कांग्रेसका आकांक्षी उम्मेदवारहरू तनावमा, भन्छन्, ‘पार्टीले जिउँदै मार्न खोज्यो’

कास्कीमा आशन्न उपनिर्वाचनको चुनावी रौनक ह्वातै बढेको छ । देशभरको नजर कास्की–२ मा परेको छ । यो क्षेत्र प्रतिनिधिसभाको निर्वाचन हुने १ मात्र क्षेत्र हो ।

यो क्षेत्रका लागि कांग्रेसबाहेकका दलहरूले उम्मेदवारको टुंगो लगाएर चुनावी अभियान सञ्चालन गरिसकेका छन् ।

नेकपाबाट विद्या भट्टराईले टिकट पाएकी छन् । उनी पूर्व मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन् ।

यसैगरी साझा पार्टी, राप्रापा र समाजवादी पार्टीले पनि उम्मेदवारको टुंगो लगाइसहेका छन् । उनीहरू सबै चुनावी तयारीमा जुटिसकेका छन् ।

यता नेपाली कांग्रेसका आकांक्षी उम्मेदवारहरू भने निकै तनावमा देखिन्छन् । उनीहरू ‘पार्टीले जिउँदै मार्न खोज्यो’ भन्दै बसेका छन् । आइतबार पार्टी कार्यालयमा भेला भएका केही आकांक्षीहरू निकै व्यस्त देखिन्थे भने उत्तिकै छट्पटीमा पनि ।

उनीहरू लगातारको फोनले वाक्क दिक्क पनि देखिन्थे । कहिले नेता त कहिले कार्यकर्ताको फोनले उनीहरूको मोवाइल बजेको बज्यै हुन्थ्यो । कतिपय अपरिचित नम्बर त उनीहरू उठाउँदैनथे पनि ।

‘कांग्रेस उम्मेदवार छनोट’ शीर्षकमा विभिन्न आकांक्षीको नाममा आएका समाचारले भेलामा सहभागी आकांक्षी तनावमा देखिन्थे । पत्रकारलाई पटक–पटक सोध्ने गर्थे, ‘तपाइँहरूलाई त थाहा छ नि, भन्नुस् न के–के हुँदैछ ?’

पार्टीको केन्द्रीय समिति र पदाधिकारी बैठक पटक पटक बस्यो तर कुनै पनि उम्मेदवार छनोट गर्न सकेको छैन । उम्मेदवारी मनोनयन २१ गते छ तर पार्टीले निर्णय नगर्दा सबैको ढुकढुकी निकै बढाएको छ ।

पार्टीले मंगलबारमात्र उम्मेदवार टुंग्याउने जनाएको छ । उम्मेदवारका आकांक्षी भन्छन्, ‘उम्मेदवार तय गरिहाले आनन्दै हुन्थ्यो । हामीलाई यो तनावमा राखेर पार्टीले जिउँदै मार्न खोज्यो । हर्ट याट्याक नै आउला जस्तो भो ।’ कास्की कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।