कोरोनाको महामारीको सन्त्रासबाट गर्भवती महिला तथा उनको परिवार ज्यादै पिडित बनेका छन् । पछिल्लो समय फैलिएको महामारी र लकडाउनले गर्भवती र उनको गर्भमा रहेको बच्चालाई समेत असर पर्ने देखिन्छ । लकडाउनको कारण स्वास्थ संस्थामा नियमित स्वास्थ जाँच गर्न जाने गर्भवतीको सङ्ख्या घटेको छ भने सुत्केरी हुने समय आएका महिलाको ज्यान जोखिममा परेको छ । दैनिक सयौंको सङ्ख्यामा स्वास्थ्य जाँच गर्न आउने गण्डकी प्रादेशिक अस्पतालमा गर्भवती महिलाको सङ्ख्या ह्वात्तै घटेको त्यहाँका एक स्वास्थकर्मीले बताएकी छन् ।
यातायातको असुविधा , स्वास्थ्य संस्थामा कोरोना भाइरसको सन्त्रास , स्वास्थकर्मीको हेपाहा व्यवहार, लगडाउन आदिको कारण गर्भवतीहरू स्वास्थ्य संस्थासम्म पुग्न सकेका छैनन् । सम्पूर्ण समुदाय तथा स्वास्थ्य क्षेत्र कोरोना प्रकोप नियन्त्रणमा लागेका बेला गर्भवती र सुत्केरी जस्तो आकस्मिक र संवेदनशील क्षेत्रमा कसैको ध्यानाकर्षण नभएको प्रति गर्भवती र उनको परिवारले चिन्ता व्यक्त गरेका छन् । उनिहरूले नियमित सेवन गर्ने क्याल्सियम,फोलिक एसिड तथा आइरन चक्कीको समेत अभाव भएको छ भने बजारमा पोषणयुक्त र ताजा खानेकुरा पाइन छाडेको छ । सुत्केरी हुने समय आइपुगेका गर्भवती महिला तथा उनको परिवारलाई कसरी सुरक्षित तरिकाले बच्चाको जन्म गराउने भन्ने कुराले त्रास बढाएको छ ।
कतिपयले परम्परागत रुपमा घरमै स्वास्थ स्वयंसेवकलाई बोलाएर सुत्केरी गराउने तयारीमा छन् । तर आपतकालिन परिस्थितिमा के गर्ने भन्ने चिन्ता उनीहरूमा विद्यमान छन् । पोखरा २६ कि गर्भवती शिला भण्डारी भन्छिन् “हामी त भगवानको भरोसामा छौँ , उहाँको कृपाले सबै राम्रो होवस् ।” पर्वत कुस्मा ८ कि कुसुम पौडेल तथा उनको परिवार पनि यस्तै पिडामा गुज्रिएको छ । बुहारीलाई कुनै अप्ठ्यारो नहोस् भनेर उनको परिवारले उनलाई पोखरामा ल्याएको छ तर सुरक्षित सुत्केरी नहुन्जेलसम्म उनीहरू त्रासमा छन् । दुर्गम तथा ग्रामीण बस्तीमा यस्तो त्रास अझै बढी छ । यता, रक्त सञ्चार कार्यालय पोखरामा रगतको अभाव बढ्दै गएकोमा कार्यालयले सचेत गराउँदै आएको छ ।
झण्डै १५ दिनदेखि समुदायमा कतैपनि रक्तदान कार्यक्रम राखिएका छैनन् । यसअघि रक्तदान कार्यक्रम राखिएको पनि लकडाउनको कारण स्थगित गरिएको थियोे । रगतको अभावमा कुनै पनि विरामी तथा घाइतेलाई अकालमा मर्न नपरोस् भनेर तत्काल रक्तदान कार्यक्रम राख्न पनि नसकिएको विभिन्न संस्थाहरुले जानकारी दिएका छन् । nirukcashru@gmail.com




