बागलुङ २ खमा ६१ प्रतिशत मत खस्यो

बागलुङ क्षेत्र नम्बर–२ को प्रदेशसभा ९ख० र बडिगाड गाउँपालिका–२ मा भएको उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।

प्रदेशसभासभामा ३५ हजार १ सय ८४ मतदाता थिए । बडिगाड गाउँपालिका–२ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा भने ६५ प्रतिशत मत खसेको छ । वडाका कुल १७४२ मतदातामध्ये ११ सय ३४ जनाले मतदान गरेका छन् । विसं २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । प्रदेशसभा सदस्यतर्फ २ प्रतिशत कम मत खसेको छ ।

प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमा ४३ र बडिगाड गाउँपालिका–२ मा दुई मतदान केन्द्र थिए । मत पेटिका आजै राति सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकृत न्यौपानले बताए । “भोलि बिहान सर्वपक्षीय बैठक बसेपछि दिउँसोबाट मतगणना शुरु हुन्छ”, न्यौपानेले भने । सदरमुकामदेखि एकसय ३० किमि टाढासम्म रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा बढी समय लाग्ने भएको हो ।

बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । मतदान शान्तिपूर्ण रहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए ।

प्रदेशसभा सदस्यका लागि दश उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिम विक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० बाट निमबहादुर भण्डारी उम्मेदवार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ती पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवार घर्तीले समयाभावका कारण उम्मेदवारी फिर्ता लिन नपाएपनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गरेका थिए ।

प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन भएको हो । बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन गरिएको हो ।

वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, नेपाली काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा १७ सय ४२ मतदाता छन् ।