ताजा समाचार

असाेज १४ गते २०७६

तीर्थराजको यात्रा : सहचालक-स्थानीय सरकार

दिग्गजहरु भन्छन् : समय बलवान् छ, जस्तोसुकै तागत भएकाको पनि समयसँग केही जोर चल्दैन । यसलाई चिनेर उसकै लयमा हिड्नेहरु चुलीतिर बढ्छन्, नजान्नेहरु अलिकति हिड्छन्, पछारिन्छन् । धेरै मान्छेको जीवन पछारिँदै र फेरि उठेर हिड्दैमा सकिन्छ । समयको नाडी छामेर यसकै गतिमा हिडिरहेका केही मान्छेमाध्येमा पर्छन् ः तीर्थराज अधिकारी

छ दशकको बाटो हिड्दा उनलाई अहिले समयले स्थानीय सरकार बनाइदिएको छ । उनी देशकै ठूलो महानगर पोखराको जनसंख्या र भूगोल दुवै हिसाबले ठूलो वडा नं. १७ का अध्यक्ष हुन् । अहिले एउटा पुस्ता छ राजनीतिलाई फोहोरी खेल भन्छ, अर्काे समूहचाहिँ राजनीतिमै जीवन र भविष्य देख्छ । तीर्थराजको विगत यी दुवैभन्दा फरक छ । हुन पनि उनी यी २ धारणा विकास हुनुभन्दा पहिल्यै जन्एिका हुन् । पोखराको पर्यास्ङमा जन्मिएका उनले थाहा पाउँदा अहिलेको पोखरा १७ मा उनका बाको खेत थियो । साथीभाइ भेला नभई एक्लै आउनै नसक्ने डरलाग्दो बाटो । अहिले त्यही फाँटमा घरैघर बने । उनी त्यहीको अध्यक्ष बनेका छन् ।

उनका बाले ईंटाभटाको काम गर्थे । जुग यस्तो थियो कि व्यापारीको छोरा व्यापारी, साहूको छोरा साहू, गरिबको छोरा गरिब नै । तीर्थराज पनि स्वभाविक रुपले स्कुल पढ्दैबाट ईटाभटामा संलग्न भए । बिहान उठेर उनी ईटा भट्टाबाट गोरुगाडामा तयारी ईटा राख्थे । गाडामा लादेर बेच्ने ठाउँमा ल्याएर झार्थे । चाङ लगाएर राख्थे ।

अहिले पक्की भवन बनेको र नमुना रोडको छेऊमा रहेको धर्मस्थली स्कुलबाट उनको कखरा सुरु भयो । तर, उनका पालामा स्कुल अहिले जस्तो कहाँ हुनु ? तीर्थराज सम्झन्छिन्, ‘घरबाटै थर्कटी लिएर जान्थ्यौं । पाइजामा लाएर ।’ प्राथमिक तह त्यहाँबाट सकेपछि उनी पुगे बारही मावि । उनले २०३४ मा एसएलसी दिए । एसएलसीको हाउगुजी निकै ठूलो थियो । हाउगुजीले उनलाई सजिलै बाटो दिएन । ३ विषयमा उनी फेल भए । पछि आंशिक दिएर पास गरे ।

७, ८ वर्ष सार्वजनिक बसका चालक र सहचालक बनेका उनको अध्ययनमा भने यही ब्रेक लाग्यो । पोखरा सुनौली बाटो भर्खरै खुलेको थियो । उनका बुवाका ४, ५ दाजुभाइ मिलेर बस किने । २०४७ तिरको कुरा हो । बस आउँदा पूजा गर्ने युग थियो । ड्राइभर त भगवान्सरह । उनी बसमा हिड्न थाले । बस चलाउने सीप थिएन, सहचालक नै जिन्दावाद । तीर्थराज जीवनको राज भनेको उनी जे गर्छन्, त्यो मनबाटै गर्छन् । मनैबाट उनले गाडी चलाउन सिके । ४ वर्ष सहचालक, त्यसपछि स्टेरिङ समाते ।

