आज विश्व कोरनामय भएको छ । नयाँ प्रजातिको भाइसरको प्रकोप बारे आरोप प्रतिआरोपको श्रृखला पनि थपिदै गएको छ । राजनैतिक वादको आधारमा जुहारी चलेको छ । यसलाई जैविक हतियारको रुपमा पनि चित्रण गरिएको छ । पढेका मुर्खहरुले मरेको बाघलाई जीवन दिदा आफैप्रति जाईलागेको कथा, नयाँ आविष्कारको प्रहारले अर्को दिन संसार ध्वस्त हुने खूसियालीमा अघिल्लो साँझमा भएको अन्तिम भोजको कथाको स्मरण पनि यसले गराएको छ । सर्पले भ्यागुतालाई पछाडिबाट आधा निलिसक्दा पनि आफ्नो अगाडि आएको झिगालाई जिब्रोले टिप्न नछोडने प्रवृत्ति हाम्रो परिवेशमा छरपस्ट भएको छ । पूर्विय दर्शनले निर्देशित हाम्रो समाजमा आपत विपतबाट पार लाग्ने धेरै राम्रा र बैज्ञानिक पक्षहरु छन् । त्यसको महत्त्व उजागरण हुँदै छ ।
आफ्नो खेत मलिलो भलले सिचाइ गर्न वनमा आगो लगाउनेदेखि कालो धनलाई सेतो बनाउन सिंहदरवारमा समेत आगो लगाउने कार्य पनि नभएका होइनन् । चालीस किलो सुनको कोट धान्न नसकि बाटैमा ढलेको किर्तिमानदेखि आज विश्व संकटको बेला गुणस्तरहिन स्वस्थ्य सामाग्री धेरै महंगोमा टोलमटोल तरिकाले खरिद गर्ने काम बदनाम गर्ने हल्ला मात्र हो भन्नु पनि राजपरिवारका सदस्यहरुलाई रोजिरोजि घुमेर तलमाथि गर्दै स्वचालित गनले मारेको भन्नु जस्तै हो । यस संकटको बेला सबैको हिसाब किताब नछोडि राखौ उचित समयमा व्याज स्याज समेत जोडि मिलान गरौला ।
कोरनाले विश्व जुनसुकै रुपमा बिसौं वर्ष पछाडि परिसकेको छ । दोस्रो विश्व युद्ध को भन्दा ठूलो क्षति भैसकेको अनुमान गरिसकिएको छ । चार दसमलव पाँच नानोग्राम शुष्म नदेखिने यमराजका दुतले बिना भिसा बिना पासपोर्ट बिना टिकट आजसम्म संसारका दुई शय पाँच देशको यात्रा गरिसकेको छ । समुद्र सुकाउने हिमाल पगाल्ने एटम बमको शत्तिले पनि रोक्न सकि रहेको छैन । रुखबाट लडि हात भाँचिदा समेत लागोभागो बुझाउने काम गर्ने हाम्रो समाजले लकडाउनलाई कर्म काण्डिय रुपमा मात्र पूरा गर्ने संभावनालाई नकार्न सकिँदैन । कोरना बिरुद्धको युद्ध हात हतियार हुनै सक्दैन । यो युद्ध जित्न संसार भरका मानिसको एकता भाइचारा र सहयोगको आवश्यक छ ।
यो भाइरसको उत्पति प्रत्यक्ष रुपमा मानिसले गरेको भन्न मिल्दैन । मानिसले रोवट निर्माण गरि काममा लगाउन सक्दछ । यस्तो रोवटले निर्देशन नमिल्दा आफ्नै मालिकलाई पनि चोर ठानि पिटन सक्दछ । आज फैलिएको भाइरस विवेकपूर्ण जीव देखिएको छ ।मानिसले विवेक निर्माण गर्न सक्दैन । भइसरले परिस्थिति अनुसार रुप र गुण पनि विकास गरिरहेको छ । बिज्ञानले एउटा तोरीको दाना निर्माण गर्न सक्दैन । प्रत्यक्ष रुपमा मानिसले यो भाइरस नबनाए पनि मानिसकै कारणले पृथ्वीको इको सिष्टममा असंतुलन ल्याउने काम गर्दा क्रमिक बिकासको सिद्धान्त अनुसार नै यो प्रजातिको उत्पति भएको हुन सक्छ ।
यो कोरना बिरुद्धको युद्धमा हामी सबै भौतिक र मनोबैज्ञानिक रुपले तयारी र सक्षम हुन आवश्यक छ । निरपेक्ष कुरा केही हुनै सक्दैन । यस विषम परिस्थितिसंग जुध्न बनोबल नै ठूलो हतियार हुन सक्दछ । मनोबलको सम्बन्धमा पढेका देखेका र नजिकबाट अनुभुत गरिएका केही परिघटनाहरु दिन सान्दर्भिक ठानिएको छ । कुनै देशमा मृत्युुदण्डको सजाय पाएको व्याक्तिलाई मृत्युुदण्ड दिनु अघि मनोबलको परीक्षण गरियो । उसलाई प्रथमतस् एउटा गोभन सर्प देखाइएको थियो । उसलाई त्यस सर्पले टोकाएर मार्न लागिएको भनियो । त्यसपछि उसका आँखा बाँधियो । पहिल्यै दुईवटा आलपिन मिलाएर बनाएको सर्पको मुख जस्तो चिम्टाले उसको खुट्टा अठ्ठाइ घाउ पारियो । त्यो व्यक्तिले अघि देखाएको सर्पले नै टोकेको ठान्यो । उसको मनोबल गिर्यो र केही क्षण पछि म(यो । उसको शरिरमा सर्पले टोक्दा हुने नै रासायनिक परिवर्तन पाइयो ।
कोरना बिरुद्धको युद्ध हात हतियार हुनै सक्दैन । यो युद्ध जित्न संसार भरका मानिसको एकता भाइचारा र सहयोगको आवश्यक छ ।
हाम्रो समाजमा सर्पसंग सम्बन्धित अरु दुई घटनाहरु पनि दिनु समय सापेक्ष हुनेछ । एकजना किसानले अग्लो खर काटन लाग्दा एउटा सर्पको ढाड समेत काटेछन् । काटिएको सर्पले उनको हातमा टोकेछ । उनले सर्प देखेनछन् । बिषालु सिरु घाँसले घोचेको ठानि पानीले पखालि खरको भारि बोकि घर आएछन । घरयासी अौषधि गरे पछि निको भएछ । पाँच महिना पछि घर छाउन जब उनले खरको मुठा फुकाए, खरभित्र सुकेको आधा सर्प देखे । उनको सातोपुग्लो उड्यो । उनी केही समय बेहोस पनि भए । यदि उनले पहिल्यै सर्पले टोकेको थाहा हुन्थे भने सायद उनी आत्तियर मर्ने थिए होला । अर्को घटना तराईमा आएको भिषण बाढीमा घर भत्कि बग्दै आएकी एक किशोरी एउटा रुखमा चडिछन् । रुखको एउटा हाँगाको चेपमा मुस्किलले बसिरहेकी थिइन । केही क्षण पछि त्यस रुखको अर्को हाँगामा एउटा गोभन सर्प बच्नको लागि चड्यो । ती दुबै एक मिटरको दुरिमा आमने सामने भै रात काटे । यसरी रातभरि किशोरीलाई सर्प र सर्पलाई किशोरी साहारा बनेका थिए ।
विषम् परिस्थितिमा मानव मानववीच रहेको अहम् , रीस, सत्रुता, प्रतिस्पर्धा आदि संवेगहरु न्युनिकरण हुँदै जान्छ स जानू पर्छ । अहिलेको माहामारीले हामीलाई पाठ सिकाइ रहेको छ । कुनै पनि पक्षको फाइदै फाइदा र वेफाइदै वेफाइदा मात्र हुँदै हुदैन । विभिन्न कालखण्डमा भएका माहामारी पछि धेरै असमनता विसंगति अन्याय विभेद न्युनिकरण भै नवीन परिपाटीको विकास भएको ईतिहास पनि रहेको छ । टाढीदै गएको मानवतालाई यसले वर्तमान र भविष्यमा पनि दुरि कम गर्ने प्रेरणाको स्रोत बन्ने अपेक्षा गर्न सकिन्छ । आफु पनि बाच्ने अरुलाई पनि बचाउने कार्य नै वर्तमानको मूल कार्य हुन आउँछ । धर्य, साहस, एकता, अनुशासन, सहयोग नै वर्तमानका हाम्रा सम्पति हुन् । कुनै पनि रोगको अौषधि आफैमा केही होइन । हाम्रो शरीरको परतिरोधात्मक शक्ति सजक बनाउने वस्तु मात्र हो । प्रतिरोधात्मक क्षमता मनोबलमा भर पर्दछ । उच्च मनोबलको साथ बर्तमन युध्द मैदानमा जुटौ । एकान्तमा बसे पनि भावनात्मक हातेमालो गरौं । कोरनाको ढाडमा टेकि टाउकोमा प्रहार गरौ । विजय हाम्रो निश्चित छ !









