सम्प्रभुता दाउमा राखेर अनुदान लिँदैनौं : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पोखराका रत्नमन्दिर र हिमागृह कसैलाई व्यवसायिक प्रयोग गर्न दिइनसकेको बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्रीहरु समेत उपस्थित कार्यक्रममा उनले गण्डकी सरकारसँग सल्लाह गरी यसबारे निर्णय लिइने जानकारी दिए ।

नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले भने, ‘यहाँको प्रदेश सरकारसँग सल्लाह गर्छाै । पर्यटन व्यवसायीका कुरा सुन्छौं । प्रधानमन्त्री ट्रस्टको संरक्षक हुनुहुन्छ । उचित उपयोग गर्छाैं ।’ उनले ट्रस्टमा रहेको साढे २१ हजार रोपनी जग्गा, करिब १ अर्ब नगद र सेयर कानुन बमोजिम उपयोग हुने प्रस्टिकरण दिए ।

शिक्षा, स्वास्थ्य, पर्यटन र व्यावसायिक क्षेत्रमा ट्रस्टको सम्पत्ति प्रयोग गर्न मिल्ने ऐनमा उल्लेख छ । उनले विरोधको नाममा विरोधमात्र नगर्न आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले भने, ‘गौचरण बनाउने त होइन होला, पारदर्शी रुपमा सम्झौता गरेर काम गर्छाैं ।’

बिहीबार नेकपा कास्की र प्रेस संगठन कास्कीले आयोजना गरेका भिन्दाभिन्दै कार्यक्रममा उनले यस्तो बताएका हुन् । २००४ बाट सुरु भएको एमसिसीबारे विवाद जरुरी नरहेको उनको तर्क छ । मन्त्री पोखरेलले भने, ‘हामी कुनै सैनिक गठबन्धनमा सहभागी हुँदैनौं । राष्ट्रिय स्वार्थ अनुकूल भए सहयोग लिन्छौं, नभए लिँदैनौं । सम्प्रभुतालाई थाती राखेर सहयोग लिने भन्ने हुँदैन ।’ ५५ अर्ब अनुदान सडक र हाइटेन्सन लाइनमा खर्च गर्ने गरी एमसिसी अन्तर्गत अमेरिकाले नेपाललाई प्रदान गरेको छ ।

‘पार्टी र सरकार दुवैमा नयाँ उचाइमा पुगेका छौं । ठीक ढंगले काम गरे अघि जान्छौं, नगरे टाउको फुट्ने डर छ ।’

उनले पार्टी एकीकरण र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने काम एकैचोटि भएको उल्लेख गरे । उनले थपे, ‘पार्टी र सरकार दुवैमा नयाँ उचाइमा पुगेका छौं । ठीक ढंगले काम गरे अघि जान्छौं, नगरे टाउको फुट्ने डर छ ।’

पार्टी फेरि विभाजन हुने हो कि भन्ने त्रास नमान्न उनले कार्यकर्तालाई आश्वास्त गराए । जनताको चाहना, राष्ट्रको आवश्यकता र कार्यकर्ताको चाहनाले एकता भएको उनले उल्लेख गरे । उनले भने, ‘२ फरक पृष्ठभूमि भएकाले कहिलेकाँही मानसिकताले दुःख दिन्छ । अहिलेको अवस्था नो मोर युएमएल, नो मोर माओइस्ट सेन्टर हो ।’

माघ १५ गतेसम्म एकताको सबै काम टुंगिने उनले दाबी गरे । उनले भने, ‘जुटेको, फुटेको, हारेको, जितेको, सबै अनुभव भएकाले चुनौतिहरुको सामना गर्दै अघि बढ्छौं । माघ १५ गतेको केन्द्रीय समिति बैठकले एकताको बाँकी रेखोपाखो सबै टुंग्याउँछौं ।’

एकतालाई २ नदीको संगमसँग तुलना गर्दैले उनले कालीगण्डकी र सेतीगण्डकी मिसिएपछि केही तलसम्म एकातिर सेतो र अर्कातिर कालो जस्तो देखिए पनि त्यो अलि तल पुगेपछि एउटै हुने उदाहरण पेश गरे । पुँजीवादी शक्तिहरुसँगको सहकार्यमा जनवादी क्रान्ति भएको जनाउँदै उनले राजनीतिक र संरचनात्मक प्रणाली फेरिए पनि व्यवहारमा फेरिन, ऐन, कानुन बन्न बाँकी रहेकाले जनताले सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे ।

सभामुख चयनबारे २ अध्क्षबीच परामर्श भइरहेको उनले उल्लेख गरे । भने, ‘काम होस्, गाल नपरोस् भन्ने गरी सभामुख छान्छौं ।’ राष्ट्रिय सभा उम्मेदवार चयन उचित भएको उनको दाबी छ । एक पटक हार्दैमा हरुवा र एक पटक जित्दैमा जितबहादुर नहुने भन्दै उनले पार्टीले उचित उम्मेदवार छानेको जनाए ।

सुनौली सन्धिले किटान गरेको सीमाना नै देशको सीमा भएको भन्दै उनले भारतले नक्सा प्रकाशन गर्दैमा त्यो भारतीय भूभाग भइनहाल्ने जनाए । अहिलेसम्मका कुनै पनि सरकारले भारतले सीमा मिच्दा औपचारिक विरोध नगरेको र औपचारिक रुपमा स्वीकार पनि नगरेको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यसलाई चिरेको सुनाए । उनले भने, ‘हामीले औपचारिक रुपमा डिप्लोम्याटिक नोट पठाएका छौं । हामीसँग भएका ऐतिहासिक प्रमाण र राष्ट्रिय एकताको बलमा भारतसँग वार्ता गर्छाैं ।’

सीमामा सुरक्षा बल बढाइएको उनले जानकारी दिए । डेढ सय पोस्ट थपेको उल्लेख गर्दै उनले अब करिब ९ किमीमा नेपाली सुरक्षा पोस्ट खडा हुने जनाए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।