बिषय प्रवेश
बुहान प्रान्तबाट सन् २०१९, डिसेम्बर ३१ तारिखका दिन कलष्टरमा थुप्रै मानिसमा भएको निमोनिया रोग जस्तै लक्षणको बारे विश्व स्वास्थ्य संगठनलाई चिनले जानकारी गराउनु भन्दा केही महिना अगाडीदेखि त्यस प्रकारको अज्ञात रोग चिनको काबु भन्दा बाहिर गईसकेको अनुमान लगाउन सकिन्छ । हजारौंमा सङ्क्रमण फैलिसकेको थियो । पङ्तीकारले यस पङ्ती लेखिरहेको समय सम्म विश्वभरी छ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भईसकेको विश्व स्वास्थ्य संगठनको रेकर्डले जनाईरहेको छ । सत्ताईस हजार भन्दा बढिले ज्यान गुमाईसकेका छन् ।
चिनले परिस्थितिमा सुधार ल्याएको भएपनि अन्य विकसित देशहरुमा पछिल्ला समय महामारीले बिकराल रुप लिईरहेको छ ।२०७२ सालको भुकम्प र केही महिना लगत्तै २०७२ सालकै भारतले लगाएको भिएको अघोषित नाकाबन्दी समेत यस घटनाले फेरी सम्झाईलिएको छ । देश संकटको अवस्थामा आईपुगेको छ । कोरोनाकै कारण हालसम्म कसैले पनि नेपाल भित्र ज्यान गुमाउनु नपरेको सुखद कुरा भएतापनि उच्च सतर्कता भने आवश्यक रहेको छ । केहीलाई संक्रमण भएको भनि सरकारले पुष्टि पारेको छ र जनातालाई उच्च सतर्कता अपनाउन आफ्ना कृयाकलापहरुलाई घरभित्र सिमित साख्न आव्हान गरिएको छ ।
सरकारले चैत्र ११ गतेदेखि लागू हुने गरी सातदिनको लागि ‘लकडाउन’ घोषणा गरी यस महामारी प्रति संबेदनशीलता देखाएको छ । लकडाउनको हामी पाचौं दिन सम्म आईपुगेका छौं । जनजीबन प्रभावित भएको छ ।कोरोनाभाईरस रोग भाईरसको नयाँ स्ट्रेन (Novel Strain) भएकाले यसको जीवन चक्र र रोकथामका उपायहरु पत्ता लगाउन संसारभरिकै बैज्ञानिक कृयाशील रहेको भएपनि अन्तिम नतिजामा पुग्न सकिरहेका छैनन् । यदि पुगेभने यस बिरुद्धको खोप समेत भविष्यमा आउने अपेक्षा गर्न सकिन्छ । आश गरौं । हाललाई यस रोगको संक्रमणबाट बच्नको लागि व्यक्तिगत सुरक्षाका उपायहरु अबलम्बन गर्न भनिएको छ ।
बिश्व स्वस्थ्य संगठनले रोगको संक्रमणबाट बच्नको लागि नियमित साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोगले नियमित हात सफा राख्ने, एक व्यक्तिबाट अर्को व्यक्ति बीच कम्तिमा एक मिटरको दुरीमा रहने, समाजिक गतिबिधिहरुमा सामेल नहुने, भिडभाड नगर्ने, बारम्बार हातलाई मुख र नाकमा नलैजाने, यदि स्वास प्रश्वास समस्या, ज्वरो, सुख्खा खोकी लगातार आएमा स्वास्थ्य संस्था जाने भनि सुझाएको छ । नेपालले पनि तिनै बुदाँहरु नागरिक समक्ष नागरिक सचेतनाको निम्ति सुझाएको छ ।नेपाल विकासको पङ्तीमा अति कम विकसित मूलुकको रुपमा रहेको छ । विकसित भनिएका देशहरुलाई पनि नोवेल कोरोना भाईरस रोगसँग जुध्न कठीन भईरहेको बेला हामीहरुलाई यसको समना गर्न निकै सकस अवश्य छ ।