उनले चलाउने बस ६५ सिटको थियो । जुल्फी लामो पालेर गुरुजीको सम्मान पाएका दिन उनी अझै सम्झन्छन् । उनले भने, ‘भैरहवा पोखरा, पोखरा काठमाडौं बस चलाएँ । भैरहवा नारायणघाट पनि । पुल नबनेकाले फेरीबाट बस तारिन्थ्यो ।’ ६ दशकको जीवन भोगिसक्दा उनलाई लाग्छ ः सबभन्दा आनन्द त्यही बेला थियो । बस रोक्दा, खाना खाँदा निकै सम्मान गरिन्थ्यो । विशेष भेराइटी खानाका, अलग्गै कोठा दिने । ६५ सिट भएको बस उनले घुमाउरो र सानो बाटो भएको दार्जिलिङ पनि पु¥याए ।

जनस्तरबाट विकास, निर्माणका योगदान गरेका तीर्थ अहिले आफैं स्थानीय सरकारको जिम्मेवारीमा छन् । अर्थात् उनलाई आफ्ना अवधारणा साकार बनाउने सुवर्ण मौका आएको छ ।

उनी आफ्ना ड्राइभिङका गुरु गंगाबहादुर हमाललाई पनि सम्झिन्छन् । त्यो दौरानमा उनले अप्रिय घटना भोग्नु परेन । दुर्घटना सम्झदा उनलाई २५३ नं. को वन्दना बसको झल्को आउँछ । उनी त्यो बेला १०२४ नम्बरको शंकर बस चलाउँथे । बुटबलबाट पोखरा आउँदै गरेको बन्दना बस राम्दीमा दुर्घटना भएको थियो । सम्झदा अझै उनको आङमा काँडा उम्रिन्छन् । उनले भने, ‘२२ बटा लास लस्करै, सोले फिल्ममा जस्तो देख्नुप¥यो ।’ उनी चालक र मालिकले दुवैलाई पैसामा मात्र ध्यान नदिन आग्रह गर्छन् ।

बाका दाजुभाइको साझा बस बेचियो । उनी फल्तु भए । समय बटाउन छोरेपाटनमा राइसमिल चलाए । तीर्थका दाइ शंकरप्रसाद गराहा सिंचाइ योजनामा ओभरसियर थिए । दाइकै सामसाथ लागेर उनले अर्घाखाँचीमा गएर निर्माणको काम सिके । बस चलाउँदा चलाउँदै पनि अलिअलि निर्माणतिरको काम सिकेका थिए । बस चलाउने पालो १ हप्तामा आउथ्यो । २०३६ मा निर्माण व्यवसायीको लाइसेन्स लिए । ऐना निर्माण सेवा उनको कम्पनी हो ।

जनप्रतिनिधि हुनुअघिसम्म उनी बी क्लासका निर्माण व्यवसायी थिए । अहिले कम्पनी उनका छोराले सम्हालेका छन् । लाइसेन्स पाउनेबित्तिकै रासन ठेक्का उनलाई मिल्यो । पश्चिमाञ्चल अस्पतालमा बिरामीका लागि रासन सप्लाई गर्नु थियो । ठेक्का भर्न नजानेर घाटामा जानुपर्ने अवस्था सिर्जना भयो । विलखबन्दमा परेका तीर्थलाई निद्रै लागेन । सिडिओलाई अनुरोध गरे ठेक्का रद्द गरिदिन । जिल्ला प्रशासनमा त्यो बेला सामाजिक विकास कोष हुन्थ्यो । त्यो कोषमा १ हजार चन्दा दिएर ठेक्का रद्द गराए । लमजुङमा सडक विभागको टेन्डर हाले ४७ प्रतिशत घटेर । फाइदा परै जाओस्, मुस्किलले काम पार लाए ।

परिवारका साथमा तीर्थराज अधिकारी ।

उनले घाटा त खाए तर हरेस खाएनन् । २०४२, ४३ तिर उनी शरदकुमार गौचन, मुक्ति गौतम, झपिन्द्रराज रेग्मी र ओभरसियर रुद्र शर्मासँगै नेपालगञ्ज, सुर्खेततिर लागे । नेपालगञ्जमा ठेक्का थियो हिडेर जानुपर्ने । ठेक्का रकम १० लाख ५२ हजार । त्यो निकै धेरै ठूलो रकम थियो । पछि राजापुर, सुर्खेततिर पनि ठेक्का प¥यो । त्यतै उनका १५, १६ वर्ष बिते ।

