कविता : जिन्दगी विगत र वर्तमान

एउटा त्यो समय थियो
जहाँ बसेर म त्यो भूगोलको मानचित्रमा
म आफूलाइ खोज्थें
अनि सेताम्य देश र हिउँ मान्छेको अनुभूति गर्थें

आज यो समय छ
जहाँ बसेर म
त्यही माछापुछ«ेको काख
आफ्नै झुपडी सम्झन्छु
दूध गानिए झै गानिन्छु र चस्किन्छु
लत्रक्क शरीर गल्छ
न मनमा खुशी र न उमङ्ग नै
न केही पाउने आशा छ न निराशा नै
त्यो खेलेको आगनी र माटो
त्यो दौडने गल्ली र गोरेटाहरु
उफ्रिने कान्लाहरु
सधै चढने गरेका पाखुरी र चिलाउनेका बोटहरु
सधै घाँस काटेका ती खरबारीहरु
सधै मेरा सपनीमा त्यस्तै गरी आउछन् र जान्छन्
गिदहरी काट्दा हसियाँले काटेको
खुट्टाको दाग उस्तै ताजा छ

ती स्कुले साथीसंगीहरु
अझै उस्तै निर्दोष अबोध लाग्छन्
त्यो सुन्तला मिठाई र त्यो पीपलगेडी
त्या मोही र मकै
अनि त्यो तातो खुदोमा चोपेको कोदोको रोटी
अझै उस्तै लाग्छन मीठा
ती जीन्दगी जस्तै स्पादिला, रसिला अनि हसिला

आज यो समय पनि छ,
जहाँ बसेर म
प्रत्येक बिहानको ६ बजे
टक टक गर्दै अलाम जीन्दगी जिउँछु
ब्रेकफास्ट बनाउने, खाने खुवाउने
लन्च तयार पार्ने र केटाकेटी ड्रप अफ
आट घन्टे काम
फेरि पिक अप
डिनर तयार, खुवाउने र सुताउने
ठयाक्कै पन्ध«, सोह्र घन्टा चल्ने मेसिन
हिसाब गर्दै जादा
घन्टा, दिन, हप्ता, महिना हँुदै वर्षहरु
हनहनी ज्वरोमा सिटामोल खाएर
मन नलागे पनि म्यापल जीन्दगी
सेता पहेला हुँदै पाक्ने रहेछन्

आज यस्तो समय पनि आएको छ,
जहाँ बसेर म,
तेस्रो विश्वयुद्धको बिजेताझै
सुनसान सडकमा एक्लै
सर्वशक्ति भएको घोषणा गरिरहेकी छु
धेरै पहिला नै ठूलाठूला भाइरस
गर्भाधारण र स्तनपान गराइसकेकी म
न मर्न डर, न बाँचेकोमा पीडा
आज जीन्दगीले मलाई हैन
मैले जीन्दगीलाई जिस्काइ रहेकी छु
वर्षोैपछि फुर्सदले हेरेकी छु यो अनुहार र अनुभव
कपाल फुले पनि गाला चाउरी परे पनि
स्मृतिमा त्यो बाल्यकाल र यौवलकाल सम्झेर
खुशी साटेकी छु
समयले केही क्षणहरु, उधारोमा दिएझै लाग्यो
गीत सुने, गाए, नाचे, फिल्म हेरे र मज्जाले हाँसे
किताब पनि पढे
र धेरै पछि कलम समाएँ र लेखें
मेरो लागि कोरोना कहर होइन, उत्सव पो भएछ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।