कविता : चराहरूको दैनिकी

उठ्नु
बचेराहरूको खबर बुझ्नु
गुँड सफा गर्नु
गुँडबाटै दूरदराजसम्म आशिर्वाद पठाउनु
र ह्रदयमा उनीहरूकै मङ्गलाचरण पढ्नु
हरदम, हरक्षण
बचेरा सम्झनु र सम्झिरहनु
चराहरूको दैनिकी बनेको छ
आजकल ।

जन्मँदै पखेँटा लिएर जन्मने
वेगवान चराका बचेराहरू
जब हुर्क्यौला बन्छन्
वायुपङ्खी सामर्थ्य प्राप्त हु्न्छ पखेँटाहरूमा
न चराहरूको चारा पर्याप्त हुन्छ
न गुँड, न आकास
उनीहरू आफ्नो आकास आफैँ बनाउन चाहन्छन्
जसरी चराहरूले बनाएथे कुनैबेला
यो सनातन शृङ्खला
चल्छ र चलिरहन्छ

हुर्के पनि बचेराहरू
उडे पनि देश-देशावर
किन फुलको आवरणभित्रै भए झैँ लाग्छ उनिहरू
कसरी खोज्लान् चारा
कसरी बनाउलान् गुँड
दुषित हावा चलिरहेछ जताततै
विज्ञान आफैँ कमजोर भएर
प्रकृतिसँग आत्मसमर्पण गरिरहेको मौसममा
सिमित ज्ञानको सामलले
कसरी निसङ्कोच उड्लान वचेराहरू
वस्, यही शङ्कामा छन् चराहरू अचेल ।

चाहन त चाहन्छन् नि चराहरू
बदल्न चिन्ताको यो दैनिकी
आशा गरौं
छिट्टै सुनौलो घाम उदाउने छ
र बदलिने छ
चराहरूको यो दैनिकी ।

पोखरा-११/१५६
फुलबारी, कास्की

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।