फेवातालको ताल बाराही देवी : यस्तो छ इतिहास र विश्वास

पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटकले पनि यहाँको अवलोकन गर्न र देवीको दर्शन गर्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही देवीको मन्दिर ।

माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडाशैलीको मन्दिर रहेका कारण यसको सौन्दर्य अत्यन्त मनमोहक छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये १ हो ।

अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गर्यो भन्ने यकिन तथ्य भने अझै पनि अनुसन्धानको पर्खाइमा छ । विभिन्न तथ्यका आधारमा मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको पाइए पनि कतैकतै विसं १४४७ देखि नै यसको अस्तित्व रहेको अनुमानसमेत गरिएको छ ।

कास्कीका राजा कुलमण्डन शाहले उक्त मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए ।

किंवदन्तीअनुसार प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला रहेको र त्यहाँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको हो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।

बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्यासीनीको भेषमा रातको समय मन्दिर वरपरको गाउँ पुग्दा कसैले पनि बास दिएनछन् तर एउटी बूढीआमाले बास बस्न दिएर रातमा आफूसँग भएको ढुटाको रोटी पनि खान दिइछन् ।

भोलिपल्ट आफू जाने बेलामा सन्यासीनीले बूढीआमालाई अब यहाँ जलमग्न हुन्छ सुरक्षित बस्नु भनिछन् । पछि ठूलो बाढी आएर त्यहाँ जलमग्न भएछ र बीच भागमा ढिस्को मात्रै रहन गएछ । त्यही ढिस्कोमा ताल बाराही बसेको जनविश्वास छ ।

विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेकाले तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको अध्यक्ष भुजेलले बताए ।

तालमा देखिने माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङ्कोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेका छन् ।

तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

कूल ३ रोपनी ८ आना २ दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ ।