आदरणीय कमरेड बामदेव गौतम,
रातो सलाम !
तपाइलाई राम्रोसँग थाहा छ । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको तत्कालीन एमाले सरकारको लोकप्रीयताको परिणामस्वरुप २०५४ मा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले लगभग ७० प्रतिशतभन्दा वढी निर्वाचन जितेको थियो । तपाईले २०५४ सालमा पार्टी विभाजन नगरेको भए त्यतिवेलै एमालेले दुई तिहाई वहुमत ल्याउने संभावना थियो । जनयुद्धका नाममा १७ हजार महानयोद्दाहरुले सायदै जीवनको उत्सर्ग गर्नुपर्ने थिएन ।
त्यो विषम परिस्थितिमा जनताको प्यारो पार्टी जोगाउन हामी धेरैले ठूलै कुर्बानी गर्नुपर्यो, तपाईंहरुको मनोगत चाहना र कमजोरीका कारण हामीले हाम्रा निकै उत्कृष्ट लब्ध्याङ्क पत्र, प्रमाणपत्रहरु सिरानीमा राखेर हाम्रो सूर्य र हसिया हथौडा झण्डा शत्रुको पाउमा पर्न दिएनौ, हाम्रा धेरै एकल आमाहरुलाई बेसहारा छोड्यौ, गर्भवती जीवन सङ्गिनीहरु अस्पतालमा रगतको आहालमा छटपटाउदा समेत कुरुवा हुन र हिफाजत गर्न सकेनौ। जीवन सङ्गिनी सुत्केरी भैसकेपछि खानपान गराउने, आमा र अबोध शिशुको जतन गर्ने, रगतका थाङ्गनाहरु धुने काम छोडेर बिचरा २-३ दिनको आलो सुत्केरीलाई समेत छोडेर , बाबुले गर्नैपर्ने शालनालको न्वारानसमेत नजिकैको भाइहरुलाई गर्न लगाएर जोगाएको पार्टी हो यो ।
तत्कालीन एमालेवाट ४० प्रतिशत सांसद लिएर विभाजित हुनु भएको तपाई सुन्य सीट लिएर फेरी पार्टी एकीकरण गर्नुभयो ।
तपाईंले क्रूर पन्चायती शासन ब्यवस्थामा जसरी जीवन हत्केलामा राखेर क्रान्तिको नेतृत्व र पार्टी फैलाउनु भएको थियो, हामीले पनि लाली जोवान, लाउलाउ र खाउखाउ भन्ने जिन्दगी पूर्णकालीन झैं पूरै दिएर बनाएको पार्टी हो नेकपा । तपाईं र पार्टीभित्रका केही नेता कमरेडको जुङ्घाको लडाइँको कारण कमयुनिस्ट पार्टीका कार्यकर्ताबीच वर्ग सफाया जस्तै नियति र ब्यवहार हामीले बेहोर्नु पर्यो । धेरै पटक मार्सल आर्ट र करातेका राष्ट्रिय -अन्तर्राष्ट्रिय सयौं खेलाडीह हाम्रा भूगोलहरु र क्याम्पसमा पठाएर हाम्रो हुर्मत लिने, सफायाको शैलीमा साङ्घातिक आक्रमण गर्ने, कति बेला के हुन्थ्यो थाहा नहुने बनाएको तपाईंको नेतृत्वमा हो ।
हुन त त्यो स्वाभाविक पनि थियो, किनकि एउटाको अस्तित्व समाप्त नगरी अर्कोको अस्तित्व र फैलावट असम्भव प्राय: थियो । तर हामीहरूबीचको लडाइँ र तरीका भयङ्कर डरलाग्दो थियो, के भयो, बिगतको गम्भीर समीक्षा हामीले गर्ने कि नगर्ने ? मुलुक १० बर्षसम्म सशस्त्र जनयुद्धको चपेटामा पर्ने थिएन पनि होला र राजनीतिक अस्थिरताकारण मुलुक विकासको गतिमा २० औं बर्ष पछि धकेलिने थिएन । कमरेड गौतम, तपाई नेपालको कम्युनिष्ट आन्दोलनको जिम्मेवार नेता हो ।कमरेडहरु केपी ,प्रचण्ड ,माधव नेपाल र झलनाथ खनाल जत्तिकै हो ।