ठेकेदारी गरेर मनग्गे कमाएर पार्टीलाई चन्दा दिने, मतदातालाई रिझाएर नेता बन्नेहरु पनि छन् । तर तीर्थ त्यसरी नेता बनेका होइनन् । ४४, ४५ तिर उनी कम्युनिस्ट पार्टीका सदस्य बने । बालकृष्ण सुवेदी र बाबुराम लामिछानेले उनलाई कम्युनिस्ट पार्टीको सदस्य बनाए । उनका बुवाहरु सबै नेपाली कांग्रेसमा थिए । छोराहरु चाहिँ कम्युनिस्ट विचारका पक्षपाति निस्किए । उनले थपे, ‘त्यो बेला सबै बुझेर मन परेको होइन । दाजुभाइ र साथीभाइ भएकाले पनि सदस्य बनियो ।’

पछि चुनावका बेला पार्टीले जिम्मेवारी दिन्थ्यो । उनी पोखरा आएर कार्यक्षेत्रमा खटिन्थे, अरु बेला आफ्नै व्यवसायमा । २०५४ मा उनी एमाले पोखरा १७ को सचिव बने । पछि निर्माण व्यवसायमा उनको साझेदारी टुट्यो । उनका साझेदारले धम्पुसपमा आएर खानेपानी आयोजना निर्माणको जिम्मा लिए, उनले उता भएका काम सके । त्यसपछि उनी पनि पोखरै फर्किए ।

उनले पोखरामा पहिलोचोटि ओटासिलको काम गरे । उनी निर्माण व्यवसायमा हुने अनियमितता सुधार्नुपर्ने औंल्याउछन् । मिलेमतोमा काम गर्नै र केही पैसा निकालेर भागबिलो गरेर बाड्ेन, काम गुणस्तर हीन हुने अवस्था अन्त्य हुनैपर्नेमा उनको जोड छ । इबिडिङ भएपछि यो विकृति निकै कम भएको उनको ठम्याइ छ । उनी सल्लाह दिन्छन्, ‘निर्माण व्यवसायबाट जनप्रतिनिधि कल्पनै गरेको थिइनँ । भनेजस्तो नहुँदो रहेछ । बाचुञ्जेल इथिक्स सम्झेर काम गर्नुस् ।’

पश्चिम नेपालबाट आउनेबित्तिकै पार्टीले तीर्थलाई छोरेपाटन माविको विद्यालय व्यवस्थापन समितिमा पठायो । सुरुमा उनलाई सकस नै भयो । भन्छन्, ‘मलाई त्यति बेला भाषण गर्न पनि आउदैनथ्यो । नराख्न पार्टी सचिव झकबहादुर थापालाई घरैमा गएर अनुरोध गरेको थिएँ ।’ समयले उनलाई नै अध्यक्ष बनायो । अध्यक्ष भएपछि तीर्थले भौतिक निर्माणको पाटो हेरे, प्रधानाध्यापक विशेश्वर पराजुलीलाई शैक्षिक र प्रशासनिक पाटो दिए । स्कुलले डेभिज फलको ठाउँको ३ हजार ५ सय स्कुलले भाडा लिन्थ्यो । तिब्बतीयनले ३५ वटा जति खाट राखेर दिनको ५ रुपैयाँ लिएर पसल गर्न दिएका थिए ।

उनले त्यहाँ सटर बनाउने आँट गरे । तीर्थ सम्झिन्छन्, ‘बनाउने क्रममा व्यापरीको ठूलो विरोध सामना गर्नु प¥यो । स्थानीय व्यापारीले पनि विरोध गरे । पछि उनीहरुलाई कुरा बुझाइयो । पार्टीले पनि सहयोग ग¥यो । पहिलो चरणमा ४२ वटा पसल बने ।’ अहिले डेभिज फल पोखराको एउटा आकर्षण बनेको छ ।

