राजनीति छाडेर रातकी रानीसँगको ‘प्रेम’मा पूर्वमन्त्री

कुनै समय उजाडे दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?” भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन् ।

खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो । “ड्रागन फ्रुटको बिरुवा लगाएको दुई÷तीन वर्षपछि मात्रै फल दिन्छ”, मगरले भने, “तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो ।”

नौ महिनामै फलेपनि अझै परिपक्व भएको छैन । पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो । “एउटै बोटबाट तीन÷चार केजी फल लाग्छ”, उनले भने, “त्यतिबेला करिब चार÷पाँच टन उत्पादन होला ।”

दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले बताए । अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन् ।

रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती वस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ । “यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौँ”, मगरले भने । नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन । न्यून मात्रामा भियतनाम लगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ । विदेशी ड्रागन फ्रुट ७ सयदेखि १ हजार ९ सयसम्ममा किनबेच हुने गर्छ ।

आफू मन्त्री हुँदा चीन गएको बेला उनले ड्रागन फ्रुट खाने अवसर पाएपछि यसबारेमा चासो लिँदै आएका थिए । पूर्वमन्त्री मगरले भने, “त्यतिबेला यो फललाई नेपालमा उत्पादन गरे कस्तो हुन्छ होला भन्ने सोच बनाएको थिए ।” नेपालमा यसको खेती भित्रिएको करिब १८ वर्ष जति भएको बताइन्छ ।

पूर्वमन्त्री मगरले लामो समय बाँझो रहेको तीन बिघा छ कट्ठा जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएर खेती थालेका हुन् । जग्गा १५ वर्षका लागि ४० लाखमा भाडामा लिएको हो । यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ ।

रातमा मात्रै फल्ने ‘रातकी रानी’
यसको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ । यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ ।

फूल फुलेको चार÷पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उनको भनाइ छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । त्यो १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ । ड्रागन सिउँडी प्रजातिको फल हो ।

जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । फल खाँदा मीठो नभए पनि औषधि गुुणले भरिपूर्ण रहेको छ । यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री मगरले जानकारी दिए । रासस