ताजा समाचार

कार्तिक १६ गते २०७६

कास्की-२ मा विद्यालाई टिकट

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक शनिबार बस्यो । बैठक आइतबार पुनः बस्ने गरी सकियो। बैठक आशन्न उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको थियो ।

बैठकमा विभिन्न क्षेत्रबाट सिफारिस भएका उम्मेदवार बारे छलफल भएको थियो । योसंगै आइतबार उम्मेदवार घोषणा गर्ने तयारीमा नेकपा छ ।

यसैबीच बैठकले कास्की–२ मा विद्या भट्टराई उम्मेदवार बनाउने पक्का भएको बताइन्छ । कास्की-२ बाट नेकपाबाट विद्यासंगै राजकाजी गुरुङ करण, सोमनाथ अधिकारी प्यासीको नाम सिफासिर भएको थियो ।

नेकपा कास्कीले विद्याको नाम सर्वसम्मत गरे पनि प्रदेश कमिटीले विद्यासंगै राजकाजी र सोमनाथको थपेर पठाएको थियो ।

नेकपाको सचिवालयमा कास्की–२ बाट सिफारिस भएका ३ जनाकै नाममा छलफल भएको थियो । छलफलबाट विद्यालाई उम्मेदवार बनाउने निर्णय भएको बताइन्छ ।

नेकपाले उम्मेदवार आइतबार घोषणा गर्ने भने पनि विद्यालाई सामाजिक सञ्जालमा बधाई आउनेक्रम शुरु भैसकेको छ । रवीन्द्र स्मृति प्रतिष्ठानका सचिव धनराज आचार्यले फेसबुकमार्फत विद्यालाई बधाई दिएका छन् ।

विद्याको चुनाव प्रचार यसअघि नै शुरु भैसकेको थियो । विशेषगरि सामाजिक सञ्जालमा विद्याको चुनावी प्रचार शुरु भएको हो ।