प्लस २ चलाउन स्थानीयबाट ३०, ३५ लाख उठाइयो । अर्काे पटक विद्यालय व्यवस्थापन समितिका लागि चुनावै भयो । एमाले समर्थित तीर्थका प्रत्यासी थिए कांग्रेस समर्थित प्राडा भूपति ढकाल कमल । तीर्थले ७८ प्रतिशत भोट ल्याएर जितें । विजयपछि उनलाई काम गर्नुपर्छ भन्ने थप प्ररणा जाग्यो । विद्यालयका भवन बने । स्कुल अहिले आर्थिक स्रोतमा बलियो भएको छ । करिब २ हजार ५ सय विद्यार्थी यहाँ पढ्छन् । विद्यालयमा राखिएको उनको तस्बिरमुनि संस्थापक अध्यक्ष लेखिएको छ । तीर्थले लामो समय र उल्लेख्य योगदान गरेको संस्था हो नेपाल रेडक्रस सोसाइटी । पोखरा १७ उपशाखामा उनी २२ वर्ष संलग्न भए । १६ वर्ष त सभापति नै भए । उनको पालामा उपशाखा १७ निकै अब्बल र सक्रिय थियो । करिब करोड खर्चेर उपशाखाको सम्भवत देशमै नमुना खालको भवन बन्यो ।

चुनाव केहीअघिसम्म उनलाई उठौंला भन्ने लागेकै थिए । केही साथीले प्रोत्साहन गरे, ‘तपाई राजनीतिक मान्छे नै हो । अब आर्थिक हिसाबले पनि के लाउ, के खाउ छैन । वडाध्यक्ष उठ्नुस् ।’ २ छोरा, १ छोरी र श्रीमतीको पनि उनलाई हौसला थपियो । उनले गम्भीर भएर सोचे । सोचेले निष्कर्ष निकाल्यो ः टिकट दिए चुनाव लड्छु । वडाध्यक्षमा ७, ८ जनाको नाम टिपोट भो । साबिक एमालेका वडाध्यक्ष सुवास ढुंगानाले ३ जनाको नाम सिफारिस गरे । ती ३ मा सुवाससहित तीर्थ र भेषराज बराल थिए । जिल्लाले तीर्थको नाम पठायो । चुनावी अभियान सुरु भयो । चर्चित लोकगायक पुरुषोत्तम न्यौपानेले उनलाई विकासप्रेमी बनेर जिंगल बनाइदिए । चुनाव भयो । महानगरका साविक वडामध्ये सबैभन्दा बढी भोट ल्याएर उनी विजयी बने ।

छोरेपाटनका सबै ठूला पर्यटकीय, शैक्षिक संस्थामा उनले योगदान गरेका छन् । गुप्तेश्वर बहुमुखी क्याम्पस, गुप्तेश्वर गुफा, डेभिज फलमा । उनी गुफाको योजना तर्जुमा समितिको संयोजक थिए । जनस्तरबाट विकास, निर्माणका योगदान गरेका तीर्थ अहिले आफैं स्थानीय सरकारको जिम्मेवारीमा छन् । अर्थात् उनलाई आफ्ना अवधारणा साकार बनाउने सुवर्ण मौका आएको छ । उनी यो मौका चुक्न दिने पक्षमा छैनन् । उनले भने, ‘मेरो कार्यकाल सकिँदा यो वडाका सबैजसो ठूला भौतिक निर्माणका काम सकिन्छन् । जनताले दिएको जिम्मेवारी र मेरो सपना दुवै साकार हुन्छन् ।’