त्यत्तिकै त्याग ,बलिदान र समर्पण छ यो पार्टी बनाउन तर बिचौलियाहरुको उक्सहाटमा लागेर झ्वाट्ट निर्णय गर्ने, छिटो पत्याउने कुरा गम्भीर खतरनाक छ । क. मनमोहन ७३ बर्षमा प्रधानमन्त्री हुनुभको थियो । तपाईंमा किन अधैर्यताको बाध ? फेरि अर्को माथि उल्लेख गरिएका नेता कमरेडहरुले पनि नियतवस तपाईंमाथि बार लगाउने, छेक्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त बिपरित छ । जसरी तपाईं अहिले जस्केलाबाट प्रधानमन्त्री हुने असम्भव दाउपेचमा हुनुहुन्छ, तपाईं कै लागि हरेक बेला पार्टी सती जानुपर्ने कुरा हामी जस्ता त्यागी कार्यकर्ताका लागि कुनै हालतमा सह्य छैन।
नेकपा र मुलुकको समृद्धिको लागि तपाईको खाँचो पनि छ । इतिहासले हामीलाई के भन्छ भने मदन भण्डारीको नेतृत्वमा तपाई र केपी ओली उहाँको सहयोगी भुमिकामा समदुरीमा हुनुहुन्थ्यो । तर , २०५१ सालमा तत्कालीन अध्यक्ष र महासचिव दुवै सरकारमा सामेल हुने भएकोले विधान विपरीत तपाईलाई उपमहासचिव वनाइयो, जसले तपाईमा पार्टी नेतृत्वको तीव्र महत्वकाक्षा जगाइदियो । परिणामस्वरुप तपाईले पार्टी विभाजन गर्नु भयो । तत्कालीन एमालेवाट ४० प्रतिशत सांसद लिएर विभाजित हुनु भएको तपाई सुन्य सीट लिएर फेरी पार्टी एकीकरण गर्नुभयो ।
तपाईं अहिले जस्केलाबाट प्रधानमन्त्री हुने असम्भव दाउपेचमा हुनुहुन्छ, तपाईं कै लागि हरेक बेला पार्टी सती जानुपर्ने कुरा हामी जस्ता त्यागी कार्यकर्ताका लागि कुनै हालतमा सह्य छैन।
तर, यहाँभित्र पनि स्थिर राजनीतिको संस्कारलाई तपाईले कहिल्यै आत्मसात गर्न सक्नुभएन । आफनै पार्टीको नेता माधव नेपाल प्रधानमन्त्री हुदा तत्कालीन नेकपा माओवादीले आयोजना गरेको आम हडतालमा समर्थन गर्दै पर्चा नै वितरण गर्नु भयो । कमरेड, तपाई पटक पटक कार्यकर्ताका लागि किन प्रीय घाउ वनेर दुःखीरहनु हुन्छ ? तपाई किन तपाईका प्रीय कार्यकर्ताकावीचमा उत्साहका नाममा पुरा हुनै नसक्ने महत्वकाक्षा वाडनु हुन्छ ? तपाईलाई अहिले वेमौसममा प्रधानमन्त्री वन्ने हुटहुटी वढेको छ । तपाई साँच्चै नेता र मुलुकको प्रगति चाहने हो भने एकपल्ट चीनका देङ सिआयो पिङलाई सम्झनोस् ।
चीनमा उनी चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव, अध्यक्ष र सरकारमा राष्ट्रपति वा प्रधानमन्त्री केही थिएनन । तर अहिलेको आधुनिक चीन निर्माणका सारथी भए । अहिले पनि चिनीयाँहरु देङलाई माओपछिको दोस्रो नेताकोरुपमा सम्मान गर्दछन । तपाईसँग पद नभएर के भो ? तपाई नेपालको नेकपाको नेता त हुदै हो, अव सरकारको सारथी वनेर देशको समृद्धिको मार्गमा योगदान गर्ने नेपाली देङ वन्ने बाटोमा लाग्ने मार्गमा तपाईलाई कसैले अवरोध गर्ने छैन भन्ने हाम्रो बुझाई रहेको छ ।
लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता हुन् ।









