चैत्र २४ गते २०७६

ताजा समाचार

चैत्र २४ गते २०७६

कथा : म चिठी होइन, बम बोकेर पोखरा झर्ने छु



फेसबुक चलाउँदै थिएँ । कोरनाको महामारीले बाहिर निस्कने कुरै भएन । सरकारले पनि पुरै नेपाल लकडाउन गरेको छ ।अपरिचित व्यक्तिबाट अचानक म्यासेन्जरमा सन्देश आयो । सुरुमा अचम्मित भएँ । सबै पढी भ्याउँदा भावुक बनायो । श्यामप्रसाद दाइ घर पुगिसकेछ्न् । श्याम दाइको चिठी जस्ताको त्यस्तै ।

सुरज सर,नमस्ते !

हिजो बेलुका मात्रै घरमा आई पुगेँ । हजुर आराम हुनुहुन्छ होला । म पनि आराम छु । हिजो धेरै नै थकाइ लाग्यो । चार दिनदेखिको हिँडाइले लखतरान परेको छु । के गर्नु सर, पोखरामा बस्न सकिएन, भोकभोकै भिकारी भएर बस्नु भन्दा घरमै फर्किनु उचित ठानेँ । यता आउने बेलामा लकडाउनले गर्दा भेट हुन पनि पाइएन । त्यही भएर यो चिठी लेख्दै छु । झर्को नमानी पढिदिनु होला ।

सर, म पोखरा बसेको २० वर्ष भएछ । बिस वर्षै भयो मैले पोखरामा कुल्ली काम गरेको । जनयुद्ध सुरु हुँदै गर्दा मलाई पार्टीले चिठी दिएर पोखरा पठाएको थियो । हो, त्यही चिठी हजुरलाई दिँदा मेरो चिनजान हजुरसँग भयो । छपन्न सालतिर हुनुपर्छ । हो, त्यही साल हजुर ट्रान्सपोर्टमा काम गर्नु हुनुहुँदो रहेछ । मलाई पनि पोखरा बस्न मन लाग्यो । एकै वचनमा मलाई पोखरामा बस्ने वातावरण मिलाईदिनु भयो । सायद हजुर ट्रान्सपोर्टमा नभएको भए चिप्लेढुङ्गाको चौतारीमा बस्ने कुल्ली साथीहरूसँग मेरो चिनजान हुने थिएन । म त्यही दिन बुर्तिवाङ फर्किने थिएँ ।

मलाई आतेजाते खर्च पार्टीले दिएको थियो । पोखराको रमाइलो देखेर रमाएँ । पोखरामै मेरा यतिका दिन बिते । आज घरमा सबै परिवारसँग हुँदा हजुरको याद आयो ।चिठी लेखेँ । सर, पोखरामा बीसवर्ष बित्दा मेरो आफ्नो मान्छे भनेको हजुर मात्रै हुनु भयो । आज घरमा हुँदा मलाई रुन मन लाग्यो सर । एक छिन पाखातिर गएर एक्लै रोएँ अनि यो चिठी लेख्दै छु । सम्झिनुस्, यो चिठी मैले मसीले होइन मेरो आँखाको आँसुले लेखेको हुँ।

हो सर, मैले पार्टीले भनेको काम गरेर खुरुक्क फर्किएको भए सायद मैले मेरो गाउँलाई हराभरा बनाउने थिएँ । आज गाउँ पुरै रित्तो छ । खेतबारीहरू बाँझै छन् । गाउँमा काम गर्ने कोही छैनन् । मैले पोखरामा बगाएको पसिना यही माटोमा बगाएको भए आज मेरो गाउँ कस्तो हुन्थ्यो होला ? कुल्ली काम गरेँ । ‘संसारका मजदुरहरू एक हौँ’ भन्दै पाटीको झन्डा बोकेर हिँडेँ । आज त्यही पार्टीको सरकार हुँदा म भोकभोकै घर फर्किनु पर्यो। घरसम्म आईपुग्दा मैले बिस्कुट र पानीमात्रै खाएँ । हिजो बेलुकी मात्रै हो एक गाँस भात र तिहुन मुखमा परेको ।

‘संसारका मजदुरहरू एक हौँ’ भन्दै पाटीको झन्डा बोकेर हिँडेँ । आज त्यही पार्टीको सरकार हुँदा म भोकभोकै घर फर्किनु पर्यो।

साँच्ची सर, जनयुद्धताका माओवादी नेताले हामी कुल्लीलाई अति माया गर्थे । हामी नै त थियौँ नि उनीहरूका असली कार्यकर्ता । जे भन्यो त्यही मान्ने थियौँ। हामी मैला मान्छेहरूलाई पुलिसले पनि वास्ता गर्दैनथ्यो । जाबो कुल्ली भनेर कर्फ्युमा समेत छोडिदिन्थ्यो । त्यही कर्फ्युको बेलामा बम पड्किन्थ्यो पोखरामा । ती दिनहरू सम्झिँदा अहिले पनि जोस आउँछ सर । फेरि आफ्नो अवस्था सम्झिँदा होस आउँछ । मेरा जवानीका दिनहरू खेरै गए ।

मेरो र मजस्ता लाखौँको जवानी गणतन्त्र प्राप्तिको लागि दान दिएर के भयो र रु उही हजुरले भन्ने गरेको सरकारी कम्युनिस्टले के नाप्यो र ?

धेरै बोल्यो भन्नुहोला । घरमा गएर ठूलो पल्ट्यो भन्नुहोला । यो महामारीको बेलामा बोलेर पनि काम छैन । यी गन्थनहरू अर्को चिठीमा लेख्नेछु । मेरो पोखरातिर केही व्यवहार छ, मिलाई दिनुहोला । उजेली दिदीको खाजा पसलमा ढाड दुख्ने दबाइ (रक्सी) र चिया खाएको चौध सय तिर्न छ । हुकुम दाइलाई तीन सय तिर्न छ । मेट्रोसिटी फार्मेसी काजी सरको मेडिकलमा प्रेसरको दबाइ किनेको एघार सय तिर्न छ । हिमशिखर इन्टरप्राइजेजमा रासनको पनि तिर्न छ । रासनको रकम कति छ, त्यो त मलाई ठ्याक्कै थाहा भएन । मेरो विचारमा तीन हजारभित्रै होला ।

सुरज सर, ठेकेदारसँग पन्ध्र हजार रूपैयाँ लिन छ । सरकारी नेकपाकै नेता हो । अहिले ठेकदार भएको छ । ऊ त्यो…..के चिन्नु भयो नि ? हजुरसँगै बसेर कहिलेकाहीँ चिया पनि खान्छ । हो त्यससँग पैसा मागी दिनुहोला र मेरो हिसाब मिलाई दिनुहोला । यदि पैसा दिन खोजेन भने मलाई खबर गर्नू। म चिठी होइन बम बोकेर पोखरा झर्ने छु ।
उही हजुरको शुभचिन्तक
श्यामप्रसाद मगर

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।