डेभिज फलमा सिसाको पुल बन्न लागेको छ । पुल बनाउन ४५÷५० करोड लाग्ने डिजाइन बनिसकेको छ । चुनावअघि र विजयी भएपछि पनि सबैतिरका स्थानीयले उनीसँग खानेपानी सहज रुपमा उपलब्ध गराउन माग गरेका थिए । यो वर्ष खानेपानीको काम सकिने उनले बताए । पहिलो वर्ष दामोदरकुनामा डुबानमा परेका २ सय ३५ घर जोगाउन उनले ध्यान दिए । पानी कटाउनका लागि आफैंले जग्गा किनेर त्यहीबाट निकास दिए । त्यहाँको पानी फुस्रेखोलामा ल्याएर खसालियो । उनी थप्छन्, ‘आन्तरिक बाटा बनेका छन् । ठूला राजमार्गमा बजेट परेको छ । यो वर्ष इतिहासमै धेरै सबै सरकारका गरी १ अर्ब ३९ करोड जति बजेट छ ।’

भाडाको साँघुरो घरमा चलिरहेको वडा कार्यालयको पनि आफ्नै नयाँ भवन बन्दै छ । कृषि फारमभित्रको साढे ४ रोपनीमा बन्ने भवनको टेन्डर निकाल्ने तयारी छ । ठूलो वडा भएकाले उनले काम गर्नका लागि यसलाई ६ क्षेत्रमा विभाजन गरेका छन् । वडाको नक्सांकन पनि भएको छ । उनीले सुनाए, ‘वडाको गुरुयोजना बनाएका छौं । डकुमेन्टी पनि बनाएका छौं ।’ परेरै सिकेका अनुभवी तीर्थले वडामै सही, योजनावद्ध र सुव्यवस्थित विकासको जग राखेका छन् ।

परेरै सिकेका अनुभवी तीर्थले वडामै सही, योजनावद्ध र सुव्यवस्थित विकासको जग राखेका छन् ।

वडाले वडा उज्यालो कार्यक्रमको खाका बनाएको छ । हरेक दसैं, तिहारमा नगरपालिकासँग माग्ने, दसैंतिहार सकियो, बत्ति पनि सकियो हुने अवस्था उनी सधैलाई रोक्न चाहन्छ् । ठूला व्यवसायी, होटल, बैंक, बत्तीय संस्थाहरुसँग सहयोग माग्ने र संरक्षणको दायित्व पनि उनीहरुलाई नै दिने उनको योजना छ । योजनाअन्तर्गत आवश्यक स्थानमा सडक बत्ति र सिसी क्यामेरा राखिनेछ ।

वडा कार्यालयले डोन सर्भे गरी स्पष्ट नक्सा तयार गर्ने योजना बनाएको छ । अब गल्ली र घर नम्बरिङ गर्ने उनको सोच छ । ओमकारेश्वर मन्दिरदेखि सीतापाइला, हरिहर मन्दिरसम्म जोडेर पर्यटकीय स्थल बनाउन गुरुयोजना वडाले बनाएको छ । यो योजना संघ र प्रदेशसम्म पुगिसकेको छ । यसपालि यो वडामा १० पुल परेका छन् । ४ झोलुंगे, ६ पक्की । अर्काे १ पुल मर्मत गर्न पनि बजेट छ ।

मंसिर १४ गते उपचुनाव हुने क्षेत्रमै पर्छ पोखरा १७ । पूर्व पर्यटनमन्त्री रवीन्द्रको अभाव तीर्थलाई पनि खड्केको छ । उनी भन्छन्, ‘सबैभन्दा बढी अभाव मलाई खड्केको छ । ५०, ६० करोडका २, ३ योजना बनाउन भन्नुभएको थियो । टुहुरो जस्तो महसुस भएको छ । वडाबाटै फोन गर्थें, धेरै काम उहाँका पहलले भएका छन् ।’

अढाइ वर्षको अनुभवमा उनलाई लाग्यो ः स्थानीय सरकारको संघीय सरकारसम्म पहुँच जरुरी हुन्छ । तीर्थ भन्छन्, ‘सबै सरकारका स्रोत, साधन एउटै बास्केटमा राखिनुपर्छ । कही डब्लुकेसन हुने, कतै खाली यस्तो हुँदैन ।’ विकास, निर्माणका सबै काम रणनीतिक योजना बनाएर गर्न उनी सुझाव दिन्छन् । उनी वडावासीलाई राम्रा कामको सराहना र केही गलत भएको भए रचनात्मक सुझाव दिन आग्रह गर्छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...