लेखनाथ शिशुवाका युवा सुवास भट्टराई २ वर्ष अघि जापानबाट फर्किए । उनको शिशुवाकै मिल्ने साथी अमित गौतम थिए । उनीहरू दुवै २८/३० वर्षका छन् ।
अमित सिए विषय अध्ययन गर्दै थिए । जापानबाट फर्किए लगत्तै तिनै अमितलाई भेटे र घुम्न निस्किए । घुम्दै गर्दा एक रिसोर्टमा पुगे र त्यो रिसोर्टले सुवासको मन लोभ्यायो । उनको मन नलोभियोस् पनि किन ? उनी जापानमा होटल नै गर्थे । त्यस्तै रिसोर्ट खोल्ने चाहना सुवासको मनमा आयो ।

त्यसपछि अमित र अन्य अग्रज व्यक्तित्वका साथै विज्ञसंग छलफल गरे । अमितले पनि सुवासको प्रस्ताव सहजै स्वीकार गरे । त्यसपछि दुवैजना रिसोर्टका लागि उपयुक्त ठाउँको खोजीमा निस्किए । धेरै ठाउँ चहारे ।
हेर्दै जाँदा खपौंदीको डाँडो फेला पारे । त्यो ठाउँ माछा खाने ठाउँ थियो तर उजाड थियो । त्यही डाँडोले मन लोभ्यायो दुवै जनाको । साढे ४ रोपनी क्षेत्रफलको त्यस्तो डाँडोमा रिसोर्ट गर्छु भन्दा शुरुमा सुवास र अमितलाई सबैले ‘मूर्ख’ भन्थे ।

त्यही डाँडो अहिले झिलिमिली, हराभरा र सबैको मन लोभ्याउने भएको छ । रिसोर्टलाई ‘अल्फाञ्जो’ नाम दिइएको छ । रिसोर्टको बीचमा ठूलो आँपको रुख छ । रुखमा विभिन्न प्रकारको वत्ति राखेर निकै सजाइएको छ ।
त्यही रुखले रिसोर्टलाई नै निकै शोभायमान बनाएको छ । साथै फेवाताल आँगनमै जस्तो देखिन्छ । रिसोर्टका कुर्चीमा बसेर फेवातालमा नजर दिंदै त्यहाँका विभिन्न परिकारका स्वादमा रम्न सकिन्छ ।

रिसोर्ट सञ्चालनमा आएको १ वर्ष पूरा भएको छ । सुवास म्यानेजिङ डाइरेक्टर र अमित प्रमुख कार्यकारी अधिकृत भएर रिसोर्ट सञ्चालन गरिरहेका छन् । रिसोर्टमा सुवास, अमितको मुख्य र अन्य केही युवाको पनि लगानी छ । कुल लगानी ५ करोड पुगेको अमितले बताए ।
शुरुमा १०० जना क्षमताको रिसोर्ट १ वर्षमै २०० जना क्षमताको पुगेको छ । अझै ६ रोपनी जाग्गा लिएर २०० जना क्षमताको सभाहल र प्राइभेट जिमहल बनाउने उनीहरूको लक्ष्य छ । रिसोर्टमा हाल ८ वटा सुविधासम्पन्न आवसीय कोठा छन् । केही कोठा थप गर्ने तयारी भइरहेको सिइयो अमितले बताए ।

शुरुमा २० जना कर्मचारी लिएर सञ्चालन आएकोमा १ वर्षमै ४५ जना पुगेका छन् । अमितको दावी अनुसार रिसोर्ट पूर्ण पारिवारिक वातावरणको छ । थ्रीस्टार होटलको सुविधा अल्फाञ्जोमै छ । रिसोर्टमा बालबालिकालाई आकर्षित गर्न स्वीमिङ पुलका साथै अन्य भौतिक संरचना निर्माण गरिएको छ ।
मनायो प्रथम वार्षिकोत्सव
अल्फाञ्जो रिसोर्टले प्रथम वार्षिकोत्सव शुक्रबार मनायो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विदेशमा रहेका युवा स्वदेश फर्किएर लगानी गर्नु खुशीको कुरा भएको बताए । रिसोर्टको सफलताको शुभकामना व्यक्त गर्दै उनले युवालाई प्रोत्साहन गर्न राज्यका तीन वटै तहले ध्यान दिनुपर्ने बताए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले राजनीतिक दलहरूले भनेजस्तो आर्थिक समृद्धि आउन सजिलो नभएको बताए । ‘जबसम्म सुवास र अमित जस्ता युवाले गरेका लगानी जोखिममै रहन्छन्, तवसम्म आर्थिक समृद्धि नारामा मात्र सीमित हुन्छ’, उनले भने ।
अल्फाञ्जो रिसोर्टका प्रमुख कार्यकारी अधिकृत अमित गौतमले रिसोर्ट सञ्चालन भएको १ वर्ष पुग्दा निकै खुशी लागेको बताए ।

‘हामीले जोखिम मोलेरै रिसोर्टमा लगानी गरेका छौं । १ वर्ष पुगेको छ, हामी उत्साहित नै छौं’, उनले भने । राज्यका निकायको सहयोग भन्दा पनि सहज वातावरण निर्माण गरिदिए राम्रो हुने उनले बताए ।
दक्ष कामदार नपाएर समस्या भएको उनले बताए । ‘मुलुकमा रोजगारी पाइँदैन भनिन्छ, रोजगारी होईन दक्ष कामदारको अभाव छ’, अमितले थपे । उक्त अवसरमा चर्चित गायक नवीन के भट्टराई लगायतको प्रस्तुतिमा युवायुवती निकै झुमेका थिए ।






नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको साथमा