परिस्थिति काबु बाहिर नजादै हामीहरु उच्च सतर्कताका साथ सरकारले आव्हान गरेको ‘लक डाउन’ को पालना गर्नुको विकल्प छैन । यस्तो समयमा सरकारलाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य समेत हुनुपर्दछ र हो पनि । यस्तो अवस्थामा सरकारले नागरिकलाई नागरिक शिक्षा तथा चेतनाको विकास तथा विस्तार गर्न आवश्यक हुन्छ । नागरिकले पनि संयम भएर नागरिक कर्तव्य निर्वाह गरी बिषम परिस्थितिको सामना गर्नुपर्नेछ ।
नागरिक शिक्षा र चेतना
राष्ट्र निर्माणको सबैभन्दा तल्लो ईकाइ नागरिक हुन् । नागरिकले राज्यबाट राजनैतिक तथा कानूनी अधिकार र हक प्राप्त गर्दछन् । त्यसैगरी नागरीकहरुले राज्यलाई आवश्यकता पर्दाबखत कर्तव्य स्वरुप सहयोग गर्दछन् । असल, सभ्य, सक्षम र समर्पित नागरिक समृद्ध राष्ट्र निर्माणको आधार र औजार हुन् । जीवनापनको लागि आवश्यक पर्ने ज्ञान, शीप, क्षमता र दक्षताको विकास गर्न सहयोग पुस्याउने शास्त्र शिक्षा हो । चेतनाको अर्थ सचेत तथा सकृय हुन आवश्यक पर्ने शिक्षा । सारमाः के सही र के गलत भनि छुट्याउन सक्ने गुण नै चेतना हो । यसरी नागरिक शिक्षा र चेतना नागरिकलाई आफ्नो कर्तव्य र अधिकार बोध गराई सचेत एंवम् बफादार तुल्याउने अस्त्र हो ।
नागरिक शिक्षा र चेतनाका आयामहरु
नागरिक शिक्षाले प्रथमतः नागरिकको जीवनमा राजनैतिक चेतनाको निर्माण हुनुका साथै असल राजनैतिक संस्कृतिको विकास, स्वस्थ्य राजनैतिक अभ्यास र सहभागिता, राजनैतिक आचरण तथा ईमान्दारिता, बिधिको शासन निर्माण, मतदाता शिक्षा जस्ता कुराहरुको विकासमा मद्यत गर्दछ । दोस्रोः नैतिक मूल्य र आचरण, सदाचारिता र ईमान्दारिता, बन्धुत्व र भातृत्व, विचारको सम्मान र सत्चरित्र । तेस्रोः सामाजिक सद्भाव र सहिष्णुता, भेदभाव रहित समाज निर्माण, सामाजिक एकता र सकृयता, सामाजिक मेलमिलाप र विवाद निरुपण । चौथोः आफ्नो अधिकारप्रति सचेत, अरुको अधिकारको सम्मान, कर्तव्यबोध र दायित्वबोध, सामाजिक जवाफदेहिता ।
पाचौः विकासमा योगदान र प्रतिबद्धता, सकृय जनसहभागिता, विकासमा सहकार्य र पारदर्शीता ।असल नागरिकका रुपमा राष्ट्रलाई आवश्यक पर्दाको समयमा ईमान्दारीताका साथ कार्य गर्न तत्पर हुने भाव जगाउने खालको शिक्षालाई नागरिक शिक्षा भनिन्छ । नागरिक शिक्षा नागरिकहरुले औपचारिक (बिधालयहरुको पाठ्यक्रममा समावेश गराएर) वा अनौपचारिक तरिकाबाट प्राप्त गर्दछन् । अनौपचारिक तरिका अन्तरगत वयस्क नागरिक शिक्षा, सामाजिक सम्बन्ध तथा सामाजिक मूल्यहरुबाट, पत्रपत्रिका, लेख सामाग्री, पर्चा, पोष्टर, संचार माध्यम, घरपरिवार, समुदाय, जीवनभोगाई आदि पर्दछन् ।
नागरिक शिक्षा र कोरोना संक्रमणबाट बच्न यसको महत्व
यतिबेला देश संकटग्रस्थ अवस्थाबाट गुज्रीरहेको छ । देशमा ‘लकडाउन’ को घोषणा भएको छ । आर्थिक तथा सामाजिक कृयाकलापहरु ठप्प छन् । हामीसँग यस माहामारीबाट बच्नको लागि एक मात्र शुत्र छ- सरकारले आव्हान गरेको ‘लकडाउन’ को घोषणालाई हदै सम्म पालना गर्दै आफू सुरक्षित रहने, परिवार र समुदायलाई सुरक्षित राख्ने । असल नागरिकले देशलाई अप्ठ्यारो पर्दा कर्तव्यनिष्ठ भएर लाग्नुपर्दछ ।बर्ग संघर्ष नेपालको आदिकालदेखि नै बिद्यमान रहँदै आएको सामाजिक तत्व हो । समाजमा बिबिध क्षमता भएका मानिसहरु बस्दछन् ।
रोजगारीका अवसरहरुले दैनिक ज्यालादारी गरेर दिनहुँ छाक टार्ने जनसंख्याको बाहुल्य गाउँ भन्दा सहर केन्द्रीत छ । शहरमा त्यस्ता मानिसहरुलाई यस्तो समयमा बाँच्न उकुसमुकुस परिरहेको छ । हुनेखाने व्यक्तिहरुले यिनीहरुलाई सहयोग गर्ने बेला भएको छ । यस्तो समयमा हामीहरुले भाईचारा र मानवताको हिसावले सहयोग पुर्याउन सकेमा मात्र नागरिक कर्तव्यको अनुभूती हुन्छ ।समाजमा अहिले एक प्रकारको त्रास उत्पन्न भएको छ । मानिसहरु अरु कतिन्जेल यसरी कैद भएर कष्टकर जीवन बिताउनुपर्ने हो? भनी चिन्तित समेत रहेको पाउँछौं । पीडित परिवारले सहयोगको अपेक्षा गरिरेहेका छन् । समाजका आम मानिसहरुमा सन्त्रास पैदा भईरहेको छ । यस्तो समयमा पीडित परिवारहरु अन्य सामाजिक गतिबिधिमा संलग्न नभई नियमित ‘आईसोलेसन’ मा बस्नु पर्दछ र संक्रमण भएको व्यक्ति उपचारको लागि अस्पताल जानुपर्ने हुन्छ ।
यस रोगको फैलावट दर यति तीब्र छ की यसले एक दिनमा सयौं- हजारौं व्यक्तिमाझ संक्रमण फैलाउन सक्दछ । यस्तो परिस्थितिमा ज्यादा नहडवढाई संक्रमण भएको व्यक्ति र परिवार आफैले विवेक पुर्याएर र कर्तव्य निस्ठ भएर अरुको सम्पर्कमा आउनु हुँदैन । उसको यो समाजप्रतिको दयित्व समेत हो ।सरकारलाई सहयोग गर्नु हरेक नागरिकको दायित्व हो । तीनै तहहरुका सरकारहरु यतिखेर जनताबाट सहयोगको अपेक्षा गरिरहेका छन् । यस्तो अवस्थामा हामी यो वा त्यो वाहानामा (आकस्मिक तथा अत्यावश्यक काम बाहेक) घरको परिधि काटेर बाहिर निस्कनु गलत हुनेछ । आत्तिनु हुँदैन । जेष्ठ नागरिक, बालबच्चालाई बिशेष ख्याल राख्नुपर्ने हुन्छ ।
राज्यबाट जारी हुने आदेश र सूचनाहरु नियमितरुपमा जानकारी लिनु राम्रो हुन्छ । हामीले पुर्खाबाट सिक्दै आएको महत्वपूर्ण ज्ञान भनेको संस्कार पनि हो । हामी आफ्नो मर्यादामा रहेर गतिबिधि गर्नुपर्दछ । संस्कार र सभ्यता भुल्नु हुदैन ।राज्यका हरेक नागरिक राज्यलाई आवश्यकता पर्दा खटिने चौविस घण्टे फौज पनि हो । सरकारले आव्हान गर्दा जुनसुकै बखत सेवा भाव सहित समर्पित हुनु नागरिकको कर्तव्य हो । सरकार राज्यको प्रमुख कार्यकारिणी अधिकार लिई बसेको जथ्था हो । सरकार नागरिको रक्षक हो भने नागरिक पनि सरकारका आज्ञापालक हुन
यस्तो बेलामा कुनै पनि बाहानामा सरकारलाई असहयोग गर्नु हुँदैन । सरकारले पनि भोका नाङ्गा जनता समेतलाई ख्यालमा राखि हैसियत अनुसार राहात, सहयोग, अनुदान जस्ता प्याकेज आवश्यकता भएका जनताको अगाडि ल्याउन सक्नुपर्दछ । रोग लागेर मात्र होईन भोक लागेर समेत कोही मानिसको ज्यान जाने अवस्था आउनु हुँदैन । नागरिकमा त्रास होईन आशा पलाउनु जरुरी छ ।









