ताजा समाचार

कार्तिक १९ गते २०७६

कास्की २ मा नेकपा र सरकारको अग्निपरीक्षा

रवीन्द्र अधिकारीले जितमा ह्याट्रिक गरेको कास्कीमा नेकपाले उनकै श्रीमती विद्या भट्टराईलाई उभ्याएको छ । २ ठूला कम्युनिस्ट पार्टीको एकता र दुई तिहाइको सरकार बनेपछि हुन लागेको उपचुनाव सरकारको लोकप्रियता र सत्तारुढ नेकपाको पनि अग्निपरीक्षा हो ।

नेकपा कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी पाँचौ जिल्ला कमिटीको पूर्ण बैठकका निर्णयहरु र चुनावी रणनीति सार्वजनिक गरेको छ । नेकपाका चुनावी कमान्डरहरुको भनाइले प्रष्ट हुन्छ ः उनीहरुले आफ्ना चुनौती राम्ररी नै पत्ता लगाएका छन् ।

गत चुनावमा अन्तर्घातको नमीठो चोट व्यहोरेका नेकपा नेता वामदेव गौतमको प्रसंग निकालेर कास्की अध्यक्ष कृष्ण थापाले यसबारे सचेत रहेको सन्देश दिए । उनले रवीन्द्रको ८ हजार मतान्तरमा यसपालि ५ हजार थपी प्रतिश्पर्धीभन्दा १३ हजार बढी भोट ल्याउने उद्घोष गरे ।

नेकपा कास्कीले बैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचारसहित उपचुनाव जित्ने रणनीति तय गरेको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीप्रतिको सहानुभूति त विद्यासँग रहनेछ नै, २ वर्षअघिको चुनावी अंक गणितका हिसाबले पनि नेकपाका लागि कास्की २ सहज देखिन्छ । मंगलबार रातिसम्म उम्मेदवार छानिनसकेको नेपाली कांग्रेसभित्रको किचलो र कमजोर कार्यकर्ता परिचालनको फाइदा पनि नेकपालाई हुने देखिन्छ ।

पत्रकार सम्मेलनमा थापाको छेवैमा रहेका नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ करणले पार्टीले विश्वास गरी चुनावी कमान्डरको जिम्मेवारी दिएको र निर्वाचनमा पूर्ण रुपले पार्टी परिचालित हुने सुनाए । करण उम्मेद्वारका आकांक्षी त हुन् नै माओवादी शान्ति प्रक्रियामा आएपछि कास्कीमा रवीन्द्रका प्रतिश्पर्धी नेताका रुपमा समेत चिनिन्थे ।

पोखरामा प्रचण्ड र विष्णु पौडेलले सम्बोधन गर्ने भएका छन् भने अन्तर्घात हुन नदिन र स्वतन्त्र मतदातालाई आकर्षित गर्न नेकपाले विशेष रणनीति बनाएको देखिन्छ

नेकपा प्रदेश कमिटीले विद्या, करणसँगै सोमनाथ अधिकारी प्यासीको नाम उम्मेद्वारमा सिफारिस गरेको थियो । विद्याले सांसदको टिकट पाएकी छन् भने प्यासी प्रदेश १ को प्रमुख नियुक्त भएका छन् ।

यता, नेकपा उम्मेदवार विद्या भने पार्टीले सर्वसम्मत उम्मेदवार बनाएकाले अन्तर्घातको कल्पनै नगरेको बताउँछिन् । उनले जनताको दैनिक जीवनसँग जोडिएका कुरा र सरकारले गरेका सकारात्मक कुरा जनताको माझमा लिएर चुनावी प्रचार अभियानमा उल्लेख गरिन् । सोमबारको नेकपा कास्कीको बैठकमा सहभागी हुन पोखरा आएकी विद्या मनोनयन दर्ताअघिका प्रक्रिया मिलाउन अहिले राजधानीमा छिन् ।

नेकपा कास्कीले कास्की २ मा पर्ने पोखरा महानगरका ११ वडामध्ये नेकपाबाट निर्वाचन जनप्रतिनिधिहरुलाई गरेका कामको स्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । स्थानीय सरकार पोखरा महानगरलाई पनि अहिलेसम्म भएका राम्रा कामको फेहरिस्त सार्वजनिक गर्न आग्रह गरेको छ ।

नेकपा कास्कीले चुनावमा पार्टीको उच्च तहको समन्वय र सहयोग रहोस् भनी प्रदेश कमिटीलाई कास्कीमा रहेका पार्टीका वरिष्ठ नेताको नेतृत्वमा निर्वाचन अनुगमन तथा निर्देशक समिति गठन गर्न आग्रह गरेको छ । सोही आग्रह अनुरुप नेकपा गण्डकीले प्रदेश सहइन्चार्ज खगराज अधिकारीको संयोजकत्वमा समिति बनाइसकेको छ ।

देशको एकमात्र संघीय निर्वाचन हुने क्षेत्रमा पार्टीको पक्षमा माहोल बनाउन कात्तिक २३ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल पोखरा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउने छन् ।

अनेरास्ववियुको केन्द्रीय सचिव र महिला विभाग प्रमुखसमेत भइसकेकी विद्यालाई चुनावी पराजयको अनुभव पनि छ । २०४९ को स्ववियु चुनावमा पद्यकन्या क्याम्पसको स्ववियु सभापतिमा उनी पराजित भएकी थिइन् । उनी अहिले मतदाताकहाँ सरकारका राम्रा काम र पार्टीका एजेन्डा लिएर जाने बताउँछिन् ।

नेपाली कांग्रेस भने सरकार अहिले आलोचित रहेको दाबी गर्दै त्यसको फाइदा उठाउने रणनीतिमा देखिन्छ । गत चुनावमा साना दलहरुको कास्की २ मा प्रभाव निकै झिनो देखिन्छ । साझा पार्टी, विवेकशील नेपाली दल, राप्रपा नेपाल र समाजवादी पार्टीका उम्मेद्वारले पनि यहाँ चुनावी प्रचार सुरु गरिसकेका छन् ।

नेकपाले निर्वाचन परिचालन समितिको संयोजक कास्की अध्यक्ष कृष्ण थापालाई बनाएको छ भने चुनावलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ । नेकपाले २१ गते कास्की २ मा प्रतिनिधिसभा उपनिर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्ने र जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवरी दर्ता गर्न जुलुससहित जाने जनाएको छ ।

कात्तिक २४ गते निर्वाचन क्षेत्रमा पर्ने ११ वटै वडामा कार्यालय खोली प्रचारप्रसार तथा चुनावी कार्यक्रम आयोजना गर्ने नेकपा कास्की सचिव बखानसिंह तमुले बताए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।