मार हान्ने मिसाइल्स
भोका बस्तीहरुमा पड्किने मिसिनगन
किन यति सारो
गाउँबाट लखेटिएको
भातमारा जोगीझैँ
भयभीत छ त्यसको पनडुब्बी
किन
गँजडीको अखाडाझैँ भयो
लुकेर मार हान्ने त्यसको ट्रेन्च
किन टुहुरो भइरहेछ
तेस्रो विश्वतिर फर्किएको रकेट लन्चर
सारा आवश्यकता
पुरा गर्छु भन्थ्यो त एउटै छानाबाट
किन
वेश्यालयमा लुटिएको लम्पटझैँ मौन छ
त्यसको विशाल मल र सुपरमार्केट
उफ् ! ग्रोसरीको प्लास्टिक झोलाले
टाउको छोपिरहेछ डाक्टर
अनिकालको अन्नझैँ
किन भइरहेछ मास्कको यो अभाव
मलाई
यतिखेर प्रश्न गर्न मन लागिरहेछ
ओ, ब्रो ग्लोबलाइजेसन !
महामारीमात्रै बोक्छ तेरो सुपरसोनिक विमान
वा
भुतुक्क निभेर यो रात
अनायास
निर्भय उज्यालाको आभा छर्ने
विश्वव्यापी शुभबिहानीको
ल्याउँछ सुखद खबर पनि ?
२०७६।१२।१९ राती ११ बजे




